द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—२०

हरिविनोद अधिकारी
लाक्षागृहको तयारी एउटा दीर्घकालीन षडयन्त्रको आधारमा भएको थियो। बनी बनाउ तयारी थियो। जब महाराज धृतराष्ट्रलाई पाण्डुपुत्र युधिष्ठिरलाई पाण्डुको राज्य जस्ताको तस्तै फिर्ता गर्नुपर्ने सामाजिक, राजनीतिक तथा नैतिक दबाब पर्न थाल्यो, महाराजकारूपमा पाण्डुको सिंहासन रुँघेर बसेका भनेर अपमानित भइरहनु पर्ने अवस्था फेरि आउन थालेको कुरा धृतराष्ट्र र उनका सय भाइ छोराहरूलाई पर्न थालेको थियो। भन्न त दुर्योधनसहितका सम्पूर्ण दाजुभाइहरूले यी वनमा जन्मेका कुमारहरू पाण्डुका सन्तान हुन् कि होइनन् भन्नेमा शङ्का उपशङ्का गरिएको हो र कुन्तीमात्र कुमारहरूलाई लिएर फर्केकीले पाण्डु र माद्रीको अवस्थामा बारेमा सोधिएको पनि हो जबकि हस्तिनापुरका गुप्तचरहरूलाई सबै कुरा थाहा थियो। यतिसम्म पनि थाहा थियो कि कुन्तीका दुई दुईओटा छोरा जन्मँदा पनि गान्धारीका पेटमा रहेको गर्भ बैडिएको थिएन।
एउटा राज्यको उत्तराधिकारी को हुने भन्ने प्रतिस्पर्धामा पाण्डुले जितेको अवस्था थियो किनभने गान्धारीको गर्भ बसेको भन्दा पछि कुन्तीको गर्भ बसेको तर कुन्तीले दुई दुईओटा छोराहरू पाउँदा पनि गान्धारीबाट सन्तान नजन्मनु तर गर्भमा नै भ्रुण परिपक्व हुँदै जाँदा पनि बच्चा नजन्मनु हस्तिनापुर दरबारमा ठुलो चिन्ताको विषय बनेको थियो। कारण थियो, पाण्डुका सन्तान जन्मेर पनि हुर्कन थालेका थिए जबकि धृतराष्ट्रको गर्भस्थ शिशु जन्मने सुरसार नै गर्दैन। भगवान शिवको वरदान खेर जाने त कुरै आउँदैनथ्यो तर हस्तिनापुरमा राजाको पदमा कायम मुकायम राजाको रूपमा रहेका धृतराष्ट्रको भने सन्तान जन्मने अवस्था नै देखिँदैनथ्यो। आखिर वैदिक रीत अनुसार भारतवर्षको राजतिलक धृतराष्ट्रभन्दा उमेरमा सानो भाइ पाण्डुलाई लगाइएको थियो जबकि आफू राजा बनाइनु पर्ने भन्ने भित्री गुनासो लिएर धृतराष्ट्र जीवित थिए। उनमा ६० हजार घोडाको बलभन्दा अझ बढी तागत थियो भनिन्थ्यो। तर दृष्टिविहीन भएकाले उनको भागमा पर्ने राज्यारोहण भाइ पाण्डुको पक्षमा निर्णय गरिएको थियो। त्यसो हुनुमा राजमाता सत्यवती, राजकुमार देवब्रत जसको अभिभाकत्वमा भारत वर्ष रहेको मानिन्थ्यो। यससँगै राजमाताको शन्तनु महाराजसँग विवाह हुनुभन्दा पहिले महर्षि पराशरबाट जन्मेका कृष्ण वेदव्यासको आदेश पनि सँगै घुलनशीलरुपमा प्रयोगमा थियो। अर्थात् चक्रवर्ती महाराजको उपस्थिति थिएन व्यक्तिकोरूपमा तर संस्थागतरुपमा भारतवर्ष चाहिँ थियो आफ्नो गर्बिलो इतिहास बोकेर हस्तिनापुरमा।
गान्धार देशका महाराज सुबलकी पुत्री गान्धारीलाई भगवान शिवबाट १०० पुत्र प्राप्तिको वरदान छ भन्ने समाचार हस्तिनापुरका गुप्तचरहरूबाट भीष्म पितामहले सुनेका थिए। पुत्रहरूको कमीले राज्य गर्ने राजकुमारहरूको कमी रहेको भारत वर्षमा एउटै कन्याबाट १०० पुत्रहरू हुन सक्ने वरदान पाएको सुन्दा हस्तिनापुरका अभिभावक देवब्रतलाई एउटा लोभ जन्मेको थियो, विवाहको उमेर पुगेर पनि विवाह हुन नसकेका दृष्टिविहीन राजकुमार धृतराष्ट्रको विवाह यदि ती सुवलकन्यासँग गर्न पाए राजकुमारहरूको संख्यामा बढोत्तरी हुने बुझेर गान्धार राज्यमाथि दबाब दिइयो, ती १०० पुत्र पाउने वरदान पाएकी कन्या हस्तिनापुरका ज्येष्ठ राजकुमार धृतराष्ट्रलाई उपहारकारूपमा गान्धारले तत्काल उपलब्ध गराओस्। नभन्दै धृतराष्ट्रको विवाह आवश्यक थियो भाइभन्दा पहिले विवाह हुनु जो आवश्यक थियो। अर्थात् पाण्डुको विवाहका लागि पनि धृतराष्ट्रको विवाह अपरिहार्य थियो एकातिर भने अर्कोतिर भोलिको हस्तिनापुरका लागि धेरै कुमारहरूको जरुरत पनि पूरा गर्नका लागि सुबल कन्याको आवश्यकता परेको पनि हो। अनि धृतराष्ट्रको विवाह सम्पन्न गरेर पाण्डुको विवाह पनि गर्नु थियो। राज्य त पाण्डुले सञ्चालन गर्न थालिसकेका थिए। धृतराष्ट्र अत्यन्त सचेत थिए आफ्नो पक्षमा न त राजमाता सत्यवती, न त अभिभावककोरूपमा परमाधिपति देवब्रत, न त व्यास। कोही पनि थिएनन् धृतराष्ट्र नै ज्येष्ठ कुरु हुन् उनले नै राज्यको अधिकार पाउने छन् भन्ने।धृतराष्ट्रकी माता अम्बिका त राजमाताको छायामा यसरी गुडुल्किएकी थिइन् कि जस्तो गरुडको छायामा सर्प। धृतराष्ट्र आफैँमा सोच्थे, मेरो के दोष थियो र दृष्टिविहीन हुनुमा ? दोष त माताको थियो जसले ऋषि जेठाजुको अनुहार हेर्न नसकेर आँखा चिम्लेकी थिइन्। दोष ती ऋषिको पनि थियो, आफू किन त्यति डरलाग्दो स्वरुपमा बुहारीको कोठामा आएका ? अनि दोष सम्पूर्ण कुरु वंशको हुनुपथ्र्यो जसले उत्तराधिकारीको व्यवस्था नै नगरी राज्यको सीमामात्र बढाउँदै थिए।
अनि सुबल महाराजले हस्तिनापुरको डरले आफ्नी सुनयना छोरी गान्धारी उपहारको रूपमा धृतराष्ट्रलाई समर्पण गरेका थिए। बहिनीको बाध्यकारी समर्पणको झोकमा युवराज शकुनिले भने जसरी पनि कुरुवंशसँग प्रतिशोध लिने विचारले आफ्नो राज्य छोडेर हस्तिनापुरको बास गर्ने निधो गरे। क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- र अन्त्यमा, महाभारतः तीन कृष्ण, एक कृष्णा र अनुपम महाकाव्य
- अन्त्यमा कहाँ समाहित भइन द्रौपदी?
- कुरुवंश विनाशकः शकुनि
- कुन्तीको सन्देश— युद्धको विकल्प छैन
- प्रजातन्त्र संस्कारको रुपमा विकसित हुनुपर्छ
- युद्धपीडित आमाहरू
- संसद्: जनअपेक्षा र संसदीय दायित्व
- अश्वत्थामाको प्रतिशोध
- श्राप र वरदानबाट किचिएकाहरू
- कर्णका सारथि किन बने महाराज शल्य?
