द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१३
पाण्डवहरूका वैध सन्तानहरूमध्ये सबैभन्दा जेठो सन्तान कुन हो भन्ने महाभारतले स्पष्ट रुपमा भनेको पाइँदैन। कति सन्तानहरू थिए र कति रानीहरू थिए भन्ने पनि स्पष्ट हुँदैन तर पनि हिडिम्बाबाट जन्मेको सन्तान घटोत्कच नै पहिलो सन्तान हो भन्नेचाहिँ स्पष्ट हुन्छ। त्यो बेलाको राज्यको नियमले घटोत्कचलाई भीमको सन्तानको दर्जा दिएको त पाइन्छ तर राज्यको राजा हुने अधिकार भने नभएको देखिन्छ। हिडिम्ब अथवा हिडिम्बासुर जो निशाचरहरूमध्येको राजा थियो। जब लाक्षागृह जलाएर पाण्डवहरू माता कुन्तीसहित सुरुङ्को बाटो वारणावत सहर बाहिर निस्कँदै थिए। एकातिर आफ्नो परिचय खुल्ने डर, अर्कोतिर बाँचेर शक्ति सञ्चय गरेर हस्तिनापुरमा आफ्नो अधिकारको राज्य फिर्ता लिने उपायको खोजी गर्नु थियो पाण्डवहरूलाई।
पाण्डवसहित कुन्ती मरेको सन्देश भारतवर्षभर फैलिएको थियो। त्यसो त पाण्डवहरूलाई जलाउनका लागि खटिएको दुर्योधनको परिचर पुरोचनसमेत जलेर खरानी भएको थियो। त्यसरी आफैँ जलेको सन्देश दिएर आफ्नो शक्ति सञ्चयार्थ ब्राह्मण भेषमा वन वन घुमिरहने रणनीतिका साथ पाण्डवहरू भागेका थिए र पनि संसारले बुझेको भाषा थियो, अब पाण्डुकी रानी कुन्तीसहित पाण्डुका पुत्रहरू अचानक वारणावतको दरबारमा जलेर मरेका थिए। त्यसका लागि हस्तिनापुर शोकाकुल देखिनु थियो, महाराज धृतराष्ट्र छाती पिटी पिटी रोइरहेका देखिन्थे र भन्थे—भाइ पाण्डु, जब तिमीसँग मेरो स्वर्गमा भेट हुनेछ, त्यो बेलामा म के जबाफ दिउँला ? मैले तिम्री रानी र कुमारहरूको रक्षा गर्न सकिन। महाराज धृतराष्ट्र एकदम खुसी थिए मनभित्र तर बाहिर भने युवराज युधिष्ठिरसहित पाण्डु कुमारहरूको भवितव्यमा भएको निधनप्रति राजकीय शोक मनाइएको थियो।
उता जसरी पनि लुकेर बस्ने र अनि हस्तिनापुरमा भ्रम रहिरहोस् कि कुन्तीसहित पाण्डवहरू अब संसारमा छैनन् भन्ने परोस्। त्यसो त युवराजले वारणावतमा राज्य गर्न सिक्न आएको वर्ष दिन भएको खुसियालीमा पुरोचनले भव्य भोजको आयोजना गरेको थियो। उसको ध्यान के मा थियो भने आज कुन्तीबाहेक सबैले सोमरस पिउने छन् र मातेर लट्ठ भएको बेलामा लाक्षागृहका आगो लगाउने सुरमा पुरोचन समयको गणना गरेर बसेको थियो। एकवर्षसम्म जति मौका हेर्दा पनि पाण्डवहरू अचेत भएर आफ्नो कर्तव्य छोडेको उसले भेटेको थिएन। अर्थात् पाण्डवहरू कुनै पनि रात मज्जाले सुतेका थिएनन्।
