मिश्रित निर्वाचन प्रणाली विकृत, बदल्नुपर्छ: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावभन्दा अगाडि नेताहरू मिलेर चुनावमा जाने परम्पराले नेपालको राजनीतिलाई दूषित बनाएको बताउनुभएको छ। गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसका अवसरमा २७ फागुनमा गोदावरीमा आयोजित कार्यक्रममा महामन्त्री थापाले पछिल्लो सत्ता गठबन्धनको उद्देश्य पनि आगामी चुनावमा गठबन्धन गर्न नै हो भन्नुभयो। उहाँले चुनावी गठबन्धनले राजनीतिलाई दूषित बनाएको तर्क गर्नुभयो।

“अहिले पनि संसद्‌मा कुनै दलको बहुमत छैन, यही प्रणाली हुँदा भोलि पनि कुनै दलको बहुमत हुँदैन। यसले नेताहरूको स्वार्थमा संसद् र सरकार बन्धक बनाउँछ। जनताको आवश्यकता र अपेक्षाको सम्बोधन हुनुपर्छ। राजनीतिलाई दूषित हुनबाट बचाउन निर्वाचन प्रणालीलाई बदल्नुपर्छ,” महामन्त्री थापाले भन्नुभयो।

मिश्रित निर्वाचन प्रणाली विकृत भएको र त्यसबाट नेताहरूलाई सत्तामा पुग्न सहज हुँदा शक्तिको  दुरुपयोग हुने गरेका आरोप महामन्त्री थापाले लगाउनुभयो। प्रणाली ठीक नहुँदा देश विकासको गति ठप्प प्रायः भएको बताउँदै उहाँले सङ्घीय प्रणालीलाई ठीक ढङ्गले उपयोग गर्दै नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तहलाई दिइएको जिम्मेवारीअनुसार सेवा प्रवाह हुनुपर्ने बताउनुभयो।

बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले गोदावरी नगरपालिकाका प्रमुखमा नगरपालिकाको विकास र समृद्धिको लक्ष्य, दृष्टिकोण र मार्गचित्र स्पष्ट रहेको बताउनुभयो।

बागमती प्रदेशसभा सदस्य उर्मिला लामाले मुलुक सङ्घीय संरचनामा गएपछि बनेको गोदावरी नगरपालिकाले आठौँ स्थापना दिवससम्म आइपुग्दा महत्वपूर्ण कार्यसम्पादन गरेको बताउनुभयो। उहाँले यस नगरपालिकालाई शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र पर्यटनको क्षेत्रमा नमूना नगरपालिकाका रूपमा विकास गर्न स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो।

त्यस्तै, बागमती प्रदेशसभा सदस्य रघुनाथ महर्जनले सरकारले लिएको दिगो विकास लक्ष्यलाई पूरा गर्नेतर्फ विशेष महत्व दिएर मानव विकास, सामाजिक विकास र पूर्वाधार विकासमा लाग्न आग्रह गर्नुभयो।

जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले गोदावरी नगरपालिकाले नगरबासीको चाहना पूरा गर्न महत्वपूर्ण काम गरेको बताउनुभयो। उहाँले विकास निर्माणका सन्दर्भमा स्थानीय तहले चाहना गरेबमोजिम सङ्घ र प्रदेशले बजेट प्रवाह गर्न नसकेको बताउनुभयो।

नगरप्रमुख गजेन्द्र महर्जनले भूगोलका हिसाबले उपत्यकाको सबैभन्दा ठूलो नगरपालिकाका जनप्रतिनिधिहरूको गुनासोलाई सुझावका रूपमा लिएर काम गरिरहेको बताउनुभयो। उहाँले सीमित स्रोत र साधनका बावजुद शिक्षा, स्वास्थ्यसँगै सम्पदा संरक्षणमा पनि ध्यान दिएको बताउनुभयो। उपप्रमुख मुना अधिकारीले नयाँ नगरपालिका भएकोले आन्तरिक स्रोतको अभावका कारण सबै वडा कार्यालय भवन बनिनसकेका बताउनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link