द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१९
के द्रौपदीलाई महान युद्ध महाभारतको परिणाम पहिले नै थाहा थियो ? थियो या थिएन ? ठ्याक्कै त कतै लेखिएको छैन तर महाभारतको सम्पूर्ण अध्ययन र प्रचलित कथाले र व्यासको साहित्यिक कलाले केचाहिँ भन्न सकिन्छ भने द्रौपदीलाई भावी दिनमा हुने परिणामका बारेमा थाहा थियो। उनलाई थाहा थियो, उनकै समेत कारणले कुरुवंशीहरूका बिचमा भयानक युद्ध हुनेछ। द्रौपदी विश्व सुन्दरी हुनुले मात्र उनको महत्व बढेको होइन कि उनको विवाहका लागि राखिएको सर्तले पनि राजा महाराजा रजौटाहरूको रणकौशलता देखिनु पर्ने थियो। द्रौपदीलाई चाहनेहरूमध्ये धेरै स्वयंवरमा आएका थिए। आउने सबैलाई सर्त पूरा गरेर द्रौपदी पाइएला भन्ने थिएन तर आफ्नो सैन्यबलका आधारमा भए पनि जितेर लैजानेमा स्वयं दुर्योधन पनि थियो।
त्यसबेलाको कुरुराज्य भनेको चक्रवर्ती महाराज धृतराष्ट्रको एकछत्र राज्य थियो। स्वयंवरताकाको समय नै पाण्डवहरू वारणावर्तमा लाक्षागृहमा डढेकोले, त्यो समय उनीहरूको बरखीको थियो। कुरुराज्यले आफ्ना युवराज युधिष्ठिर र महारानी कुन्तीसहित पाण्डु कुमारहरूको शोक मनाएको बेला थियो। त्यसो त हस्तिनापुर दरबारमा शोकमग्न कोही पनि थिएनन् र पनि मुलुकमा घोषित युवराजको लाक्षागृहमा आगो लागेर सपरिवार जलेको अवस्था थियो। युवराज युधिष्ठिर र उनका भाइहरूप्रति कुरुराज्यमा आदर थियो, सम्मान थियो र भावी राजाको रुपमा प्रजाहरूले मानेका थिए। पाण्डुको राज्यलाई सम्झनेहरूका लागि युधिष्ठिर त्यस्तै आदर्श राजाको रुपमा सम्भावना भएका मानिएका थिए। हस्तिनापुरमा महाराज धृतराष्ट्र र उनका जेठा छोरा दुर्योधनको छाँयाले उनका तर्फबाट राज्य खासै सञ्चालित थिएन भन्ने कुरा सबैले बुझेका थिए। ज्येष्ठ कुरुको भागमा भावी राजाको पदवी पर्ने भएकाले र पूर्व महाराजका वारिसका रुपमा रहेका युधिष्ठिरलाई युवराज घोषणा गर्नु पर्ने बाध्यतामा हस्तिनापुर थियो। त्यसैले युवराज घोषित गरिएका थिए।
युवराज घोषित हुँदा पनि जब राज्य सञ्चालनको काम पाएका थिएनन्, त्यही समयमा एउटा सकारात्मक देखिने नाटक मञ्चन गरियो। स्वतन्त्ररुपमा राज्य सञ्चालनका लागि युवराजलाई जनतासँग प्रत्यक्ष सम्पर्क राख्ने भनेर वारणावर्तमा पठाउने निधो भयो। भावी राजाका लागि राज्य सञ्चालनको व्यावहारिक प्रयोग गर्ने। जनतासँग सिधा सम्पर्कमा रहेर राज्य सञ्चालन सिक्ने। कति राम्रो धारणा थियो हस्तिनापुर नरेश धृतराष्ट्रको। भित्री भारदारहरूको। दरबारका भारदारहरूमध्ये मुख्य व्यक्तिको रुपमा पितामह, गुरु द्रोणाचार्य र कुल गुरु कृपाचार्य थिए तर खासमा महाराज धृतराष्ट्रका भित्री भारदारका रुपमा उनका पुत्रहरू दुर्योधन, दुःशासन, जेठान शकुनि र दुर्योधनको अनन्य साथी कर्ण थिए। कर्ण सामान्यतया अपराधी षडयन्त्रमा चित्त बुझाउने त होइन तर दुर्योधनको गुणका बदला विवावद गर्नेतर्फ नलाग्ने स्वभाव तयार गरेको पाइन्थ्यो।