उनीहरूलाई नभने पनि लाक्षागृहमा हामी छौँ, हामी अलिकति पनि चुक्ने बित्तिकै हामीलाई कुनै पनि बेलामा आगो लगाएर डढाउने कामका लागि पुरोचनलाई खटाइएको छ भन्ने थाहा थियो तर कहिल्यै पनि पुरोचनका बारेका पाण्डवहरूले थाहा पाएजस्तो त गरेनन् तर सतर्कता भने यसरी राखेको पाइन्थ्यो कि सधैँ कोही न कोही जागा रहन्थे अनि पुरोचन आउने बित्तिकै उसको सम्मान गरेर आफूसँग राख्थे। उसले जतिबेर पनि पाण्डव बिउँझै बसेको देखेपछि आफ्नो लाक्षागृह नजिकको आबासमा सुत्न जान्थ्यो र आफ्ना विश्वासिला अनुचरहरूलाई पाण्डवको चियो गर्न खटाएको हुन्थ्यो। यदि सतर्कता नअपनाई सुतेको देखेमा या मूलढोका लगाएर भित्र रहेको अवस्थामा तत्काल पुरोचनलाई जानकारी दिनु पर्थ्यो र आगो लगाउनका लागि उनीहरू तम्तयार हुन्थे। त्यसैले लाक्षागृहको दरबारमा न त कहिल्यै ढोका लगाइन्थ्यो, न त बत्ती निभाइन्थ्यो, न त पाण्डवहरूको निगरानीको कमी नै हुन्थ्यो। कोही पनि निदाएको हुँदैनथ्यो र कुनै पनि बेला सुरुङ्मा प्रवेश गर्नका लागि सुरुङ् त्यही दरबारभित्रैबाट तयारी गरिएको थियो। त्यहाँको सुरुङ् तयार गर्न विदुरका तर्फबाट अपरिचित कालीगढको व्यवस्था गरिएको थियो। ती कालीगढ हस्तिनापुरभन्दा धेरै टाढाका थिए जसलाई न त वाराणावतका मानिसहरूले चिन्थे, न त उनीहरू सहरका मानिसहरूसँग घुलमिल गर्थे। रातको निष्पट्ट समयमा दरबारभित्रबाट सहरको बाहिरको कुनै निर्जन स्थानमा पुग्ने गरी सुरुङ्को व्यवस्था गरेर कालीगढ फर्केका थिए जसको सबै कुरा थाहा पाउनेमा भीममात्र थिए।
बडो जोडतोडका साथ पाण्डवहरू वारणावतमा आएर राज्य सञ्चालन गरेको वर्षदिन पुगेको उपलक्ष्यमा खुसियालीको भोजमा एकजना भिल्ल महिला आफ्ना पाँचजना छोराहरूसहित आएकी थिई, दिउँसभरिको भोक प्यासका कारणले मिठो खाना र सोमरस पानका कारणले सबैजना त्यहीँ सुतेका थिए। कुन्तीले जब त्यो देखिन्, तत्काल संकेत गरिन्। पुरोचनले पनि पाण्डवहरू जागा बसेर अतिथिहरूको सेवा गर्दै रहेको देख्यो र आफू पनि सोमरस लिएर, आफ्ना अनुचरहरूलाई असावधान भएमा खबर गर्न संकेत गर्दै आफ्नो खोपीमा आराम गर्न गएको थियो। लाक्षागृह नजिकैको भवन भएकाले पाण्डवहरूको संकेतका कारणले प्रहरीले पुरोचनको ढोकामा बाहिरबाट ताल्चा लगाए, अनि सम्पूर्ण लाक्षागृहमा आगो लगाए अनि लाक्षागृह र पुरोचनको कुटीसमेत दनदन बल्न थाल्यो। जब सबै खरानी भएको देखेपछि सबैजना सुरुङ्भित्र प्रवेश गरे। पुरोचनका अनुचरहरू त पाण्डवहरू सखाप भएको खबर दिन पुरोचनको कुटीतर्फ जाँदा पुरोचनको आबास खरानी भएको देखे, अनि उनीहरूले सम्झिए, पाण्डवहरू पनि डढेर मरे, पुरोचन पनि धोखाले डढे। त्यही खबर रातारात हस्तिनापुर पुगेको थियो। हस्तिनापुरमा दुर्योधनहरू खुसी थिए तर बाहिर राजकीय शोकको घोषणा गरेका थिए। धृतराष्ट्रले आदेश दिँदै भनेका थिए, युवराज युधिष्ठिरसहित सबैको क्रियाकर्म वैदिक रीति अनुसार होस्।
