द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१०
अर्जुन कुन्तीका तेस्रा छोरा थिए। त्यसो त महाभारतले नै भने अनुसार कुन्तीको गणनामा अर्जुन चौथो छोरो थिए। समाजलाई थाहा नदिएको भए पनि कुन्तीमा पहिलो सन्तानको सम्झना हुने नै भयो। त्यतिमात्र होइन, सन्तानलाई गोप्यरुपमा बगाएर सन्तोषको सास फेरेको पनि उनले बिर्सेकी थिइनन्। त्यसो सन्तोषको सास फेरेको भनेर एउटी माताको पुत्र वात्सल्यमाथि खिसी गर्न त पाइएन तर भर्खर जन्मेको बच्चालाई राज परिवारले, राजसभाले र राज्यको विविधीकृत समाजले थाहा नपाउँदै बच्चाको व्यवस्थापन गर्नु थियो। व्यवस्थापनको अर्थ हुन्थ्यो, बच्चालाई या त मारेर फाल्नु पथ्र्यो, या त राज्यका अन्य पक्षले समेत थाहा नपाउँदै उसलाई नदीमा बगाएर आफू साखुल्ले हुनु नै कुन्तीका लागि जरुरी थियो। राजपरिवारको मान, इज्जत र प्रतिष्ठाका लागि सद्य शिशुको दरबारमा अनुपस्थिति आवश्यक थियो। दरबारमा कतै लुकाउन पनि सकिन्थ्यो तर बालकको किलकिलाहट लुकाउन सक्ने कुरा पनि थिएन। एउटा उपाय त थियो, कुनै सुत्केरी महिलाको सन्तान भनेर, उसले जुम्लाहा पाएकी भनेर पाल्न त सकिन्थ्यो तर यति अप्रत्याशितरुपमा घटना घटेको थियो कि अचानक बोलावट पाएका सूर्य भगवानले मन्त्रको आह्वानका लागि दिने परिणाम भनेको कुन्तीका लागि बालक थियो र दिएका थिए। त्यस्तो आह्वानका लागि मन्त्र पाएकी थिइन् कुन्तीले महर्षि दुर्वासाबाट।
महर्षि दुर्वासालाई साक्षात् महादेवको ऋषि अवतार मानिन्थ्यो। त्यसैको प्रभाव हुनुपर्छ, र त्यसको कारण हुनुपर्छ तत्काल रिसाउने, तत्काल खुसी हुने ऋषिको स्वभाव। १० हजार शिष्यहरूको समूह जहिले पनि ऋषिसँग हुन्थ्यो। गतिशील गुरुकुल थियो ऋषिको। जहाँ जाँदा पनि ती शिष्यहरू सँगै हुन्थे। दुर्वासाको बल भनेको नै उनको तत्काल खुसी हुने र वरदान दिनसक्ने क्षमता थियो एकातिर भने तत्काल रिसाउने र श्राप दिई हाल्ने अर्को आपत्को भारी पनि उनै ऋषिलाई मानिन्थ्यो।
एकपटक राजा कुन्तीभोजको दरबारमा आफ्ना शिष्यहरूसहित ऋषि दुर्वासा आए। ऋषि र उनका १० हजार चेलाहरूको रेखदेख, हेरचाह,खानेबस्ने व्यवस्था, शुद्ध पेय जल आदिको व्यवस्था गर्नका लागि राजकुमारी कुन्तीलाई सुम्पिएका थिए। ऋषि कुनै कुरामा कमी होला र राजासँग निहुँ खोजौँला भनेर दरबारका कमी कमजोरी केलाउँथे तर त्यस्तो केही फेला परिरहेको थिएन। भनिन्छ, एकदिन महर्षि दुर्वासासहित सम्पूर्ण गुरुकुलका सदस्यहरूलाई पायसको भोजन गराउने निधो भयो र त्यही अनुसारको अनुरोध गरियो कि आजको विहानको खानामा पायस हुनेछ। स्वाभाविकरुपमा नै सम्पूर्ण शिष्यहरूसहित दुर्वासाको आगमन भयो खानका लागि। सबैले सबैको हेरचाह गरिरहेका थिए तर महर्षिको मुख्य हेरचाहका लागि स्वयं कुन्ती खटिएकी थिइन्। अचानक पायस तातो भएकाले दुर्वासाले कहाँ राखेर खाने भन्ने कुरामा अलमल देखियो। एउटा हातमा थाली थियो, अर्को हातले तातो खिर खानका लागि गाह्रो भएको कुन्तीले अनुमान गरिन् र दुर्वासा रिसाए भने हुनसक्ने क्षतिको अनुमान लगाइन् अनि कुन्तीले तातो खिर राख्नका लागि तत्काल आफू घुँडा टेकेर आफ्नो ढाडमा त्यो पायसको थाली राख्ने व्यवस्था गरिन्। ऋषिले पनि अरु कुरामा ध्यान नदिई थाली राजकुमारीको ढाडमा राखे र सपासप खान थाले।
