इजराइली सेनाले शनिबार उसका सैनिकहरूले अक्टोबर ७ मा दक्षिणी इजराइली समुदायमाथि भएको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकू समूह हमासद्वारा अपहरित एक बन्धकको शव बरामद गरेको बताएको छ ।
इलाद कात्जिरको शव भेटिएपछि सेनाले युद्धका क्रममा गाजाबाट घर ल्याएको शवको सङ्ख्या १२ पुगेको छ । यद्यपि कात्जिरको मृत्युका लागि इजराइली अधिकारीहरूलाई दोष दिएकी उनकी बहिनीलाई कुनै सान्त्वना प्राप्त भएन ।
“इस्लामिक जिहादी लडाकू सङ्गठनद्वारा बन्दी बनाएर हत्या गरिएका अपहृत इलाद कात्जिरको शव रातारात खान युनिसबाट उद्धार गरेर र इजराइली क्षेत्रमा ल्याइएको छ”, सेनाले एक विज्ञप्तिमा भनेको छ । आक्रमणको समयमा ४७ वर्षीय कात्जिरलाई उनकी आमा हन्नासँगै निर ओज किबुत्ज समुदायबाट अपहरण गरिएको थियो ।
गाजा युद्धमा एक साताको युद्धविरामका क्रममा नोभेम्बर २४ मा उनलाई रिहा गरिएको थियो । सेनाका अनुसार कात्जिरका बुबा अब्राहम किबुत्जमा आक्रमणका क्रममा मारिएका थिए ।
उनकी बहिनी कार्मिट पाल्टी कात्जिरले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ, “इलादलाई निर ओजमा उनको घरबाट अपहरण गरिएको थियो ।” उहाँले आफ्नो दाजुको मृत्युका लागि इजराइली अधिकारीहरूलाई दोष दिँदै नयाँ युद्धविराम सम्झौतामा अधिकारीहरू सहमत भएको भए उनी जीवित फर्किने बताउनुभयो ।
“हाम्रो नेतृत्व कायर छ र राजनीतिक विचारबाट प्रेरित छ, त्यसैले अहिलेसम्म सम्झौता हुन सकेको छैन”, उहाँले लेख्नुभएको छ, “प्रधानमन्त्री, युद्ध मन्त्रिमण्डल र गठबन्धनका सदस्यः आफूलाई ऐनामा हेर्नुहोस् र भन्नुहोस् तपाईंको हातले रगत बगेको छैन ।”
उहाँको टिप्पणीले युद्ध सञ्चालनलाई लिएर प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको गठबन्धन सरकारमाथि बढ्दो दबाबलाई दर्शाउँछ । आइतबार गाजा युद्ध सुरु भएको छ महिना पुगेकाले वार्ताकारहरूले सप्ताहन्तमा कायरोमा युद्धविराम–बन्धक सम्झौतालाई नयाँ सिराबाट जोड दिने अपेक्षा गरिएको थियो ।
नोभेम्बरमा एक साताको युद्धविरामपछि पुनः सुरु भएको वार्तामा कुनै प्रगति भएको छैन । युद्धको प्रारम्भपछि एउटा मात्र यस्तो सम्झौता भएको थियो जसमा इजराइलद्वारा हिरासतमा लिइएका प्यालेस्टिनी कैदीहरूका लागि केही बन्धकको आदानप्रदान भएको थियो ।
अहिलेसम्मको सबैभन्दा रक्तपातपूर्ण गाजा युद्ध अक्टोबर ७ मा हमास लडाकूहरूले गाजामा अभूतपूर्व आक्रमणका साथ सुरु भएको हो । हमासको आक्रमणमा दक्षिणी इजराइलमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ७० मानिसको मृत्यु भएको थियो ।
हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार हमासलाई निमिट्यान्न पार्ने वाचा गरेको इजराइलले हवाई, स्थल र समुद्रबाट लगातार बमबारी गरेको छ । इजराइली आक्रमणमा अहिलेसम्म अधकांश महिला तथा बालबालिकासहित कम्तीमा ३३ हजार एक सय ३७ जनाको ज्यान गएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फिफा विश्वकप २०२६: क्वाटरफाइनलको अन्तिम दिन, नर्वे र इङ्गल्यान्ड तथा अर्जेन्टिना र स्विट्जरल्याण्ड भिड्दै
- सारङ्गीको धुनमा यमबहादुरको ३६ वर्ष
- गर्मी छल्न रिगतालमा पर्यटकको भीड
- पूर्णखोप सुनिश्चित नगर बन्यो सूर्यविनायक
- आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
- कोशी, बागमती र लुम्बिनीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी
- फिफा विश्वकप २०२६: बेल्जियमलाई २-१ ले पाखा लगाउँदै स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भिडन्त पक्का
- फिफा विश्वकप २०२६: दोस्रो क्वाटरफाइनलमा स्पेन र बेल्जियमको महाभिडन्त
- आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
- मुगुमा माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु