तटस्थ र निष्पक्ष: उपाध्यक्ष विमला घिमिरे

राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले उपाध्यक्ष साझा पद भएकाले सबैलाई मिलाएर तटस्थ र निष्पक्ष भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

राष्ट्रियसभाको २८ चैतको बैठकबाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष घिमिरेले उपाध्यक्षको भूमिकालाई लिएर हुँदै आएका टिक्काटिप्पणी र मनोविज्ञानलाई चिर्दै क्रियाशीलताका आधारमा पदको गरिमा स्थापित गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “संविधान र नियमावलीले दिएको भूमिकाभित्र रही थप क्रियाशील हुनेछु। राष्ट्रियसभामा महिला सदस्य सशक्तिकरणका विषयमा पनि मेरो भूमिका रहनेछ।”

उपाध्यक्ष घिमिरेले आफूले प्राप्त गरको उपाध्यक्ष पदलाई सानो वा ठूलो भनी मूल्याङ्कन गर्न नहुने तर्क गर्दै आफूले गर्ने कार्य सम्पादनबाट उदाहरण प्रस्तुत गरी उठेका विभिन्न प्रश्न र मनोविज्ञान बदल्न प्रयास गर्ने अठोट गर्नुभयो। प्राप्त अधिकारको अधिकतम सदुपयोग गर्ने पक्षमा आफू रहेकाले थप अधिकारका लागि चर्चा परिचर्चा गर्न आवश्यक नरहेको उल्लेख गर्दै उहाँले आवश्यकताका आधारमा नियमावली संशोधन हुने विश्वास व्यक्त गर्नुभयो।

वामपन्थी खेमामा रही महिला सशक्तिकरणको अभियानमा तीन दशकभन्दा बढी समयदेखि क्रियाशील घिमिरे हाल नेकपा (एमाले) को पोलिटब्यूरो सदस्य हुनुहुन्छ। उहाँ चार वर्षदेखि राष्ट्रियसभा सदस्यको जिम्मेवारीमा रहनुभएको छ।

राष्ट्रियसभाको २८ चैतको बैठकमा उपाध्यक्ष पदको मतविभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा ३९ मतसहित घिमिरे निर्वाचित हुनुभएको सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभयो।

अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष घिमिरेलाई बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभयो। उक्त मतविभाजन प्रक्रियामा ५५ जना सांसद सहभागी हुनुभएको थियो। एमालेका सांसद बिमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ सांसदहरुले मतदान गर्नुभयो। यस्तै उक्त प्रस्तावमा हुन्न भन्नेमा १६ मत परेको थियो।

उक्त पदमा नेपाली कांग्रेसका सांसद विष्णुदेवी पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो। अध्यक्ष दाहालले बहुमत प्राप्त नगरेपछि सांसद पुडासैनीलाई उपाध्यक्ष पदका लागि अस्वीकृत भएको घोषणा गर्नुभएको थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link