ऋषिले बडो स्वादले खिर खाए र लामो डकार सहित सन्तुष्टिको सास फेरे। उनले मिष्ठान्न भोजनको क्रममा के कुरामा ध्यान दिएका थिएनन् भने थाली आफूले कहाँ राखेर खाँदैछु। मात्र भोकको झोकमा पाएको मिष्ठान्न खाना खाने ध्याउन्नमा लागेकाले अघाए पछि र अरु शिष्यहरू खाँदै गरेको बल्ल देखे। त्यसै पनि सबैजनाले खाएपछि मात्र भोजबाट मानिसहरू उठ्ने चलन थियो। सबैले खाइसकून् भनेर गुरुकुलका नायक या भनौँ कुलपति दुर्वासा ऋषिले बल्ल आफ्ना अघिल्तिर घुँडा मारेर बसेकी राजकुमारी कुन्तीलाई देखे र उनको ढाडमा आफ्नो पायसको थाली राखेको सम्झे। बल्ल उनलाई झल्याँस्स भयो, मैले त तातो पायस कसरी खाएँ होला? अनि उनले राजकुमारीलाई त्यहाँबाट उठ्न र आफ्ना जुठा भाँडा लिएर जान अह्राए। राजकुमारी पनि जार्याकजुरुक उठिन् र ऋषिको सन्तुष्ट अनुहार देखेर मुसुक्क हाँसिन् अनि आफ्नो डामिएको ढाडको वास्ता नगरी अनुमति लिएर हिँडिन्।
दुर्वासा किन आउँथे, कतिखेर जान्थे, कसलाई के भनेर हकार्थे र कसलाई के कुरामा आशीर्वाद दिन्थे, सायद नियतिले मात्र त्यो कुरा बुझ्थ्यो होला, अरुलाई त्यसको बारेमा जान्ने हिम्मत पनि हुँदैनथ्यो। ऋषि दुर्वासाले तत्कालै हिँड्ने योजना बनाए र राजा कुन्तीभोजको खोजी गरे। उनलाई आउन मन लाग्दा र जान मन लाग्दा कसैको कुनै वास्ता पनि हुँदैनथ्यो। आउँथे, सम्मान खोज्थे र आफ्ना सुरले जान्थे कुनै जानकारी नदिई, आउँथे कुनै सूचना नदिई। तर त्यो दिन खिरको थाली ढाडमा राखेको कुरालाई भने उनले ध्यान दिए र ती किशोरी राजकुमारीलाई वरदान माग्नका लागि प्रेरित गरे।
वास्तवमा ऋषिले के कुरामा ध्यान दिएका रहेछन् भने मेरो र मेरा शिष्यहरूको कसले हेरचाह गरिरहेको छ? कुनै कुरामा पनि कमी देखिँदैन। सम्मान उस्तै छ। अतिथिगृहमा गरिने व्यवहार उच्चस्तरीय छ। अनि उनले थाहा पाए कि यो सबै व्यवस्थापन राजकुमारी कुन्तीले गरिरहेकी रहिछन्।
पायस खाएकै दिन दिन ऋषि दुर्वासा आफ्ना शिष्यहरूसहित दरबारबाट जान खोजे र आफ्नो हेरचाह गर्ने अनि तातो खिरको थाली आफ्नो ढाडमा राख्न लगाउने राजकुमारीलाई वरदान माग्नका लागि प्रेरित गर्दा उनले वरदान के माग्ने, किन माग्ने भन्ने पनि बुझेकी थिइनन् र भनिन्, मेरो कर्तव्य नै सेवा गर्नु हो हजुरहरूको, गरेँ, यसमा मलाई किन वरदान चाहियो र ? अनि के वरदान माग्ने हो, र त्यो वरदानले के पाइन्छ ? मलाई थाहा छैन ऋषिवर, भनेर विनम्रतापूर्वक भनिन्। अनि ऋषि झन खुसी भएर एउटा मन्त्र दिए र भने, यो तिम्रा लागि भविष्यमा पनि ठुलो काम लाग्छ, यो मन्त्रले जुन देवतालाई तिमीले बोलाउने छ्यौ, त्यो तिम्रो कामना पूरा गर्न तिम्रो सामु उपस्थित हुनेछ र तिम्रो आवश्यकता पूरा गर्नेछ। यस्तो कुनै मन्त्र दिए कि त्यो सम्झने बित्तिकै तत्काल इच्छित देवता आउने छन्। अनि ऋषि आफ्नो शिष्य सेना लिएर कता गए गए।
