द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—२१
सत्तामोहको स्वरुप कति कुरुप हुँदो रहेछ भने त्यसले कसैलाई पनि बाँकी राख्दो रहेनछ। सत्ताको साझेदारी आफ्नैमा सीमित हुन्छ र आफ्नैलाई भौतिकरुपमा सफाया पारेपछि मात्र जसरी पनि सत्ताको साँचो आफ्नो हातमा पार्ने गरिँदो रहेछ। हामीले थाहा पाए देखिको इतिहासले पनि देखाएको प्रभाव र प्रमाण त्यही रहेछ। आजको इतिहासमा मात्र त्यो भएको देखेका छौँ र त्यसलाई आजको राजनीतिक विकृतिको रुपमा अथ्र्याएका छौँ तर जबदेखि मानव इतिहासमा नेतृत्वको अवधारणा पलायो र जसरी पनि आफ्नो समूह र अर्को समूहमाथि आधिपत्य कायम गर्ने लोभ पलाउन थाल्यो, त्यही बेलादेखि असहिष्णुता बढेको अनुभूत गर्न सकिन्छ। जङ्गलमा पशुहरुको राज्यमा शक्तिवानले कमजोरलाई जसरी पनि समाप्त पार्ने हुनाले त्यस्तो असभ्य र असहिष्णु राज्य प्रणालीलाई, अराजक तरिकालाई जङ्गली राज भनिने गरेको हो। आधुनिक राजनीतिमा त्यसको पछिल्लो संस्करण जहाँ पनि देखिएको हो। त्यस्तो देखिएको मात्र हो। तर शान्तिपूर्ण तरिकाले, सहज तरिकाले पनि सत्ता हस्तान्तरण हुनसक्छ भन्ने सहिष्णु राजनीति पनि आविष्कार गरिएको छ राजनीतिक फाँटमा, त्यस्तै गर्ने नीति तयार गरिएको हो जसलाई प्रजातान्त्रिक तरिका मानिन्छ। कुरुवंशमा झाङ्गिएको विवाद र विषादले पाण्डुको राज्यलाई उनको अनुपस्थितिमा जिम्मा लिएका धृतराष्ट्र र उनमा सन्तानले राज्य गर्न अब कसैलाई पनि नदिने सिद्धान्तको कार्यान्वयनका लागि नै पाण्डुपुत्रहरुलाई राज्यको कुनै पनि अङ्गमा सक्रिय हुन नदिने षडयन्त्रस्वरुप पाण्डुकी रानी कुन्ती र उनका सन्तानलाई तर्कपूर्ण तरिकाले समाप्त पार्ने नयाँ तरिकाको खोजी गर्दै रहँदा लाक्षागृहको तयारी र त्यहाँ बसेर महारानी कुन्ती र पाण्डुपुत्र पाँचैजनालाई सत्ता सञ्चालनको जिम्मा दिनका लागि राज्य सञ्चालनको तयारीका लागि भव्य दरबारको निर्माण गर्ने नीति अनुसार त्यस्तो तर्कपूर्ण कुतर्कको जालो बिछ्याइयो कि थाहा पाउँदा पाउँदै पनि युवराज युधिष्ठिरले बारणावर्त जान्न भन्न सक्ने अवस्था नै रहेन। तर महामन्त्री विदुरले कूट भाषामा लाक्षागृहको जानकारी दिएका थिए, त्यसबाट कसरी बच्न सकिन्छ भनेर पनि गुह्य नीति सिकाएका थिए।
महामन्त्री विदुरले सबैका अघिल्तिर नै युधिष्ठिरलाई कूटभाषाको प्रयोग गर्दै आशीर्वाद दिने निहुँमा, विदाइ गर्ने निहुँमा भनेका कुरा महारानी कुन्तीले समेत बुझेकी थिइनन्। अरुले मात्र युधिष्ठिरको पछि पछि जाने धृतराष्ट्रको आदेशमात्र बुझेका थिए। युवराज युधिष्ठिर खुसी देखिन्थे किनभने उनलाई जुनसुकै चुनौतीको पनि सामना गर्ने आदत जो परेको थियो। उनी आधाराज्यको अवधारणा जस्तै गरी वारणावर्त हिँडे विभिन्न प्रकारका सैनिकहरुको सहयोगमा। पैदल सैनिक, हात्ती तथा घोडचढी सैनिक तथा आवश्यक सामान ढुवानी गर्ने कामदारसहितको ठुलो लस्कर लिएर। अनिश्चित भविष्य र अनिर्णित गन्तव्यको यात्रामा निस्किएको कुरा युधिष्ठिरले मात्र अनुभूत गरेका थिए। माता कुन्ती र अरु चारभाइहरुमा युधिष्ठिरप्रतिको आस्था र विश्वासले पछि पछि जाने गराएको थियो।