त्यो सुरुङ्का बारेमा भीमलाई मात्र जानकारी थियो। सबै लखतरान भएका थिए, भाग्दै थिए तर कताको बाटो कता हो भन्ने कसैलाई थाहा थिएन। सुरुङ्को मुखमा पुगेर पनि कता जाने भन्ने थाहा थिएन, भीमले सबैलाई बोके। भोकप्यासले ग्रसित कुन्ती, युधिष्ठिर, अर्जुन, नकुल र सहदेव सबैलाई आफैँले बोकेका भीमले अब त हस्तिनापुरका अनुचरहरूबाट सुरक्षित भएको ठानी विश्राम लिन लाग्दा सबैले पानीको खोजी गरे। सबै थकित थिए र भीमलाई पानीको खोजी गर्न अनुरोध गरे। भीम पनि पानीको खोजीमा भौँतारिँदै कता पानी हुनसक्छ, त्यतै दौड्न थाले। नभन्दै एउटा कञ्चन पानीको पोखरी फेला पर्यो। आफूले नुहाए, पानी पिए र आफ्नो शुद्ध धोतीलाई भिजाएर पानी त्यसैलाई निचोरेर पिलाउनका लागि लिएर आए। आउँदा देख्छन्, सबै लखतरान भएर अर्धमूच्छित तरिकाले सुतेका थिए। एकवर्षदेखिको नसुतेका परिवारहरू त्यो अनजान जंगलको बगरमा भीमको सुरक्षा सम्झेर सुतिरहेका थिए। भीमको आँखामा आँसु बगिरहेको थियो। विचित्रवीर्यको राज्याधिकार पाएका पाण्डवहरू आज यसरी जंगलको बगरमा लमतन्न सुतिरहेका छन्। त्यो पनि आफ्नो परिचय लुकाएर। मरेको बुझेका छन् संसारले र पनि भोलिको राज्य प्राप्तिका लागि आज यो दुःख खेप्नु परेको छ कुन्तीले, र उनका सन्तानले।
त्यो निशाचरको बस्तीमा, निशाचरको बस्तीभित्रको एउटा गहन झाडीमा हिडिम्बासुर र उसका परिवार घुम्दै आएर त्यहीँ बास बसेका रहेछन्। महसुर हिडिम्ब र उसकी बहिनी हिडिम्बा सँगै थिए। ती मनुष्यको मांसाहारी समेत थिए। पानी लिएर आएका भीम अनेक तर्कनासहित विह्वल भएर कल्पनाशील रहेकै बेलामा हिडिम्बको आज्ञानुसार मानव मांसको जोहो गर्न हिडिम्बा आएकी थिइन्। अरु आरामसँग मस्तसँग सुतेका थिए थकित भएर तर भीम उनीहरूको रक्षार्थ बिउँझै थिए। हिडिम्बाले जब भीमलाई देखिन्, उनको मनमा भीमप्रति अनुराग उत्पन्न भयो र एकजना सुन्दरीको रुपमा ग्रहण गरी भीमसँग रतीरागका कुरा गर्न थालिन्।
क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन
- किन आयो शिखण्डीमा मर्ने चाहना?
- शिखण्डीको नियति
- जब अम्बाको तपस्याले शिवजी प्रसन्न भए…
- अम्बाका कारण परशुराम र भीष्म बिच युद्ध
- राजकुमारी अम्बाको पीडा
- भीष्मको अन्यायको सिकार
- भीष्म प्रतिज्ञा र भावी उत्तराधिकारीको सङ्कट
- सत्यवतीको अपराध बोध