द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१२
कोही कसैको अवतार हुँदा या जन्मँदा बारम्बार पुराणहरूमा या पौराणिक महाकाव्यहरूमा आउने शब्द हो अयोनिजा। महाभारतमा पनि द्रौपदीलाई अयोनिजा भनेर भनिएको छ। अर्थात् आमाको योनीको बाटो भएर जन्मेको होइन। उनी यज्ञको प्रसादको रुपमा जन्मेकी हुन्। त्यसो त महाराज द्रुपदले ऋषिहरू याज र उपयाजद्वारा गरिएको यज्ञको प्रसादको रुपमा दिइएको पायस या खिर खान महाराज द्रुपदकी रानीले आनाकानी गरेजस्तो लागेकाले ऋषिहरूले रिसले त्यो यज्ञमा आहूति दिए र त्यहीँबाट अचानक एकजना कबच र तरबारसहितका युवक उत्पन्न भयो र सँगै अर्की युवती पनि उत्पन्न भइन्। वयस्क पुरुष अलि ढिट र कडा मिजासले प्रस्तुत भएको र आफ्नो कर्तव्यको खोजी गरेकाले उसको नाम धृष्टद्युम्न राखिएको हो भने आगाको ज्वालाबाट फुत्त निस्केही रक्तवर्णकी वयस्कालाई कृष्णा भनिएको हो। द्रुपद महाराजको यज्ञबाट उत्पत्ति भएकीले उनी महाराजकी छोरीको रुपमा मानिइन् र युवक तत्काल राजकुमारको रुपमा सम्मानित भएका थिए। कारण हो, युवकको जन्मको कारण नै द्रुपद महाराजका विद्यार्थी कालमा अति मिल्ने साथी द्रोणसँगको भनाभन र द्वेषका कारणले बदला लिन, उनको हत्या गर्नका लागि मागिएको थियो यज्ञमा वर। त्यसैका परिणामस्वरुप जन्मेका ती जुम्लाहालाई नै अयोनिजा मानिएको हो। धृष्टद्युम्नको त बिहे पनि भएन, जायजन्म पनि भएको कतै पढ्न पाइँदैन तर द्रौपदी उर्वर थिइन् र पाँचओटा पतिबाट एकएकओटा छोराहरू पाएकी थिइन्। लौकिक विचारमा द्रौपदीको पहिलो पुत्र नै भारतवर्षको भावी राजा मान्नुपथ्र्यो र युधिष्ठिरबाट जन्मिएको पुत्र प्रतिविन्ध्य नै भावी राजा मान्नु पर्ने हुन्थ्यो। तर पाँच पाण्डवहरूकै राज्य फिर्ता नभएकाले कसलाई युवराज घोषणा गर्ने भन्ने कुनै छलफल भएको पाइँदैन।
महाभारतको युद्ध अन्त्य भएको मान्दामान्दैको रात द्रौपदीका पाँचैभाइ छोराहरूलाई गुरुपुत्र अश्वत्थामाले पाण्डव सम्झेर हत्या गरेकाले, अभिमन्यु युद्धका बिचमा नै मारिएकाले, अन्य महारानीहरूबाट जन्मेका पाण्डव पुत्रहरू पनि युद्धमा मारिएकाले र अर्जुनको मणिपुरमा रहेको छोरो बभ्रुवाहन उतैको राजा भएकाले अभिमन्युकी पत्नी उत्तराको गर्भबाट जन्मेका गर्भे टुहुरा परीक्षितलाई भारतवर्षको उत्तराधिकारी मानिएको थियो।
आजको अवस्थामा पनि प्राणीको उत्पत्तिमा मैथुन क्रिया हुनुपर्छ त भनियो तर कतिपय प्राणीहरूको उत्पत्तिमा अनेक तरिकाले जन्म भएको पाइन्छ। जस्तो कि चराचुरुङ्गीहरू पहिले अण्डाको रुपमा जन्मन्छन् अनि समयावधिमा कोरेल्ने काम हुन्छ र उनीहरूको जीवन सुरु भएको मानिन्छ। त्यसैले होला, उत्पादन अनि पुनरुत्पादनमा एउटा शब्द सत्ययुग, त्रेतायुग र द्वापर युगमा बारम्बार आउँछ योनिजा कि अयोनिजा?