त्यसो त कुन्तीमा यी सबै व्यवहारको पछिल्तिर के रहस्य हुनसक्छ भन्ने खुलदुली पक्कै थियो तर लाक्षागृहको नै बास हुने कुरामा कुनै शङ्का थिएन। तर हिँड्ने बेलामा महामन्त्री तथा कान्छा देवर विदुरले के कूट भाषामा भनेका हुन् भन्ने कुराचाहिँ युवराजसँग सोध्नु पर्ने थियो र त्यो खुलदुली पक्कै महारानी कुन्तीमा भित्रभित्रै पाकेको थियो। जब शयन कक्षमा युधिष्ठिर माताको पाउ दबाउन र सुत्नुभन्दा पहिलेको साष्टाङ्ग दण्डवत गर्नका लागि मातासमक्ष एकान्तमा आए, अनि कुन्तीले आफ्नो जिज्ञासा देखाइन् र अनि युधिष्ठिरले भावी दिनका चुनौतीहरु सविस्तार बताए र भने —माता, यो प्रतिशोधको विदाइ हो र हामी लाहाको घरमा बस्नका लागि जाँदैछौँ जसले हाम्रो भौतिक अवसान गराउने र भवितव्यका रुपमा हाम्रो अन्त्य गराउने काममा दुर्योधनको अति विश्वासिलो अनुचर पुरोचनलाई खटाइएको छ। यसो हेर्दा पुरोचन हामी र हस्तिनापुरको सम्बन्ध सेतु बनाउने राजदूतको रुपमा देखिने छ तर ऊ कुनै पनि बेला, हामीले सतर्कता नअपनाएको बेला पारेर लाक्षागृहमा आगो लगाउने छ र हामीलाई खरानी बनाएर हस्तिनापुरको जागिर सुरक्षित गराउने छ। यसबारेमा काका विदुरले जेजे भन्नु भएको छ, ती कुराहरु म बिस्तारै भन्नेछु र कसरी हामी बचेर भोलिका लागि शक्ति सञ्चय गर्ने भन्ने रणनीतिका बारेमा माताजीसँग सल्लाह र निर्देशन लिनेछु। यसैबिचमा काकाबाट पनि गुप्तचरमार्फत् हस्तिनापुरको ताजा षडयन्त्र र विकासक्रमको जानकारी पाइरहने छौँ।
महाभारतमा एउटै शासक परिवारले सामाजिक परिवेशको दुईओटा विम्ब देखाएको पाइन्छ। यो समृद्धिको बेलामा समृद्धिलाई, सांस्कृतिक विकासको, वैज्ञानिक विकासको प्रतिफल कसरी आफ्नो पक्षमा प्रयुक्त गर्ने भन्नेमा विवाद मात्र रहेन, आफ्नो पक्षमा पार्ने काममा भौतिकरुपमा नै समाप्त पार्ने काम प्रतीकात्मक रुपमा भएको देखाइएको पाइन्छ। कुरुवंशीहरुको पछिल्लो पुस्ता यति असहिष्णु देखियो कि त्यसको पहिलो घटना नै लाक्षागृहको घटनाले प्रष्ट पारेको हो। एकैछिनमा लाक्षागृहमा पूर्व शासक पाण्डुका सन्तानसहित रानी कुन्तीको सफाया गर्ने नियतलाई महाराज धृतराष्ट्रको भित्री कुण्ठाको उपजका रुपमा मानिन्थ्यो। हस्तिनापुरको भित्री समूहले जहिले पनि एउटै लक्ष्य राखेको थियो, भारतवर्षको निरापद रजाइँ गर्ने। त्यसमा भीष्म पितामह, गुरु द्रोण, गुरु कृपाचार्य र महारानी गान्धारी पनि गलत कामको पक्षमा देखिँदैन थिए। महामन्त्री विदुर त दरबारको भित्रियाहरुको आँखाको कसिंगर बनेका थिए। यदि महामन्त्री वेदव्यासबाट संरक्षित नहुँदा हुन् र राजाका लागि भाइको नातामा नहुँदा हुन् त तिनलाई शकुनि, दुर्योधन, दुःशासन आदिले देश निकाला गरिसक्थे होलान्। स्वयं महाराज धृतराष्ट्र पनि विदुरलाई मन त पराउँदैन थिए तर पनि बाध्यता थियो, विदुरका नीतिगत कुराहरु सुन्नै पर्ने। नत्र वेदव्यासको खप्की खानु पथ्र्यो। वेदव्यासका लागि विदुर, युधिष्ठिर अति प्यारा थिए र बारम्बार हस्तिनापुरमा देखिने अराजकताप्रति भीष्म पितामहलाई सतर्क गराउँथे। तर उनलाई के हुने हो सबै ज्ञात थियो, त्यसैले विदुरले झट्ट कुरा बुझेर परिवारलाई एकताबद्ध गराउने काममा लागेको देखिन्थ्यो। क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- शकुनिको कूटनीतिक क्षमता
- वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
- हिडिम्बाको मोह
- द्रौपदीलाई आफ्नै रूपको चिन्ता
- ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार
- द्रौपदीको छल
- शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन
- किन आयो शिखण्डीमा मर्ने चाहना?