राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित

को हुन् दाहाल ?

राष्ट्रियसभाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ ।

राष्ट्रिसभाको आजको बैठकमा भएको मतविभाजन प्रक्रियाको मत–परिणाम सुनाउँदै सभाको अध्यक्षता गरिरहनुभएका उपाध्यक्ष उर्मीला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गर्नुभयो ।

त्यसअघि दाहालका प्रतिस्पर्धी विपक्षी दलका उम्मेदवार नेपाली काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत परेको थियो । दुवै प्रस्तावको मतदानमा ५६ सांसद सहभागी हुनुभयो भने एक सांसद तटस्थ बस्नुभएको थियो । कुल ५९ सदस्यीय हुने सो सभामा हाल ५८ सदस्य कायम हुनुहुन्छ ।

दाहाललाई अध्यक्ष पदको उम्मेदवारका लागि माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव गर्नुभएको थियो भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले समर्थन गर्नुभएको थियो ।

सभाका नवनिर्वाचित अध्यक्ष दाहाललाई बधाई दिँदै उपाध्यक्ष अर्यालले कार्यकालको सफलताको कामना गर्नुभयो ।

नेपाली कांग्रेसका उम्मेदवार शर्मालाई अध्यक्ष पदमा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले प्रस्ताव गर्नुभएको थियो भने काँग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंहले समर्थन गर्नुभएको थियो ।

को हुन् दाहाल?

२०२७ सालमा तत्कालीन अनेरास्ववियुबाट राजनीति आरम्भ गर्नुभएको दाहालको पुर्ख्यौली घर कास्कीको ढिकुरपोखरी हो। उहाँको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को खलक एउटै हो।

दाहालको परिवार २०१९ सालमा कास्कीको ढिकुरपोखरीबाट चितवन बसाइँ सरेको थियो। त्यसयता उहाँको परिवार भरतपुर महानगरपालिका वडा नम्बर १४ मा बस्दै आएको छ।

उहाँले शिक्षाशास्त्र संकायतर्फ स्नातक उत्तीर्ण गर्नुभएको छ। उहाँले सानोठिमी क्याम्पसबाट शिक्षा शास्त्रमा स्नातक पास गर्नुभएको हो। २०२७ सालमा राजनीतिक जीवन सुरूआत गरे पनि २०३१ सालमा उहाँले कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो।

तत्कालीन समयमा उहाँले पुष्पलाल समूहबाट कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो। २०३६ सालदेखि उहाँ तत्कालीन चौथो महाधिवेशन (चौम) समूहबाट पूर्णकालीन बन्नुभएको हो।

२०३७ सालदेखि प्रवास पार्टी कामको जिम्मेवारी लिएका उनी अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सदस्य, सहसचिव हुँदै कोषाध्यक्ष बन्नुभएको थियो। प्रवासको जिम्मेवारी अन्तर्गत उनी पार्टीको गोरखपुर जिल्ला कमिटी सेक्रेटरी बन्नुभएको थियो।

त्यस्तै २०४२ सालमा अखिल भारत नेपाली एकता समाजको महासचिव र २०४५ सालमा अध्यक्ष बन्नुभएको थियो । त्यसयता उहाँ क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलनसँग जोडिनु भएको छ ।

उहाँ २०५१ सालमा क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) को नेपालको तर्फबाट दक्षिण एसिया सदस्य बन्नुभएको थियो । २०५३ सालमा पुनः अखिल भारत नेपाली एकता समाजको केन्द्रीय अध्यक्ष बन्नुभएको उहाँ २०५७ सालमा नेकपा (माओवादी) को केन्द्रीय सदस्य बन्नुभयो । 

माओवादी आन्दोलनमार्फत् स्वदेशमा भूमिगत हुनुभएको उहाँ २०६० सालमा नेकपा (माओवादी) भेरी कर्णाली ब्युरो अन्तर्गत जाजरकोट, सुर्खेत र डोल्पा इन्चार्ज बन्नुभएको थियो । २०६३ असारमा नेकपा (माओवादी) कास्की जिल्ला इन्चार्ज हुनुभयो। 

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता हुँदा उहाँ केन्द्रीय सदस्य र बागमती प्रदेशको अध्यक्ष बन्नुभएको थियो । नेकपा विघटनपछि २०७७ सालमा उहाँ नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश अध्यक्ष बन्नुभयो।

२०७८ मंसिरमा भएको नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनबाट उहाँ स्थायी समिति सदस्यमा निर्वाचित हुनुभएको थियो। लगत्तै भएको कार्यविभाजनमा बागमती प्रदेशको सह–इन्चार्जको भूमिका पनि पाउनुभएको थियो ।

संसदीय फाँटतर्फ उहाँ २०६३ सालको अन्तरिम व्यवस्थापिका सदस्य हुनुभएको थियो । पहिलो संविधान सभामा चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव जित्नुभएको हो । २०७८ चैत २५ गते मन्त्रिपरिषद्को कोटाबाट राष्ट्रिय सभा सदस्य बन्नुभएको थियो । उहाँको कार्यकाल सकिन चार वर्ष बाँकी छ। 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link