बेदकोट (कञ्चनपुर) : पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा साना छाप्रा र छन् । छाप्रामा तर्बुजा (खर्बुजा) राखेर कोही ग्राहक कुरिरहेका छन्भने कोही बिक्रीमा व्यस्त छन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ पर्ने वनरा पुल वारिपारी तर्बुजा बेच्नेको भीड छ । महेन्द्र राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुहरु यहाँ रोकिएर तर्बुजा खरीद गर्ने गर्छन् ।
कृष्णपुर नगरपालिका–२ का रामकृष्ण चौधरीले गत चैतदेखि राजमार्ग छेउमा तर्बुजा बिक्री गर्न अस्थायी छाप्रो बनाएर पसल थाप्नुभएको हो । वनरा नदीको बगरमा तर्बुजा खेती गर्ने उहाँ बर्सेनि राजमार्गमा छाप्रो बनाएर तर्बुजा बिक्री गर्दै आउनुभएको छ ।
“बगरमा पाँच कठ्ठा र अन्यत्र दुई बिगाह जमिनमा तर्बुजा, काक्रा, फर्सी खेती गरेको छुँ । यसैबाट घरखर्च चलेको छ”, रामकृष्णले भन्नुभयो, “दैनिक रु तीन- चार हजारको बिक्री हुन्छ ।” उहाँका अनुसार चैत महिनादेखि जेठ अन्तिमसम्म राजमार्गमा पसल थापेर तर्बुजा बिक्री गर्ने गरिन्छ । हाल दैनिक १५-२० क्विन्टल तर्बुजा बिक्री भइरहेको छ । प्रतिकिलोग्राम रु ५० का दरले तर्बुजा बिक्री हुने गरेको छ ।
“गाडामा राखेर गाउँतिर डुलाएर पनि तरकारी बेचिन्छ । बुवाआमाले पनि खेतीमा सघाउनुभएको छ”, उहाँले भन्नुभयो, “यो सिजनमा राम्रो आम्दानी हुन्छ ।” वनरा शिविरका सालिकराम राना पनि अचेल राजमार्गमा तर्बुजा बिक्री गरिरहेका भेटिनुहुन्छ । उहाँले वनरा नदीको बगरमा सात कट्ठा क्षेत्रमा तर्बुजा खेती गर्नुभएको छ ।
“आफ्नो बारीमा तर्बुजा पाकेको छैन । अरुबाट रु ३० मा प्रतिकिलोग्राम किनेर रु ५० मा बेच्दैछौँ”, उहाँले भन्नुभयो, “केही दिनमा आफ्नै बारीको तर्बुजा तयार हुन्छ ।”वनरा पुल क्षेत्रमा तर्बुजा बेचेर जीविकोपार्जन गर्नेहरूमा अधिकांश मुक्तकमैया र आरक्ष पीडित छन् । “सुरुमा भारतीयहरूले बगरमा खेती गर्थे । उनीहरूबाटै हामीहरूले पनि बगरमा तरकारी खेती गर्न सिकेका हौँ”, सालिकराम भन्नुहुन्छ, “अहिले बगरमा भारतीय छैनन् ।”
माघदेखि बगरमा तर्बुजा खेतीका लागि तयारी थालिन्छ । चैत अन्तिम साता तयार भएपछि तर्बुजा बिक्रीका लागि बजार ल्याउने गरिन्छ । “अन्यत्र बिक्री गर्दा राम्रो मोल पाइँदैन । ढुवानी खर्च बच्ने हुनाले हरेक वर्ष राजमार्गमै तर्बुजा बेच्छौँ,” बासपति रानाले भन्नुभयो, “अरु बेला मजदुरी गरेर घरखर्च जुटाइन्छ ।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
