युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग तथा आड्रा नेपाल, आइडिइ नेपाललगायतका सङ्घसंस्थाको साझेदारीमा बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र परेको छ । कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाअन्तर्गत २०७२ जेठमा निर्मित सुगन्धित तेल प्रशोधन केन्द्र परियोजना सकिएसँगै अलपत्र परेको हो । प्रशोधन केन्द्रको मेसिन अहिले बेवारिसे अवस्थामा रहेको छ ।
मेन्थाबाट उत्पादित सुगन्धित तेलको दिगो बजार व्यवस्थापन हुन नसक्दा किसानले मेन्थाखेती गर्न छाडेपछि प्रशोधन केन्द्र बन्द भएको राप्ती सोनारी–६ फत्तेपुर जोरैयाका किसान चोमबहादुर पुनले जानकारी दिनुभयो । “परियोजना सञ्चालन हुँदा नियमित रूपमा सामूहिक र व्यक्तिगत रूपमा मेन्थाखेती हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “उत्पादित तेलको मूल्य सुनिश्चितता र बजार पाउन नसकेपछि खेती गर्न छाडियो ।”
जोरैयामा मात्रै ताराबहादुर थापाको अध्यक्षतामा १८ जना मेन्थाखेती गर्ने किसानले समूह बनाएर सुगन्धित तेल उत्पादन गर्दै आएका थिए । परियोजना सकिएपछि समूहले तेल उत्पादन र बिक्री वितरण गर्न नसकेपछि किसानले घाटा व्यहोर्नुपरेको उहाँको भनाइ छ ।
मेहनत गरेर उत्पादन गरेको मेन्थाबाट तेल प्रशोधन गरी नेपालगञ्ज पुर्याउँदा मूल्य सुनिश्चित नहुने र बजारसमेत नपाउने भएपछि किसानले चार–पाँच वर्षमै मेन्थाखेती गर्न छाडेको स्थानीय अगुवा लालबहादुर थापाले बताउनुभयो । परियोजना सञ्चालन हुँदा फत्तेपुरमा मात्रै ८० बिघा जमिनमा मेन्थाखेती विस्तार भएको थियो । फत्तेपुरलाई मेन्थाखेतीको पकेट क्षेत्र बनाउने भन्दै किसानले खेती बढाउन जडीबुटी उत्पादन समूहसमेत गठन गरेका थिए । गहुँ–मसुरो भित्र्याएपछि खाली जमिनमा मेन्थाखेती गरिन्छ । मेन्थाका लागि पानी आवश्यक परे पनि स्याहारसुसार त्यति धेरै गर्नु नपर्ने फत्तेपुर सर्राका किसान रामगोपाल मौर्यले बताउनुभयो ।
पशु चौपायाले मेन्था नखाने भएकाले पनि गर्मीमा खेती उपयुक्त भए पनि मेन्थाबाट प्रशोधित तेलले बजार र मूल्य नपाएपछि आफूहरूले खेती गर्न छाडेको उहाँको भनाइ छ । युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग तथा आड्रा नेपाल, आइडिइ नेपाललगायतका सङ्घसंस्थाको साझेदारीमा कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाअन्तर्गत सुगन्धित तेल प्रशोधन केन्द्र स्थापना भएको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- खोटाङको ‘तुवाचुङ मिनी ग्रेटवाल’ जहाँ भरिन थाले पर्यटक
- कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण
- खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ
- जसले विद्यालय जोगाए उनैबाट शिक्षक सम्मानित हुँदा …
- अमेरिकाः मस्कको टोलीलाई अर्थमन्त्रालयको तथ्याङ्क नदिन न्यायाधीशको निर्देशन
- २७ वर्षपछि दिल्लीमा भाजपाको सत्ता, आपको हार, काङ्ग्रेसको प्रतिनिधित्व शून्य
- हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
- केजरीवालले हारे चुनाव, भाजपाका प्रवेश वर्माको जित
- सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी
- कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू
