म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर श्रीषले रहरमा सुरु गरेको बाख्रापालन व्यावसायिक बनेपछि अगुवा किसानको पहिचान बनाउनुभएको छ। १३ वर्षअघि खाडी मुलुकको वैदेशिक रोजगारलाई छाडेर मारेर उहाँले स्थानीय जातका बाख्रापालन सुरु गर्नुभएको थियो। जीविकोपार्जन र स्वरोजगार बन्ने उद्देश्यले सानो लगानीमा सुरु गरेको बाख्रापालनलाई व्यावसायिक बनाउनुभएका उहाँले अहिले उन्नत जातका बोयर बाख्राको स्रोत केन्द्र स्थापना गर्नुभएको छ। व्यावसायी श्रीषले सञ्चालन गर्नुभएको श्रीष पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्ममा विगत पाँच वर्षदेखि शुद्ध बोयर जातका बाख्रापालन हुँदै आएको छ। उहाँले बोयर बाख्रा भने ९ वर्षदेखिपालन गर्न सुरु गर्नुभएको थियो। उहाँद्वारा सञ्चालित फार्मलाई राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराले बाह्य स्रोत केन्द्को रुपमा समावेश गरेको छ।
लामो समयसम्म मासु उपभोगका लागि बाख्रापालन गरेको र पछिल्लो समय फार्मलाई बीउका लागि शुद्ध बोयर बाख्र्रा उत्पादन केन्द्रको रुपमा विकास गरेको फार्मका सञ्चालक श्रीषले बताउनुभयो। श्रीषको फार्ममा अहिले ४५ वटा शुद्ध बोयर बाख्रा छन्। फार्ममा तीन वटा ब्याडे बोका छन्। फार्ममा रहेका २० वटा माउ बाख्राले पाठापाठी जन्माउँछन्। फार्मबाट वार्षिक रुपमा ५० वटा शुद्ध बोयर बाख्रा र बोका बीउको लागि बिक्री हुँदै आएको श्रीषले बताउनुभयो।
“यहाँबाट देशका विभिन्न ५५ जिल्लामा बीउको रुपमा बाख्रा लगिएको छ, वार्षिक रुपमा १७ लाख बराबरको बोयर बाख्रा बिक्री गर्दै आएको छु’’ श्रीषले भन्नुभयो। व्यवस्थित र व्यावसायिक रुपमा स्थापित यो बाख्रा फार्ममा देशका विभिन्न ठाउँबाट नयाँ किसान अध्यायन अवलोकनका लागि समेत आउने गर्छन्।बाख्रापालनको लागि श्रीषले ६० रोपनी जग्गामा घाँसका बिरुवा रोप्नुभएको छ।
केही वर्ष अघिसम्म वार्षिक रुपमा एक करोड बढीको बोयर बिक्री गर्नुभएका श्रीषले पछिल्लो समय स्वदेशमा युवाहरूको अभाव र विदेश पलायन हुने क्रमले बाख्रापालनतर्फ आकर्षण घटेको कारण आफूले फार्ममा बोयर बाख्राको सङ्ख्या बढाउन समस्या भएको बताउनुभयो। “ बाख्रापालनमा लगानी, मेहनत, परिश्रम र आम्दानी सबैको चाँजो मिल्नुपर्छ, मैले बाख्रापालनबाटै घरखर्च धानेको छु, बाख्रापालनबाट म सन्तुष्ट नै छु’’–श्रीषले भन्नुभयो। श्रीषले बाख्रा फार्ममा खोर बनाउन मात्रै ५० लाख बढी लगानी गर्नुभएको छ। आफूले बाख्रापालन गरेपछि धेरै जना यो पेसामा जोडिन आउने र जाने क्रम भए पनि आफू भने आफ्नै घरमा आफ्नै पौरखमा रमाउन बाख्रापालनलाई व्यवस्थित र व्यावसायिक बनाएर बसेको उहाँको भनाइ छ।
राज्यले पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर अनुदान लगायतमा धेरथोर सहयोग गरे पनि पछिल्लो समय कृषि सहुलियत ऋण पाउन मुस्किल पर्ने र बीमा बापतको रकम भुक्तानीमा ढिलासुस्ती हुँदा आफूहरू समस्यामा परेको किसान श्रीषले गुनासो गर्नुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आँधीखोला पुल : सातवर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि सम्पन्न भएन
- गोरखकाली रनिङकप फुटबल प्रतियोगिताको नवौँ संस्करण फागुन ७ देखि
- हमासद्वारा रिहा गर्ने भनिएको बन्दीहरुमा केहिको मृत्यु भईसकेको तथ्य बाहिर
- लेबनानमा इजरायली आक्रमणमा एक जनाको मृत्यु, ७ घाइते
- यस्तो छ संसद्मा दर्ता भएको सामाजिक सञ्जाल नियमन विधेयक
- रुखमा बसेका चमेरा
- काँकेरबिहार संरक्षित क्षेत्र र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर बजार
- ल्हुरी गाउँ
- ‘सम्पदास्थल संरक्षण गर्न स्थानीयले अग्रसरता लिनुपर्छ ’
- पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर