संसद्को अधिवेशन अन्त्यः तीन विधेयक पारित, कांग्रेस र सभामूख दुबै असन्तुष्ट

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। सभाको वैशाख २ गतेको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त सोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो। अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि स्वतः अन्त्य हुने सभामुखले जानकारी गराउनुभयो।

बैठकमा उहाँले प्रतिनिधिसभाको चालु अधिवेशनमा भएका कामबारेमा जानकारी गराउनुभयो। चालु अधिवेशन गत माघ २ गतेदेखि प्रारम्भ भएको थियो। यस अवधिमा २३ दिनमा २३ पटक गरी कूल ८१ घण्टा ५५ मिनेट बैठक बसी संसदीय काम कारबाही व्यतित भएको जनाइएको छ। यस अधिवेशनमा अनुगमन तथा मूल्याङ्कन विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गरी तीन विधेयक पारित भएका छन्।

वैशाख २ गतेको बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसदहरू आसनबाट उठेपछि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकका निर्णय र समझदारीअनुसार नै बैठक अघि बढाउने बताउनुभएको थियो। साथै उहाँले आजको लागि तय गरिएको कार्यसूचीका १ देखि ७ नम्बरसम्मका विषय कार्यसूचीबाट हटाइएको जानकारी गराएपछि बैठक सञ्चालन भएको थियो।

बैठकमा सभामुखले प्रतिनिधिसभाको नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचना सभाको स्वीकृतिका लागि पेस गर्नुभएको थियो। उक्त प्रस्ताव बैठकले स्वीकृत गरेको थियो।

यसबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले गरेको निर्णयप्रति असहमति  जनाएको छ। कांग्रेस संसदीय दलको वैशाख २ गते बसेको बैठकले बजेट अधिवेशनको लागि पर्याप्त समय हुँदाहुँदै चालु अविधेशन अन्त्य गर्न सरकारले गरेको सिफारिसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

बैठकका निर्णयबारे जानकारी दिँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकारको यो निर्णय संसदीय मूल्य मान्यता विपरीत भएको बताउनुभयो। उहाँका अनुसार कांग्रेसले सरकारको निर्णयप्रति असहमति जनाएको हो।

“सदनमा विपक्षी दलहरुले सहकारीको रकम अपचलन र विषयमा कुरा उठाउँदै आएका छन्, सरकारमा सहभागी मन्त्री नै सहकारीको रकम अपचलनमा संलग्न रहेको हुँदा निष्पक्ष र स्वतन्त्र छानबिनको सुनिश्चितताका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग उठाउँदै आएका थिए”, उहाँले भन्नुभयो, “सरकारले यस विषयलाई गम्भीरतापूर्वक नलिएर बेवास्ता गर्दै आएको छ। प्रतिपक्षी दलका कारणले सदन अवरुद्ध भएको भनी सत्तापक्षले आरोप लगाएको छ, त्यो आरोप मात्रै हो।”

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्नता रहेको विषय तथ्य र प्रमाणसहित कुरा उठाउँदै आएको बताउँदै प्रमुख सचेतक लेखकले यसमा सरकार गम्भीर नहुँदा सदन केही दिन अवरोध भएकाले यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो।

कांग्रेस संसदीय दलको यो बैठकले सहकारीको रकम ठगी गर्नेको विषयमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिनका लागि थप दृढतापूर्वक उभिने प्रतिबद्धता गरेको प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो। साथै बैठकले सरकारले सदनलाई पर्याप्त समय दिन नसकेकाले यस अधिवेशनमा संविधान र सङ्घीयता कार्यान्वयनका विषयमा आवश्यक कानुन बन्न नसकेको अरोप समेत लगाएको छ।

पर्याप्य उपलब्धिपूर्ण भएनः सभामुख

सभामुख देवराज घिमिरेले तुलनात्मक रुपमा अघिल्ला अधिवेशनभन्दा प्रतिनिधिसभाको तेस्रो अधिवेशन उपलब्धिपूर्ण भएको बताउनुभएको छ।

प्रतिनिधिसभाको तेस्रो अधिवेशन अन्त्यका अवसरमा वैशाख २ गते आयोजित बैठकमा उहाँले कानुन निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्नेलगायतका कार्यमा तुलनात्मक रूपमा अघिल्ला अधिवेशनभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको बताउनुभएको हो।

सभामुख घिमिरेले भन्नुभयो, “अघिल्ला अधिवेशको तुलनामा तेस्रो अधिवेशन उपलब्धिपूर्ण भए पनि पर्याप्य भने हुन सकेन। राजनीतिक दलहरूबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयका आधारमा आगामी अधिवेशन अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास लिएको छु।”

उहाँले अधिवेशन अवधिभर सक्रियतापूर्वक सहभागी हुने सदस्यलाई धन्यवाद ज्ञापन गर्दै संसदीय कार्यमा सहयोग गर्ने सङ्घीय संसद् सचिवालयका कर्मचारी, सुरक्षालगायतका सबै संयन्त्रलाई धन्यवाद ज्ञापन गर्नुभयो।

“संसद् जनताको भावनालाई जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले अभिव्यक्ति दिने प्रमुख स्थान भएकाले यहाँ आशा र अपेक्षाका साथसाथै असन्तुष्टि र आक्रोश पनि व्यक्त हुन्छन्”, उहाँले भन्नुभयो, “नेपाली समाज र राजनीतिमा रहेका विविधता, विरोध र बहस पनि स्वाभाविक रूपमा देखिन्छन्। संसद्‌मा अभिव्यक्त जनप्रतिनिधिका आवाजलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्दा त्यसले सुशासन कायम गर्न र असन्तुष्टिको निवारण गर्न मद्दत पुर्याउँछ।”

संसद्‌मा अभिव्यक्त आवाजलाई सही समयमा सम्बोधन र निष्कर्षमा पुर्याउन सके यस गरिमामय संस्थाको महत्व र समयको उचित सदुपयोग हुनसक्ने सभामुखको भनाइ थियो। संसद् जति क्रियाशील र प्रबुद्ध भयो त्यसले त्यति नै विधि निर्माणमा गुणात्मक प्रभाव पार्ने बताउनुभयो। त्यस अवसरमा उहाँले नयाँ वर्ष २०८१ सालको शुभकामना व्यक्त गर्नुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link