महाभारतमा मातृशक्तिको महिमा

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१४

हरिविनोद अधिकारी

पाण्डवहरूकी एकमात्र आधिकारिक पटरानीका रुपमा द्रौपदी स्वीकार गरिएकी भए पनि महाभारतमा अरु पनि मातृशक्तिहरूको भूमिका देखिन्छ। महाभारतमा को मुख्य पात्र भन्ने प्रश्न आफैँमा अनुत्तरित नै छ। झन त्यसमा पनि महिला पात्र को मुख्य भन्ने प्रश्न पनि आउने गर्छ।

त्यसो त जय नामक महाकाव्य, जसलाई पछि गएर महाभारतको नाम दिइयो, त्यसमा सबै पात्रहरूको आफ्नै आप्mनै भूमिका पाइन्छ। जस्तो कि गङ्गाको भूमिका महाकाव्यमा एकदम कम देखिन्छ तर उनलाई महाभारतबाट यदि हटाएमा देवब्रतको जन्म हुने थिएन र तिनै देवब्रत पछि गएर कुरुवंशका शिरोमणिको रुपमा हस्तिनापुरका अभिभावक बनेका थिए। महाभारतको युद्धमा १८ अक्षौहिणी सेना जम्मा भएका थिए जसमा हस्तिानपुरका महाराज धृतराष्ट्रका तर्फबाट लड्ने योद्धा ११ अक्षौहिणी थिए र त्यत्रो सेना नायकका रुपमा दुर्योधनका पक्षबाट पाण्डव विरुद्ध लड्ने महान योद्धा तिनै भीष्म पितामह थिए।

एकातिर महाभारतको युद्धलाई धर्मयुद्धको रुपमा चित्रित गर्ने, धर्मको जित हुन्छ भन्दै पाण्डवको जितको आकाङ्क्षा राख्ने पितामह, जता कृष्ण छन्, त्यतै विजय हुने र कृष्णले सदैव धर्मको पक्षमा मात्र लाग्नै भन्दै कृष्णको प्रशंसा गर्थे तर उनी मनले नमाने पनि कौरवका पक्षबाट लड्दै थिए। उनी आफूलाई कुरुवंशको उत्तराधिकारी मान्थे, हस्तिनापुरलाई कुरुवंशको अविच्छिन्न उत्तराधिकारी राजधानी मान्थे र अन्ततः पाण्डव र कौरवका बिचमा हुने युद्धमा मनले नमाने पनि दुर्योधनादिको पक्षमा उभिँदै पाण्डव विरुद्ध लडिरहेका थिए। कस्तो विडम्बना, मनले भन्छ पाण्डवहरूले न्याय पाएका छैनन्। तनले तिनै पाण्डवका विरुद्ध युद्ध मैदानमा सेनापतिको रुपमा युद्धलाई गति दिनु परेको छ। त्यस्ता योद्धा जसले आफ्ना गुरु परशुरामलाई समेत युद्धमा हराउन सक्थे। त्यस्तो वीर प्रसूता नारीका रुपमा गङ्गाको अवतरण भएको पाइन्छ यस धराधाममा।

हुन त युवराज देवब्रत, पछि गएर भीष्म पितामहका रुपमा महाभारतमा मुख्य भूमिका निर्बाह गरेका देवब्रतको जन्म कसरी भयो भन्ने कुरामा पनि केही रोचक तथ्यहरू रहेछन्। त्यसो त महाभारत रोचक तथ्यहरू र कतिपय बेलामा अपत्यारिला घटनाहरूको जानकारी पाउने रहस्यमयी महाकाव्यको रुपमा पनि लिन सकिन्छ।

गङ्गाको मानवीय स्वरुप कसरी सम्भव भयो भन्ने बारेमा गरिएको वयान रोचक छ, मननीय छ। गङ्गाका कारणले आठ वसुहरूलाई परेको श्राप र त्यसको मोचनका लागि उनीहरूले पृथ्वीमा जन्म लिनु नै पर्ने भयो। त्यो पनि गङ्गाको कोखबाट। चाँडै श्रापबाट मुक्त हुनका लागि वसुहरूले छिटै मानव योनिमा जन्मने र तत्कालै श्राप मुक्त हुने र आफ्ना कर्तव्यमा फर्कने इच्छा पूरा गर्नका लागि कुरुवंशी महाराज प्रतीपसँग तत्काल बिहे गरी बच्चा जन्माउने काम गर्न गङ्गालाई हतार थियो। उनी तपस्यारत राजा प्रतीपको ध्यानमग्न अवस्थामा पुगिन् र उनको दाहिने काखमा बसेर प्रतीपको ध्यान भङ्ग हुने समय पर्खेर बसिन्। जब महाराज प्रतीपको ध्यान सकियो। यसो हेर्छन् त एकजना रुपवती महिला आफ्नो काखको दाहिने पट्टि बसिरहेकी छिन्। महाराज प्रतीपले सोधे—हे नवयौवना, तिमी को हौ ? मसँग के काम परेर यहाँ आएकी हौ ? ती रुपवती महिलाले भनिन्, म स्वर्गकी गङ्गा हुँ, म श्राप परेर पृथ्वीमा आएकी हुँ। मलाई तपाईँसँग बिहे गरेर सन्तान पाउनका लागि भनिएको छ। तत्काल बिहे गरौँ र बच्चा पाउन थालौँ।

राजा प्रतीप हाँसे र भने —हे युवती, तिमी मेरो दाहिने काखमा बसेकीले म तिमीसँग बिहे गर्न सक्दिन किनभने दाहिने काख त आमा, बहिनी, नातिनीहरूका लागि हो। जो मेरो दाहिने काखमा बस्छ, ऊसँग मैले बिहे नगर्ने भएकाले मेरो छोरो जन्मने छ र ऊसँग तिम्रो बिहे हुनसक्छ। तिमीले धैर्यता राख्न सक्नुपर्छ। नभन्दै राजा प्रतीप तपस्यापछि राज दरबारमा आए, उनको छोरो शन्तनु जन्मिए र तिनै शन्तनुसँग पुरानो बाचा अनुसार गङ्गाको बिहे भयो।

राजा यति धेरै मोहित थिए कि गङ्गाका जुनसुकै सर्त मान्न पनि तयार थिए। उनले सर्त राखेकी थिइन् कि मैले जे गरे पनि महाराजले त्यसमा कुनै अवरोध पुर्‍याउन हुनेछैन। जुनबेलामा मेरो स्वेच्छाचारितामा अंकुश लगाउने काम हुनेछ, म तत्कालै महाराजलाई छोडेर स्वर्ग जानेछु। अरु कुरा उनले खासै भनिनन् तर उनले धमाधम बच्चा पाउन थालिन् र जन्मने बित्तिकै ती बालकहरूलाई गङ्गा नदीमा लगेर बगाउँथिन्। उनी स्वयं गङ्गा थिइन् र ती मानवका रुपमा जन्म लिन आएका सात वसुहरू तत्काल आफ्ना जल प्रवाहमा बगाएको देखिन्थ्यो। आठौँ सन्तानलाई पनि रानीले बगाउन लाने जस्तो लागे पछि राजाले आफूलाई एउटा उत्तराधिकारी चाहिने भनेर अवरोध गरेपछि सर्त अनुसार गङ्गाले राजालाई छोडेर जाने भइन् तर यो आठौँ बच्चालाई भने जल प्रवाहमा समर्पित नगरी आफैँसँग राख्ने गरी दरबार छोडेर गइन्। तिनै आठौँ वसु जो देवब्रतको रुपमा जन्मेका थिए, तिनको जाय जन्म हुने कुरै थिएन र पनि उनी यो संसारमा धेरै वर्ष बाँचेर आफ्नो इच्छाएको समयमा मर्ने आशीर्वादको प्रयोग गरे। शरशय्यामा सुतेर पनि उनले इच्छामृत्युको कामना गरेका थिए र उनको इच्छा अनुसार एकान्तमा छोडिएको थियो शान्त भएर अन्तिम समयको प्रतीक्षारत हुने भीष्म पितामहको चाहना थियो। यहाँनिर महाभारतमा गङ्गाको महत्वपूर्ण भूमिका देख्न र सुन्न पाइन्छ। जस्तो कि गङ्गाले नै देवब्रतलाई भावी महाराजको तयारी गरेकी थिइन् विभिन्न विद्वानहरूमार्फत् छोराको शिक्षादीक्षामा ध्यान पुर्‍याएकी थिइन्। क्रमशः

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link