नेपालको किताब पसलमा जापानी विदेशमन्त्री

नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको स्वदेश फिर्ता हुनुभएको छ। जापानको विदेशमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण रहेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गर्नुभयो।

नेपालको एकदिने भ्रमणमा आउनुभएका जापानी परराष्ट्रमन्त्री खामिखावा योको २३  वैशाखमा काठमाडौँ जमलस्थित मण्डला बुक प्वाइन्टमा जानुभई पुस्तक खरिद गर्नुभयो।

उहाँको पहिलो रोजाइमा बालबालिकासम्बन्धी पुस्तक परेको थियो। खासगरी नेपाली लेखककै पुस्तक उहाँ किन्न चाहनुभएको थियो। ‘गाई जात्रा’, ‘भतिजीहरू’, ‘बिस्केट जात्रा’, ‘विख्यात’, ‘घरपालुवा बिरालो’, ‘सेभेन फिस इनसाइड’, ‘जमन गुवाजु’ नामक बालबालिकासम्बन्धी चित्र पुस्तक जापानी परराष्ट्रमन्त्री योकोले खरिद गर्नुभएको  मण्डला बुक प्वाइन्टका प्रमुख माधवलाल महर्जनले जानकारी दिनुभयो।  जापानी परराष्ट्रमन्त्री योकाको रोजाइमा नेपाल पिक्चर लाइब्रेस पुस्तक ‘सार्वजनिक जीवनमा महिला’ नामक तस्बिर पुस्तक पनि परेको छ।

त्यस्तै, उहाँले महिला सशक्तीकरण, भू–राजनीति, नेपालको ‘ल्यान्डस्केप’सम्बन्धी पुस्तक खरिद गर्नुभएको थियो। पाँच मिनेट मात्रै मण्डलामा आएर उहाँले प्रत्यक्ष पुस्तक हेरी खरिद गर्नुभएको हो। मण्डला बुक प्वाइन्टका प्रमुख महर्जनले जापानी मन्त्री योकोलाई स्वागत गर्दै पुस्तकबारे सङ्क्षिप्त जानकारी दिनुभएको थियो। “मन्त्रीज्यूको अवलोकनले गर्दा नेपाली पाठक, शिक्षक, विद्यार्थी पुस्तक पढ्ने संस्कृतिप्रति प्रेरणा मिल्छ”, उहाँले भन्नुभयो, “यसभन्दा अघि पाकिस्तानका  तत्कालीन प्रधानमन्त्री बेनजिर भुट्टोले समेत मण्डलामा भ्रमण गुर्नभएको थियो।” उहाँले मन्त्रीलाई मण्डलाबाट केही पुस्तक उपहार दिनुभएको थियो।

राष्ट्रपतिसँग जापानी विदेशमन्त्री

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आउनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ।  शीतल निवासमा भएको सो शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गर्दै कार्बन उत्सर्जन गर्ने विकसित मुलुकहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणका सन्दर्भमा अत्यन्त गम्भीर भइदिन आग्रह गर्नुभएको राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो।

राष्ट्रपति पौडेलले एसियाका ज्योति गौतम बुद्धको सन्देश प्रवाहित भएदेखि नै नेपाल जापानबीच सांस्कृतिक सम्बन्ध रहिआएको उल्लेख गर्दै दुई देशबीच समस्यारहित सम्बन्ध रहेको र नेपालले सधैँ जापानको उच्च सद्भाव महसुस गरेको पनि बताउनुभएको थियो।

नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाल र जापानबीचको आर्थिक सहयोग र सहकार्यका क्षेत्रहरू थप विस्तार हुने विश्वास व्यक्त गर्नुभएको थियो।

हामीले जनस्तरको सम्बन्ध फराकिलो बनाउन प्राथमिकता दिनुपर्ने जनाउँदै उहाँले जापानसँगको धार्मिक–सांस्कृतिक समानता एवं नेपालको प्राकृतिक सुन्दरताका कारण नेपालमा थप जापानी पर्यटकहरू आउने विश्वास व्यक्त गर्नुभएको थियो।

सो अवसरमा जापानी विदेशमन्त्री योकोले जलवायु परिवर्तनको असरबारे जापान पनि चिन्तित रहेको उल्लेख गर्दै नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको बताउनुभएको थियो। उहाँले सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पुर्‍याउने लक्ष्य राखेको जनाउँदै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वैकल्पिक ऊर्जाको प्रयोगका निम्ति प्रविधिमा ठूलो क्रान्ति गर्न सबै मिलेर अगाडि बढाउने बताउनुभएको थियो। नेपालको विकास  र स्थिरता यो क्षेत्रकै लागि आवश्यक महसुस गरेर जापानले नेपालको विकासमा हरतरहको सहयोग गर्ने बताउनुभएको थियो।

प्रधानमन्त्रीसँग भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायत विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिनुभयो।

भेटमा प्रधानमन्त्री दाहालले नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले सहयोग पुर्‍याउँदै आएको र पछिल्लो समय नेपालको ठूला पूर्वाधार निर्माणमा पनि महत्वपूर्ण सहयोग गरेको बताउनुभयो। उहाँले नेपालको पूर्वाधार एवं आर्थिक–सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार व्यक्त गर्नुभयो।

“नेपाल–जापानबीच हुँदै आएको उच्चस्तरीय भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध अझ सबल हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आगामी दिनमा नेपाल र जापान दुवैतर्फबाट उच्चस्तरीय भ्रमण हुने मैले विश्वास लिएको छु।”

सो अवसरमा जापानी विदेशमन्त्री योकोले नेपाल–जापानबीच सम्बन्ध सदैव सौहार्द्रपूर्ण रहँदै आएको उल्लेख गर्दै दुई देशबीच रहिआएको समस्यारहित मित्रवत् सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो। उहाँले आर्थिक विकासमा नेपालले राखेका लक्ष्य पूरा गर्नका लागि जापान सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सो अवसरमा  परराष्ट्र सचिव सेवा लम्साल, जापानका लागि नेपालका राजदूत डा दुर्गाबहादुर सुवेदी, नेपालका लागि जापानी राजदूत किकुता युताका, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा सापकोटालगायत उच्च अधिकारीको सहभागिता थियो।

यसबीच उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटघाटवार्ता सम्पन्न भएको छ।

परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच २३  वैशाखमा मन्त्रालयमा भएको वार्तामा द्विपक्षीयसम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिनुभयो। भेटवार्तापछि सञ्चारकर्मी कुरा गर्दै उहाँले नेपाल र जापानबीचको द्विपक्षीयसम्बन्धलाई थप मजबुत बनाउने र आर्थिक सहयोगात्मक सम्बन्धलाई फराकिलो बनाउनेसम्बन्धमा छलफल भएको बताउनुभयो। “दुबै प्रतिनिधिमण्डलबीच विभिन्न अन्तर्राष्ट्रिय मामिलाका विषयमा पनि छलफल भयो”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो।

जापानी विदेशमन्त्री खामिखावाको औपचारिक सद्भाव भ्रमणभएकाले वार्तामा कुनै पनि विषयमा सम्झौता वा समझदारी नभएको उहाँले स्पष्ट पार्नुभयो।  विदेशमन्त्री खामिखावा उपप्रधानमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुग्नुभएको हो। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्नुभएको थियो।

जापानको विदेशमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो। भ्रमणका क्रममा उहाँले यसअघि काठमाडौँ दरबार क्षेत्रको अवलोकन गर्नुभएको थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link