मनोरञ्जन क्षेत्रका महिला जोखिमपूर्ण अवस्थामा

रामेछापकी डोमा तामाङ केही वर्षअघि रोजगारीको खोजीमा काठमाडौँ आउनुभयो। देशको राजधानी भएकाले सजिलै जागीर पाइएला भनेर यहाँ आउनुभएकी उहाँलाई सोचेजस्तो सजिलो भएन। धेरै ठाँउमा धाउँदा पनि खोजेजस्तो जागीर नपाएपछि उहाँले अन्तिम विकल्पकारूपमा एउटा क्याट्रीनमा काम गर्नुभयो।

निकै मिहेनतपछि हातमुखजोर्ने जागीर पाएपछि को खुसी नहोला १ त्यस्तै खुसी थियो उहाँमा पनि। सरकारले श्रमका लागि तोकेको आठ घण्टाभन्दा दोब्बर अर्थात दिनको झण्डै १६ घन्टा काम काम गरे पनि सोअनुसार पारिश्रमीक नपाएपछि भने उहाँ खिन्न हुनुहुन्छ।

“कामअनुसारको पारिश्रमिक पाएत ठिकै थियो, उल्टै शारिरीक र मानसिक दुर्व्यवहार सहनुपरेको छ”, उहाँ भन्नुहुन्छ। न समयको टुङ्गो, न कामअनुसारको दाम। त्यसैमा विवाहका लागि काठमाडौँका ब्याङ्क्वेटमा खटिदाँ फरक फरक स्वभावका मान्छेहरूसँग ठोकिन पुग्दा गलत नियत राख्नेहरूसँग जोगिनु अर्को जोखिम रहेको डोमाको भनाइ छ।

“कामगर्दा कार्यरत संस्थामा भोग्ने समस्या त छँदैछन्। त्योबाहिर पनि सुरक्षित अवस्था छैन। पछिल्लो समय त क्याट्रीनसम्म मानव बेचबिखन गर्ने बिचौलीया छिरेकाले हामी महिला थप जोखिममा छौँ”, उहाँले भन्नुभयो।

शुक्रबार काठमाडौँमा शुभअवसर ग्राम नेपालले आयोजना गरेको एक कार्यक्रममा मनोरञ्जन क्षेत्रका पेशागत पीडित सहभागीले यस्तै समस्या व्यक्त गरेका थिए।

रामेछापकै रबिना तामाङले डोमाको जस्तै गुनासो गर्नुभयो। स्नातक तह अध्ययन गरिरहेको बताउनने उहाँ पनि काठमाडौँको एउटा क्याट्रीनमा कार्यरत हुनुहुन्छ। तोकिएको समयभन्दा बढी परिश्रम गर्नुपर्ने बाध्यताले पढाईमा निकै समस्या भएको तर अर्को विकल्प नहुँदा दुखजिलो गरेर काम गरिरहनुपरेको उहाँको भनाइ छ। उहाँ भन्नुहुन्छ, “पढ्ने रहर छ तर समय पुग्दैन। न त परिश्रम गरेजति पारिश्रमीक पाइन्छ ।”

विराटनगरकी सुनिता खड्काले पनि मनोरञ्जन क्षेत्रमा काम गरेको लामो समय भयो। सो अवधिमा श्रम शोषण मात्रै होइन शारिरीक र मानसिक दुर्व्यवहारसमेत भोग्नुपरेको उहाँले सुनाउनुभयो। मनोरञ्जन क्षेत्र आफैँमा नराम्रो होइन तर यस क्षेत्रका सञ्चालकहरूले व्यवसायलाई व्यवस्थित बनाउन समस्या भइरहेको उहाँको भोगाइ छ। “मनोरञ्जन क्षेत्रमा धेरै महिला जोखिमपूर्ण अवस्थामा छन्। तोकिएको समयभन्दा बढी श्रम गर्दा पनि न समयमा तलब पाइन्छ, न त सम्मान नै। त्यसैले हाम्रो पेशागत सुरक्षा कसले गर्ने रु”, उहाँको प्रश्न छ।

अधिकारकर्मी रसना ढकाल भने मनोरञ्जन पेशा कलाकार जन्माउने क्षेत्र भएकाले सोहीअनुसार उचित सम्मान र पारिश्रमिकको व्यवस्था हुनुपर्ने धारणा राख्नुहुन्छ। मनोरञ्जन क्षेत्रमा कामगर्ने महिला तथा किशोरीले कोठा नपाउने, कोठा खोज्नकै लागि ‘लिभिङ टुगेदर’ बस्नुपर्ने, त्यसरी बस्दा थुप्रै अपराधीक गतिविधि निम्तिएका उहाँले बताउनुभयो। “उहाँहरूले नियुक्ती पत्रसमेत पाउनुभएको छैन, समयमा तलब पाउने कुरा त परैजाओस्”, रसनाले भन्नुभयो,“मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउन व्यवसाय सञ्चालकदेखि राज्यका हरेक निकाय सचत हुन जरूरी छ।”

काठमाडौँ महानगरपालिकाका सामाजिक विकास विभाग अधिकृत भवानी कपालीले महानगरले गरेको अनुगमनमा डान्सबार, होटलका तथा मनोरञ्जन क्षेत्रमा कामगर्ने किशोरीहरू बढी असुरक्षित रहेको बताउनुभयो। यस्ता क्षेत्रमा कामगर्ने महिला तथा किशोरीलाई आत्मनिर्भर बनाउनुका साथै पेशालाई व्यवस्थित र मर्यादित बनाउने महानगरको योजना बनाइरहेको उहाँले जानकारी दिनुभयो। त्यसैगरी सबै वडालाई आफ्नो क्षेत्रमा रहेका डान्सबार र रेष्टुरेन्टको अवस्थाबारे अनुगमन गर्न निर्देशनसमेत दिइएको उहाँको भनाइ छ।

कार्यक्रममा शुभअवसर ग्राम नेपालका प्रतिनिधि रञ्जना शर्माले सन् २०२३ मा मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको अवस्थामाथि अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। मनोरञ्जन क्षेत्रमा कामगर्ने महिला तथा पुरुषमध्ये धेरैले नियुक्ती पत्र नपाएको, शारिरीक र मानसिक शोषण खेप्नुपरेको, समयमा तलब नपाएको, सम्मानजनक व्यवहार नभएजस्ता समस्या अनुसन्धानले देखाएको शर्माले उल्लेख गर्नुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link