एकप्रकारले उनको जेहेनमा दुर्वासा ऋषिको त्यो घटना हराउन थालेको थियो। किशोरावस्थामा ऋषिले दिएको मन्त्र भने स्मृतिमा थियो उनको कतै। तर त्यसको प्रयोग कहिले गर्ने र किन गर्ने भन्ने उनले बुझेकै थिएन। ऋषिले कामना भनेका थिए र किशोरावस्थाको समयमा त्यसको अर्थ पनि उनले बुझेकी थिइनन्।
केही वर्ष अघिको घटना विस्मृतिको पोल्टामा परे पनि कतै न कतै स्मृतिमा भने थियो नै। एकदिन विहानै एक्लै दरबारको अट्टालिकाको बार्दलीमा बसेर पूर्व क्षितिजतर्फ नियाली रहेको बेलामा ब्रजमा सूर्य उदाउँदै थिए। सामान्यतया सहयोगी नानीहरूसँग मात्र हिँड्ने राजकुमारी त्यो दिन के संयोगले हो, एक्लै बार्दलीमा उभिएर पूर्वतर्फ हेर्दै थिइन्, भगवान आदित्य विस्तारै विस्तारै उदाउँदा उनको मनमा एउटा कुतूहल पैदा भयो, सूर्य भगवान कस्ता होलान् ? झट्ट उनको अर्धचेतमा एउटा मन्त्र फुर्यो जुन ऋषि दुर्वासाले दिएका थिए, साँच्चै आदित्य आउँछन् कि आउँदैनन् ? अर्धस्मृतिमा रहेको मन्त्रले पूरा काम गर्यो र एकजना देदीप्यमान युवा उनको सामु आएर भने—कुन्ती, मेरो आह्वान किन गर्यौ? उनले भनिन्, हे अपरिचित युवा, तिमी कहाँबाट आयौ र मसँग के काम परेको हो ? मैले तिमीलाई कहाँ बोलाएँ र ? मैले त ती भाष्करलाई पो सम्झेको त ? अनि पूर्वतिर हेरिन् र भाष्कर त बादलभित्र कतै थिए होलान् तर भन्न थाले, मैँ त हुँ नि आदित्य, मलाई किन बोलायौ ? उनी आत्तिइन्, उनी अन्यमनस्क रहिन् र भन्न थालिन्, काम त केही होइन, तिमी कस्ता रहेछौ भनेर हेर्नमात्र खोजेकी।
अनि आदित्यले भने—मलाई आदेश छ, दुर्वासाको मन्त्रले तान्नेछ र कुन्ती भएको ठाउँमा जानू र उनको कामना पूरा गर्नू। ल म आएँ, तिम्रो कामना पूरा हुनेछ, एउटा स्वर्ण कबचसहितको बच्चा जन्मने छ। विना तयारी, विना कुनै जानकारी कुन्ती आमा भइन्, त्यो बालकको शरीरमा कुण्डल थियो, शरीरमा कबच थियो र देदीप्यमान बच्चाले आफ्ना साना साना चरणहरू फालेर आमाको माया खोज्यो तर कुमारी आमाले, राजकुमारी कुन्तीले त्यो बच्चालाई नदीमा बगाएर आफ्नो राजकीय प्रतिष्ठा जोगाएँ भन्ने ठानिन्। त्यसरी उनको तत्काल जन्मेको बच्चासमेत युधिष्ठिर, भीम, अर्जुनसहित चार छोराहरू भएका थिए। क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- शकुनिको कूटनीतिक क्षमता
- वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
- हिडिम्बाको मोह
- द्रौपदीलाई आफ्नै रूपको चिन्ता
- ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार
- द्रौपदीको छल
- शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन
- किन आयो शिखण्डीमा मर्ने चाहना?