योनिजा भनेको आमाको गर्भमा प्रकृतिको नियम अनुसार शुक्राण्ड र शुक्रकीटका बिचमा सम्मिलन भएर, त्यहीँ प्राणको सुरुवात गरेर, गर्भासयमा हुर्केर समय पुगेपछि आमाको योनीको बाटो भएर संसारमा आउने काम हुने रहेछ। यहाँ सृष्टिको सुरु या सुरुवातको बेला कसरी भयो होला, कल्पनाको विषय भए पनि हाम्रा पुराणमा सृष्टिको सविस्तार वर्णन गरिएको छ। त्यसलाई कसरी प्रमाणित गर्ने भन्ने कुरा त्यति सजिलो पक्कै छैन। तर ऋषि मुनिहरूले पनि अनेक अनुसन्धान गरेरमात्र सृष्टिको वर्णन गरेका होलान्। जस्तो कि कश्यप ऋषिका दिति, अदिति, विनता, कद्रू जस्ता अनेक पत्नीहरू थिए।
दक्ष प्रजापतिका अनेक छोरीहरूबाट जन्मेर यस पृथ्वीमा सृष्टि सुरु भएको मानियो। अदितिले अदैत्य अर्थात् देवताको उत्पादन गरिन् भने दितिले दैत्यहरूको उत्पादन गरिन्। विनताले चराहरूको सृष्टि गरिन् भने कद्रूले सर्पहरू या सरिसृपहरूको उत्पादन गरिन्। दितिका सन्तान र अदितिका सन्तानहरूका बिच आपसमा वैमनस्यता देखिन्छ भने विनता र कद्रूका सन्तानहरूका बिचमा पनि वैमनस्यता पाइन्छ। दैत्य र अदैत्यका बिचमा अनि गरुड र सर्पहरूका बिचमा पनि वैमनस्यता देखिन्छ। यसो हेर्दा यी योनिजा हुन् भन्न सकिन्छ तर कतिपय देवताहरू र ऋषिहरू अयोनिजा नै हुन् भनिएको छ। पृथ्वीको सृष्टिकै कुरा गर्दा पनि नारायण अर्थात् पानीमा सुतेका विष्णुको नाभीमा एउटा कमलको फूल थियो र त्यसको लामो डाँठको टुप्पामा चारमुख भएका ब्रह्माको उत्पत्ति भएको थियो जसका चारमुखले वेद उच्चारण गरिरहेका थिए। त्यसैले वेदलाई अपौरुषेय मानियो किनभने यो कसैले बनाएको होइन, स्वतः सृष्टिको समयमा ब्रह्मासँग उत्पत्ति भएको थियो।
शिवको उत्पत्ति पनि अयोनिजाका रुपमा भएको हो जो प्रकृतिमा संहारका लागि स्वतः उत्पत्ति भएका मानिन्छन्। आज हामीले जसरी जुन तरिकाले अर्थ लगाए पनि र ती भगवानहरूको अस्तित्व नाङ्गा आँखाले देख्न नसकेको अवस्थामा पनि देवताहरूको, ईश्वरको अस्तित्व यो या त्यो नाममा, विभिन्न नामका अस्तित्वमा आजको संसारमा पनि स्पष्ट देख्न सकिन्छ।
आजका महत्वपूर्ण धर्महरूमा पनि हिन्दू धर्ममा मुख्यतः ब्रह्मा, विष्णु, शिव अयोनिजा देखिन्छन्। देवीहरूका पनि विभिन्न रुपमा विस्तार हुँदा पनि र अन्य देवताहरूको पनि उत्पत्ति विभिन्न माता पिताको रुपमा अनेक देवताहरू र देवीहरू देखिए पनि ती अयोनिजा बुझिन्छन्। हिन्दूहरूले विष्णुको अवतार मानेका राम,, परशुराम, वामन, कृष्ण, बुद्ध आदि योनिजा ठानिन्छन् र उनीहरूले गरेका कामहरू मानवोचित देखिन्छन् तर असामान्य भएकाले नै, जनहितमा बढी देखिएकाले नै उनीहरूको अवतरणमा ईश्वरीय देन रहेछ भन्ने विश्वास रहेको हो। क्रिस्चियन धर्मका प्रणेता येशु योनिजा हुन् र इश्लाम धर्मका प्रणेता मोहम्मद पनि योनिजा हुन् तर आस्थाका रुपमा मानिने अल्लाह त अयोनिजा नै हुन्। त्यसैले विभिन्न धर्मका ग्रन्थहरूमा अचानक उत्पत्ति हुनेहरू, अवतारका रुपमा अवतरण हुनेहरू पक्कै नै योनिजा होलान् र पनि उनीहरूको जन्मले नयाँ उद्देश्य बोकेको हुन्छ भन्ने विश्वास छ। जस्तो कि महाभारतको भीष्म पर्वमा वर्णित श्रीकृष्णको आफ्नै बकपत्रमा भनिएको छ, म बारम्बार यो पृथ्वीमा आइरहन्छु पृथ्वी र पृथ्वीका मानवहरूको हितका लागि। यसपटकको विश्व प्रसिद्ध सिनेमाहरूका लागि दिइने ओस्कार पुरस्कारका सातओटा मुख्य पुरस्कार ओपेनहाइमरका नाममा तयार गरिएको फिल्मले र त्यसका कलाकारहरूले पाएका छन् जसको मुख्य केन्द्रविन्दुमा गीताको सारलाई लिइएको हुनुपर्छ। जस्तो कि मानिसहरू मर्नका लागि जन्मेका हुन् र कुनै पनि कारणले मर्छन् र यो आणविक बम पनि त्यस्तै मानवीय संहारका लागि तयार भएको हो भन्दै ओपेनहाइमरले श्रीमद्भगवत गीताको एघारौँ अध्याय र चौथो अध्यायमा वर्णित भावलाई व्याख्या गर्दै गरेको देखिन्छ। अर्थात् गीताको रुपमा आज मान्यता पाएको, युद्धका बिचमा अर्जुनको विषादलाई साम्य पारेर युद्धका लागि फेरि अर्जुनलाई तयार हुन भनेर श्रीकृष्णको उपदेशलाई नै आणविक बम बनाउने वैज्ञानिकले बारम्बार भन्नुले उनलाई कति घत परेको रहेछ त। यी जति पनि विनाशका लागि या मृत्यु तत्कालका जित्न भनेर तयार पारिएका सबै उत्पादनहरू अयोनिजा नै हुन् र आजको विज्ञान तथा प्रविधिको युगलाई आवश्यक पर्ने पूर्वाधारहरू हाम्रै वातावरणमा प्राप्त भएका सामग्रीहरूको विवेकपूर्ण संयोजनबाट बनेका छन्।
प्रकृतिमा रहेका अनेक प्राणीहरूको उत्पत्ति गर्नका लागि कश्यपलाई ब्रह्माको आदेश थियो। पौरस्त्य विश्वासमा ब्रह्माको अस्तित्व सृष्टिका लागि, विष्णुको अस्तित्व पालनका लागि र शिवको कर्तव्य संहारका लागि मानिन्छ एकातिर भने अर्कोतिर यी तीनओटा एउटै हुन् जस्तो कि विहान, दिउँसो र रात भएजस्तै प्रकृतिका अपरिहार्य तत्वका रुपमा रहेका हुन्छन्, त्यसैले एउटै हुन्। जसले यिनलाई फरक देखाउने छन्,तिनले पापको भारी बोक्ने छन् र नरकमा पर्नेछन्। प्रत्येक धर्मको आस्थाका लागि केही विश्वासहरूको उत्पादन गरिएको हुन्छ र ती विश्वासहरू अदृश्य र प्रमाण गर्न नसकिने पनि हुन्छन्। प्रत्येक दर्शनमा, प्रत्येक धर्ममा र विश्वासमा पृथ्वीको उत्पत्ति, आजको जीवन र जगत अनि हिजोको सृष्टिका बारेमा केही न केही वयान गरिएको हुन्छ र त्यसका लागि प्रकृति, पुरुष र शक्तिका बारेमा जानकारी गराइएको हुन्छ। र त्यहाँ धेरै अयोनिजा प्राणीहरूको जमघट हुन्छ।
महाभारतमा यस्तो धेरै प्रसङ्गहरू पाइन्छन्। द्रौपदीको जन्म, उनको विवाहको स्वयंवर, त्यसपछि पाँचजनाका बिचमा समय विभाजन, सन्तान उत्पत्तिका लागि कालक्रम र उनको चीरहरणको दुःखद प्रसङ्ग जसका कारणले मात्र इन्द्रप्रस्थबाट विस्थापन हुँदा राज्यमात्र गएको होइन कि १२ वर्षको वनबास, एकवर्षको गुप्तबास अनि गुप्तबासमा फेला परे फेरि त्यही प्रक्रिया अर्को १३वर्षसम्म दोहोरिने थियो। त्यो सबै षडयन्त्रका लागि द्युतक्रीडाको नाटक दुई पटक मञ्चन गरियो र सबैभन्दा बढी अपमान, हेला, कलह र जीवनमा नमेटिने द्वेषको किलो गाडियो चीरहरणको कारणले। यदि चीरहरण नभएको भए पारिवारिक युद्धले विश्वयुद्धको, धर्मयुद्धको रुप लिन्थ्यो होला कि लिँदैन थियो होला ?
धर्मयुद्ध किन भनिएको हो भने धृतराष्ट्रले सञ्जयलाई युद्धको सुरुवातमा नै यसो भनेर सोधेका थिए—कुरुक्षेत्रको धर्मक्षेत्रमा भइरहेको या हुन लागेको त्यो भीषण युद्धमा मेरा छोराहरू र पाण्डवहरू (मेरा भाइका छोराहरू) केके गर्दैछन् हँ ? धर्मक्षेत्रमा हुने युद्ध धर्मयुद्ध नै थियो। यदि त्यो धर्मयुद्ध नहुँदो हो त, विवेकका लागि नहुँदो हो त स्वयं संसारको हितका लागि अवतरित भएका कृष्णले साथ दिने नै थिएनन्। बरु कसका पक्षमा धर्म थियो भन्ने विवाद देखिए पनि अन्तमा शरशय्यामा सुत्नेबेलामा भीष्म पितामहले भनेका थिए—जता धर्म, त्यतै कृष्ण, जता कृष्ण उतै विजय।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन
- किन आयो शिखण्डीमा मर्ने चाहना?
- शिखण्डीको नियति
- जब अम्बाको तपस्याले शिवजी प्रसन्न भए…
- अम्बाका कारण परशुराम र भीष्म बिच युद्ध
- राजकुमारी अम्बाको पीडा
- भीष्मको अन्यायको सिकार
- भीष्म प्रतिज्ञा र भावी उत्तराधिकारीको सङ्कट
- सत्यवतीको अपराध बोध