ताइवानमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी

ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ। ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प गएको बताएका छन् । सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा दुई हजार ४०० जना व्यक्तिको ज्यान गएको थियो।

बुधवारको भूकम्पपछि अहिलेसम्म ४ म्याग्निट्यूड अथवा सोभन्दा ठूला नौवटा परकम्प गएको बीबीसीले जनाएको छ । चीनको दक्षिण-पूर्वी फुजिएन प्रान्तका कतिपय हिस्सामा भूकम्पको धक्का महसुस गरिएको समाचारमा उल्लेख छ । 

भूकम्पले आवासीय भवनहरू भत्केका र मानिसहरूलाई उनीहरूका घर एवं विद्यालयबाट उद्धार गर्दै गरिएका दृश्य देखिने फूटेज स्थानीय सञ्चारमाध्यमले देखाएका छन् । ताइवानमा भूकम्पका कारण पहाडी भेगमा पहिरो गएको छ ।

भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ। 

जापानको दक्षिण-पश्चिमी क्षेत्रको ठूलो हिस्सामा सुनामीले ३ मिटर उचाइसम्म छाल निम्त्याउन सक्ने अनुमान गरिएको त्यहाँको मौसमसम्बन्धी निकायले जनाएको छ। फिलिपिन्सको भूकम्प मापन निकायले त्यहाँ सुनामी आउन सक्ने चेतावनी जारी गरेको छ।

भूकम्पमा कम्तिमा २६ भवनहरू ध्वस्त भएका छन्, जसमध्ये १५ वटा हुआलियन काउन्टीमा छन् । सातवटा भवनमा मानिसहरू फसेको सीएनएनले जनाएको छ । ९१ हजार बढी घरहरू बिजुलीविहीन छन् । 

हालसम्मको विवरण अनुसार चार जनाको ज्यान गएको आएको बीबीसीले जनाएको छ । भूकम्पले निम्त्याएका क्षतिको यकिन विवरण आउन भने बाँकी छ।

ताइवानको केन्द्रीय मौसम प्रशासनले बुधवार आगामी चार दिनमा ६.५ र ७ रेक्टर स्केलका परकम्पहरू आउन सक्ने चेतावनी दिएको छ । भूकम्पपछि ताइवान हाई स्पीड रेल नेटवर्कको सेवा रोकिएको छ । 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link