महाराज धृतराष्ट्रको स्वभाव बनेको थियो, विषको घडामाथि दूधको एकतह राखेर विषयको घडालाई दूधको घडाको रुपमा देखाउने। भन्न त भनियो, युवराजको भावी राजा हुने प्रशिक्षणका लागि स्वतन्त्ररुपमा जनतासँगको प्रत्यक्ष सम्बन्ध राख्ने समय। तर राजदरबार यस्तो तयार भएको थियो कि लाक्षागृह। लाहाको घर। सामान्यरुपमा अलिकति मात्र पनि आगोको सम्पर्कले लाहाको घर जलेर सखाप हुन्थ्यो। हस्तिनापुर दरबारले आफ्नो अत्यन्त प्रियपात्र पुरोचनलाई युवराज र परिवारको हेरचाहका लागि खटाएको थियो। अर्थात् समय मिल्ने बित्तिकै लाक्षागृहमा आगो लगाउने र कुन्तीसहित पाण्डवहरूलाई जलाएर निमिट्यान्न पार्ने। देखाउन हस्तिनापुरले युवराजको आदर गरेको देखिन्थ्यो तर थियो त्यो षडयन्त्र। जलाएर मार्ने षडयन्त्र। त्यसो त वारणावर्तमा कुन्तीसहित पाण्डवहरूका लागि एउटा ऐसआरामका लागि अभूतपूर्व, आरामदायी महल बनाइएको थियो। थियो त लाक्षागृह। यो कुरा थाहा पाउने मात्र विदुर थिए। महामन्त्री विदुरका लागि ठुलो समस्या परेको थियो कसरी यो कुरा युवराजसमक्ष थाहा दिने ? विदुर महामन्त्री थिए हस्तिनापुरका र उनले महाराजको लागि आवश्यक मन्त्रणा दिनका लागि हस्तिनापुर छोड्नै पाइँदैनथ्यो। भीष्म पितामह राज्यका दैनिक काममा खासै रुचि नराख्ने र दुर्योधन तथा शकुनिहरूको बोलबाला भएकाले राज्यका प्रति निरपेक्ष भाव राखेको पाइन्थ्यो। भीष्म पितामह, गुरु द्रोणाचार्य र कुलगुरु कृपाचार्यहरू दुर्योधनको इच्छा विपरीत केही नबोल्ने प्रणा लिएजस्तो देखिन्थ्यो। कारण थियो, महाराजको इच्छा बमोजिम दुर्योधनादिले काम गर्थे कि दुर्योधनादिको इच्छाबमोजिम महाराज धृतराष्ट्र काम गर्थे, छुट्याउन गाह्रो हुँदै गएको थियो। महामन्त्री विदुर भने जे देख्थे, त्यही भन्थे। त्यसैले महामन्त्री विदुर हस्तिनापुर दरबारका भित्रियाहरूका लागि आँखाका कसिङ्गर जस्तै भएका थिए।
काम तर औपचारिकरुपमा सम्पन्न हुँदै थियो। युवराजका लागि भावी राजाले गर्ने कामका सिक्नका लागि यो महाराज हुने प्रशिक्षण मानिन्थ्यो। त्यसको नेतृत्व लिनु पर्ने थियो भारत राज्यका संरक्षक भीष्म पितामहले तर खटन पटन स्वयं महाराजले राजकीय आदेशबमोजिम प्रत्यक्ष गर्दै थिए महामन्त्री विदुरमार्फत्।महामन्त्री विदुरले षडयन्त्रको गन्ध थाहा पाएका थिए र पनि प्रत्यक्षरुपमा युधिष्ठिरलाई केही भन्न भ्याएका थिएनन्, कारण थियो महाराजका विश्वस्त गुप्तचरहरूले विदुरको निगरानी गरिरहेका हुन्थे। त्यसबिचमा विदुर र युधिष्ठिर अनि उनकी माता कुन्ती, अन्य भाइहरूसँग भेटघाट हुन सकेको थिएन। विदुरलाई लाक्षागृहको तयारी पनि थाहा थियो, त्यो लाक्षागृह किन बनाएको भन्ने पनि थाहा थियो र कसरी पाण्डवहरूलाई त्यो भयङ्कर षडयन्त्रबाट बचाउने भन्ने पनि लागिरहेको थियो। युधिष्ठिरलाई कुनै शङ्का उपशङ्का नहोस्, नलागोस् भनेर सबै सन्देश दिने कामचाहिँ महामन्त्री विदुरमार्फत् नै हुने गरेको थियो। औपचारिक भेटघाट र सन्देश दिने काम महामन्त्री विदुरमार्फत् भए पनि विदुरसँग सधैँ गुप्तचर रहन्थे। विदुरलाई कुनै अंगरक्षकको आवश्यकता थिएन तर वारणावर्त जाने खुसीयालीका लागि, बारम्बार महाराजका सन्देशहरू दिनु पर्ने भएकाले विदुरलाई अंगरक्षक तथा सहयोगीको आवश्यकता छ भने गुप्तचरहरूको संख्या उनका वरिपरि थपिएको थियो। क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- शकुनिको बदला
- शकुनिको कूटनीतिक क्षमता
- वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
- हिडिम्बाको मोह
- द्रौपदीलाई आफ्नै रूपको चिन्ता
- ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार
- द्रौपदीको छल
- शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन