पशुपतिनाथ मन्दिरको भेटी चोरी गरेको आरोपमा पक्राउ परेका कर्मचारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नाम पोलेका छन् । पक्राउ परेका मध्येका अनिल परियारले सुवेदीकै इसारामा आफूले भेटी चोरी गरेको बयान दिएका हुन् ।
पशुपति भेटी चोरीरहेको अवस्थामा पशुपति क्षेत्र विकास कोषका ७ जना कर्मचारीसहित ८ जनालाई प्रहरीले सोमबार रंगेहात पक्राउ गरेको थियो ।
पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको खुलेको सूचना प्रहरीलाई पुगेको थियो । कोषको सोही सूचनाका आधारमा प्रहरी वृत्त गौशालाको टोलीले ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली, कुमार दमाइ र पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको रकम संकलन केन्द्रका एक कर्मचारी छन् ।
पशुपतिनाथ मन्दिरबाट दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म भेटी संकलन हुन्छ । कोषका प्रवक्ता रेवतिरमण अधिकारीका अनुसार संकलित भेटी नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको बत्तीसपुतली शाखाका कर्मचारीले मन्दिर परिसरमै जम्मा गर्ने गरेका थिए ।
कोषले मन्दिर भित्रबाटै भेटी चोरी हुने जानकारी आएपछि सीसीटीभी निगरानीमा राखिएको थियो । प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तहरूले ज्याकेटमा लुकाएर रकम लाने गरेको सीसीटीभी फुटेजमा देखिएको छ ।
कोषका कोषाध्यक्ष सुवेदीले आर्थिक नियमावलीविपरीत बाजा बजाउने कर्मचारीलाई भेटी संकलनमा खटाएको पाइएको छ । गौशला वृत्तका प्रमुख डीएसपी केशवराज थेबेले सोधपुछका क्रममा परियारले कोषाध्यक्ष सुवेदीको निर्देशनमा भेटी चोरी गरेको बयान दिए पनि प्रमाण नहुँदा सोधपुछकै क्रममा रहेको बताए ।
डीएसपी थेवेले पशुपति क्षेत्र विकास कोषका ७ जना कर्मचारीसहित ८ जनालाई रंगेहात पक्राउ गरेको पुष्टी गर्दै यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- न्युयोर्कमा हेलिकप्टर दुर्घटना हुँदा ६ जना मृत्यु
- ट्रम्पको कडा करप्रति चीनको प्रतिक्रिया- ‘हामी चुप लागेर बस्दैनौं’
- मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
- पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग
- महाकालीमा बाँध निर्माण नहुँदा जोखिममा बस्ती
- आजबाट च्याम्पियन्स लिगको क्वार्टरफाइनल चरण, रोचक भिडन्त
- ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै
- विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, आरोपीले बोरामा हालेर गाडेका थिए शव
- ‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’
- जीवनजल लिन घण्टौँ पैदलयात्रा गर्नुपर्ने अवस्था अन्त्य
