तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित माउण्टेन तनहुँ सामुदायिक बेल तथा फलफूल प्रशोधन उद्योग बन्द भएको छ । कच्चा पदार्थको अभावमा उक्त उद्योग विगत एक वर्षदेखि बन्द भएको हो ।
सामुदायिक वनमा बेलको अभाव भएपछि उद्योग सञ्चालन गर्न नसकिएको उद्योगका सञ्चालक विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बेल पाउन छाडियो, बेल नै नभएपछि उद्योग सञ्चालन गर्न सकिएन । एक वर्षदेखि उद्योग बन्द छ ।
सामुदायिक वनमा त्यसै खेर गइरहेको बेललाई सदुपयोग गर्दै उद्योग स्थापना गरी बेलको जुस उत्पादन गरेर बिक्री वितरण थालिएको थियो । श्रेष्ठका अनुसार अहिले व्यक्तिले नै सामुदायिक वनमा बेल रोपण गरेका छन् । उहाँले भन्नुभयो, “वनमा पहिला बेल त्यसै पाइन्थ्यो, अहिले बेल पाउन छाडेपछि हामी नै बेल खेतीमा लागेका छौँ ।
श्रेष्ठका अनुसार आगामी असोजदेखि उद्योग सञ्चालनको तयारी गरिएको छ । पुनः सञ्चालनसँगै अदुवाको जुस उत्पादन गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बेल पाउन थालेपछि फेरि जुस उत्पादन गरी बिक्री गर्नेछौँ । उद्योग सञ्चालनमा ल्याएसँगै अदुवाको जुस पनि उत्पादन गर्ने योजना बनाएका छौँ ।
म्याग्दे गाउँपालिका–१, २ र ३ मा रहेको छवटा सामुदायिक वनका उपभोक्ता मिलेर बेल जुस उद्योग स्थापना गरेपछि बेलबाट राम्रो आम्दानी हुन थालेको थियो । विसं २०७१ मा युएसएडको आर्थिक सहयोगमा केएर नेपाल, हरियो वन कार्यक्रममार्फत मेसिनरी औजार खरिदका लागि रु ११ लाख २८ हजार र छवटा सामुदायिक वनको रु चार लाख ६० हजारको संयुक्त लगानीमा उद्योग स्थापना भएको थियो ।
सिद्ध बतासन, उमाचोक, भिरपानी बच्र्याङ, पँधेरीखोला र पोर्सेली सामुदायिक वन समूहको सक्रियतामा उक्त उद्योग स्थापना गरिएको थियो । सुरुमा सामुदायिक उद्योगको रुपमा स्थापना गरिएको उद्योगको व्यवस्थापनका लागि छवटै सामुदायिक वनका प्रतिनिधि समेटिएको ११ सदस्यीय उद्योग व्यवस्थापन समिति बनाइएको थियो । उद्योगको प्रभावकारी सञ्चालनमा निजी क्षेत्रको भूमिका हुन सक्ने कुरालाई मध्यनजर गरी विसं २०७४ असोजदेखि यसको व्यवस्थापन सार्वजनिक निजी साझेदारीताको मोडलमा सञ्चालन गरिएको छ ।
छवटै सामुदायिक वन उपभोक्ता समूहको सामूहिक निर्णयबमोजिम सिद्ध बतासन सामुदायिक वनका सदस्यसमेत रहुनभएका विष्णुकुमार श्रेष्ठसँग सम्झौता गरी उद्योग सञ्चालनको जिम्मेवारी दिइएको थियो ।
उद्योग सञ्चालकले रु ३० प्रतिप्याक (१२ बेल स्क्वाएस बोतल) र रु १२ प्रतिप्याक (१२ अदुवा स्क्वाएस बोतल) का दरले उद्योगलाई उपलब्ध गराउनुपर्ने सम्झौता थियो । वनबाट सङ्कलित बेललाई सफा र ग्रेडिङ गरी कटरमा राखेर काट्ने, गुदी (भित्री फल) निकाल्ने र मिक्सचरमा पेलेर पल, बियाँ र छोक्रा छुटाएपछि, सेलाएको तातोपानीमा मिलाएर बेलको जुस तयार गर्ने गरिन्छ ।
एक गिलास पानीमा दुई बिर्को बेलको जुस राखेर दिनको दुई पटक सेवन गर्नाले उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, ग्यास्ट्रिक, कब्जियत, मधुमेह (चिनीरोग) का साथै पाचन शक्तिसमेत बढाउने चिकित्सक बताउँछन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
