कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ । एक बिघा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ ।
रानाको परिवारका सदस्यले दोदाकै बगरमा तरकारीखेती गर्दै आउनुभएको छ । बगरमा उत्पादित तरकारी बिक्री गरेर उहाँले घरखर्च जुटाउँदै आउनुभएको छ । “दोदाले सबै जमिन लग्यो । अहिले बगरमा खेती गर्छु । सुरुमा घरपरिवमारका लागि मात्र खेती गर्थेँ”, उहाँले भन्नुभयो, “आकर्षक आम्दानी हुनथालेपछि व्यावसायिक रूपमा तरकारीखेतीमा लाग्यौँ । सिजनमा रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको छ । ”उहाँका श्रीमान् गोरुगाडामा तरकारी राखेर बेच्न गाउँगाउँ डुल्ने गर्नुहुन्छ ।
दोदामा उर्लेर आउने बाढीले कैयौँ बिघा जमिन बगर बनाएर यहाँका स्थानीय विस्थापित हुनुपरेको छ । बर्सेनि कटान र डुबान समस्या झेल्ने तटीय क्षेत्रका स्थानीय गर्मीयाममा लहरेबाली लगाएर आम्दानी गर्ने गरेका छन् । डाँगाजाईँका ४८ वर्षीय मोलसिंह रानाले डेढ दशकअघिको दोदा नदीमा आएको बाढी बिर्सिनुभएको छैन । त्यस बेला बाढीले उहाँको करिब तीन बिघा जमिन बगायो ।
दोदाको कटान अझै रोकिएको छैन । प्रत्येक वर्ष आउने बाढीले जमिन कटान गरिरहेको छ । मोलसिंह भन्नुहुन्छ, “बर्खामा दोदाले दिने दुःख भुलेर यो सिजनमा बगरमा खेती गरेर घरखर्च धानिएको छ ।”
डाँगाजाईँका किसान नन्दराम रानाले दोदाको बगरमा तरकारीखेती गर्न थालेको दशक बितिसक्योे । विसं २०६४ मा आएको बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि त्यहीँ बगरमा तरकारीखेती गर्दै आएको उहाँ बताउनुहुन्छ । “बर्खामा दोदाको बाढीले सास्ती गर्छ । उर्लेर आउने बाढीले कुन बेला के हुन्छ डराइडराइ बस्नुपर्छ”, उहाँले भन्नुभयो, “बर्खामा बाढी आउँदा कोही नदी तर्न सक्दैन । उठीबास लगाएको दोदामै दुःख बिर्सिएर जीविकोपार्जनको आशमा खेती गरेका छौँ ।”
दोदा नदीमा करिब पाँच सयभन्दा बढी परिवारले बगरखेती गरेका छन् । बगरमा तरभुजा, काँक्रा, लौका, फर्सीलगायत खेती गरिएको छ । माघदेखि बगरमा खेतीका लागि तयारी गर्ने गरिन्छ । चैत अन्तिम साता बाली तयार भएपछि बिक्री गर्ने गरिएको घुम्नी रानाले बताउनुभयो । “वर्षौँदेखि बगरमा खेती गर्दै आएका छौँ । माघदेखि जेठसम्म बगरमा खेती गर्छौँ, अरु समयमा मजदुरी”, उहाँले भन्नुभयो, “जङ्गली जनावर र चोरीबाट उत्पादन जोगाउन बगरमा बनाइएको छाप्रोमा बास बस्ने गरेका छौँ ।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
