महिलाको सर्वाङ्गीण विकासबिना सभ्य परिवार, समाज र राष्ट्रको विकास सम्भव नहुने भन्दै धर्मगुरू तथा सामाजिक अगुवालगायतले महिला नेतृत्व विकासका लागि सामूहिक ऐक्यबद्धता जरुरी रहेको बताउनुभएको छ।
दलित महिला केन्द्र नेपालको आयोजनामा यो शनिबार धनुषाको लालगढमा भएको ‘लैङ्गिक समानता र महिला नेतृत्वसम्बन्धी धार्मिक, सामाजिक, शैक्षिकलगायत क्षेत्रका अगुवासँग भएको अन्तक्रियामा उहाँहरूले महिलाको विकासका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
महिला सवल नभए परिवार र परिवार बलियो नभए समाज र राष्ट्र नै कमजोर हुने जनाउँदै उहाँहरूले लैङ्गिक तथा सामाजिक असमानता हटाउन तयार हुनुपर्नेमा जोड दिनुभयो। “महिला शक्ति कमजोर हुनु भनेको समाजका सबै क्षेत्र कमजोर हुनु हो। त्यसैले विगतका रुढीवादी मानसिकता बदलेर महिलाको सवल नेतृत्व विकासमा जोडदिनु पर्छ”, उहाँहरूले एकस्वरमा भन्नुभयो।
कार्यक्रममा धार्मिक अगुवा दुर्गाप्रसाद खनालले धर्मशास्त्र र विशेष गरी नारी शक्तिको पूजा गर्ने संस्कृति रहेको हिन्दू धर्मावलम्बीले त्यसलाई व्यवहारमा उतार्न जरुरी रहेको बताउनुभयो। “महिला र पुरुषको सहकार्यबिना समाज विकासको कल्पनासमेत गर्न सकिँदैन तर विगतमा सुझबुझको अभावमा महिलामाथि अन्याय भएको छ। त्यसैले अब हामी धर्मगुरूहरूले अगाडि सरेर वास्तविक सन्देश फैलाउन लाग्नुपर्छ”, खनालले भन्नुभयो। उहाँले विगत ४२ वर्षदेखि पण्डित्याइँ कर्म गर्र्दै आउनुभएका खनालले समाजमा जातीय, महिला तथा पुरुषबीचको असमानता हटाउन सकारात्मक पहल भएको पाइए पनि अझै धेरै सुधारका लागि लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
त्यस्तै धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित राधाकृष्ण मन्दिरका पण्डित बच्चुकैलाश पोखरेलले धर्मशास्त्रले महिला र पुरुषबीच विभेद नगरेका कुरा आफूहरूले समाजमा फैलाउन भूमिका बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी बौद्ध धर्मावलम्बी हैत्यसिंह गुञ्जनले बौद्धधर्ममा महिला र पुरुषबीच विभेदको कुरा नरहेको उल्लेख गर्दै असल पक्षलाई अनुशरण र गलत पक्षलाई अस्वीकार गर्न सबैले सचेत हुनुपर्ने बताउनुभयो।
मिथिलिा नगरपालिका–६ स्थित महेन्द्र माविका प्रधानाध्यापक रामकुमार महतोले समाजमा रहेका गलत परम्परा, सोच र शैलीका कारण महिलालाई अगाडि बढ्न अवरोध भइरहेको भन्दै त्यसलाई बदल्न घरबाटै सहगोगी वातावरण बनाइनुपर्नेमा जोड दिनुभयो।
“पच्चीस वर्षअघि मैले अध्यापक सुरु गर्दा एउटा कक्षामा पाँचजना छात्रा पनि पाउँदैनथ्यौँ तर अहिले धेरै छात्रा पढ्न आउने गरेका छन्। त्यो क्रम समाजका अरू क्षेत्रमा पनि देख्न सकिन्छ”, महतोले भन्नुभयो, “अब त्यसको गुणात्मक सुधार र सवल नेतृत्व निर्माणमा महिलाहरूले विशेष ध्यान दिनुपर्छ। त्यसमा हामी सबै पुरुष, सामाजिक, धार्मिक, राजनीतिक तथा शैक्षिक क्षेत्रको भूमिका अझ बढी महत्त्वपूर्ण हुनसक्छ।”
सामाजिक अगुवा सुशीला सुवेदीले पुरुषले गरिदिएर मात्रै नहुने भन्दै आफ्नो अधिकारका लागि महिलाले पनि सबैलाई विश्वासमा लिएर जान सक्नुपर्ने धारणा राख्नुभयो।
राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष एवं कार्यक्रमका प्रशिक्षक धर्मेन्द्र झाले मधेस प्रदेशमा अहिले पनि लैङ्गिक असमानता, विभेद, दाइजो प्रथाजस्ता कारणले महिला अझ बढी प्रताडित भइरहेका भन्दै त्यसविरूद्ध सबैले सकारात्मक भूमिका खेल्न सक्नुपर्ने बताउनुभयो। उहाँले प्रथा, परम्परा, गलत धार्मिक मूल्य मान्यताका आधारमा हुने महिला हिंसा रोक्न समाजका अगुवाहरूले नै आफ्नो सोचमा परिवर्तन गर्नुपर्ने बताउनुभयो।
“हामी माता कालि दुर्गा, सरस्वती, लक्ष्मीलगायतलाई पुज्ने धर्मसंस्कारबाट प्रशिक्षत छौँ तर यही समाजमा महिलामाथि हुने उत्पीडन रोक्न सकिरहेका छैनौँ। यो विरोधाभाष शोभनीय होइन। त्यसैले तपाईँ हामी अगुवाहरूले विभेदका खाडल पुर्न योगदान गर्नुपर्छ”, झाले भन्नुभयो।
त्यस्तै, दलित महिला केन्द्र नेपालका संस्थापक अध्यक्ष गौरा नेपाली र संस्थाका कार्यकारी निर्देशक तेजेन्द्र लामाले महिलाविरोधी चिन्तन, मान्यता, प्रथा–परम्परा र धर्म–संस्कारसँग जोडिएका गलत पक्षहरूबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र आगामी दिनमा सहभागीहरूले आ–आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ मधेस प्रदेशका अध्यक्ष सोम शर्मा, द एसिया फाउण्डेसनका अञ्जु विश्वकर्मा, पत्रकार विनोद महतो, नेपाल प्रहरीका सतिकुमारी घिसिङ, सामाजिक अभियन्ता, शोभा माझी, सामाजिक मेलमिलापकर्ता मीरा दाहाललगायतले महिलालाई अवसर दिएमा गर्न सक्छन् भन्ने कुरा प्रमाणित भइसकेको जनाउँदै आपसी सहयोग र सहअस्थित्वको भावनाले अगाडि बढ्न अपिल गर्नुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने