द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—२२
लाक्षागृहको कथाले कुरुवंशको नयाँ अध्याय सुरु गराएको मानिन्छ। महाभारतमा त्यस्ता धेरै निर्णायक मोडहरू छन् जसले कथालाई, परिस्थितिलाई अचानक नयाँ मोडमा पुर्याएका छन् र अनपेक्षित परिणामहरू देखाएका छन्। लाक्षागृहको कथामा गुम्सिएको पीडा छ, पीडाको निकास पनि पीडाले सुमसुम्याएको छ र प्रत्येक पीडाले नयाँ परिणामको अपेक्षा गरेको देखिन्छ। अर्थात् पीडाले नै शक्ति सञ्चयका लागि नयाँ गोरेटो देखाउने रहेछ, नयाँ बाटो कोर्ने अवस्था आफैँ स्वतः बन्ने रहेछ। त्यस्तै देखिन्छ।
जब महाराज धृतराष्ट्रले, अचानक राज्य सञ्चालनार्थका लागि भावी राजाको प्रशिक्षण बारणावर्तमा हुने आदेश जारी गरे, नजाने भन्ने कुरै आउँदैनथ्यो। तर नयाँ शङ्का भने उत्पन्न भएकै थियो। र पनि युधिष्ठिर र उनका भाइहरूले त्यसलाई नकार्न खोजेनन् किनभने उनीहरू जुनसुकै कठिनाइसँग पनि जुध्नका लागि तयार थिए। उनीहरूलाई थाहा थियो, महाराज पाण्डुको राज्य सजिलैसँग प्राप्त हुनेवाला छैन। उनीहरू बारम्बार अपमानित हुँदा सुन्ने गर्थे, यी त महाराज पाण्डुका सन्तान नै होइनन् किनभने महाराज पाण्डु त कुनै पनि हालतमा बच्चा जन्माउने अवस्थामा नै थिएनन्। जब कामोन्मत्त भएका थिए, तत्कालै ठहरै मरेका थिए। त्यसैले पाण्डुका छोराहरू ती होइनन्, अनि तिनलाई किन राज्य विभाजन गरेर या सिङ्गो भारत सुम्पने? धृतराष्ट्रका सय भाइहरूले बारम्बार अपमानमात्र गरेनन्, सबैभन्दा जब्बर र बलिया लडाकु भीमप्रति भने सधैँ ती सय भाइहरूको कोपभाजनमा परेका हुन्थे। कहिले लड्डूमा विष मिलाएर ख्वाएर नदीमा बगाउँथे त कहिले जङ्गलमा बाँधेर पिट्थे। तर पनि सधैँ भीमको वर्चस्व बढ्थ्यो र सधैँ भीम नै जितेर कौरवमाथि भारी नै परेका हुन्थे।
धृतराष्ट्रका सन्तानलाई कौरव भनिन्थ्यो अनि पाण्डुका सन्तानलाई पाण्डव भनिन्थ्यो। कौरवका लागि पाण्डवमध्ये भीमसँग उनीहरूलाई डर थियो युधिष्ठिरको भन्दा पनि बढी, अर्जुनसँग भन्दा पनि बढी। नकुल र सहदेवलाई कौरवहरूले बालकको रुपमा लिन्थे। भीमसँग डराउने कारण थियो मुर्खसँग जसले मुर्ख्याइँको जबाफ मुड्कीले दिन्थ्यो, त्योसँग स्वाभाविकरुपमा मुर्खहरू डराउँछन् भन्ने सिद्धान्त त्यहाँ लागू भएको पाइन्थ्यो। त्यसैले कौरवहरूको एउटै ध्याउन्न थियो, जसरी पनि पाण्डवहरूलाई मार्ने। सिधा युद्ध या लडाइँ गरेर जित्न सक्ने अवस्था थिएन किनभने पाँचै भाइ शूरवीर थिए, जुनसुकै प्रकारको युद्धका लागि पनि उनीहरू सिद्धहस्त थिए। त्यसैले उनीहरूलाई झुक्क्याएर जलाउनु बाहेक अरु उपाय छैन भनेर नै लाक्षागृहको योजना बनेको थियो। कौरवबाट हुने षडयन्त्रलाई नजिकबाटै बुझ्ने क्षमता महामन्त्री विदुरमा मात्र थियो। त्यसो त बुझ्न त भीष्म पितामहले बुझेका हुन्थे तर हस्तिनापुरको अभिभावक हुँ भन्ने भ्रमबाट उनी मुक्त हुन सकेका थिएनन्। धृतराष्ट्र र उनका सन्तानहरूले भीष्म पितामहलाई पाण्डव पक्षीय ठान्दथे र मुखले त्यसो भन्न सक्दैनथे। पाण्डवका विरुद्ध हुने जुनसुकै षडयन्त्रमा पितामहको मन्त्रणा लिन आवश्यक ठान्दैनथे किनभने ती कुराहरू पाण्डवसमक्ष जाने छ भन्ने डर पनि थियो। महामन्त्री विदुरसँग पनि त्यस्तै डर थियो। विदुरको आस्था हस्तिनापुरका नरेश जो हुन्छ, त्यसप्रति हुने भए पनि विदुरका लागि पाण्डु नै आधिकारिक राजाका रुपमा थिए र पाण्डुका उत्तराधिकारी युधिष्ठिरमात्र भारत देशका आधिकारिक राजा हुने योग्यता राख्थे भन्ने मान्यता थियो। त्यो कुरा महामन्त्रीले जहिले पनि स्पष्टरुपमा भन्ने भएकाले महामन्त्री चाहिँ धृतराष्ट्रका, तर विश्वासचाहिँ पाण्डु र पाण्डुपुत्रहरूप्रति मात्र भन्ने गुनासो बारम्बार गर्थे, त्यसमा आगोमा घिउ थप्ने काम गान्धार नरेश शकुनिबाट हुन्थ्यो। अंग नरेशका रुपमा हस्तिनापुर दरबारमा रहेका कर्णले सामान्यतया गलत कुरामा समर्थन जनाउनु भन्दा त्यसको हुनसक्ने परिणामका बारेमा विश्लेषणात्मक टिप्पणी गर्थे तर दुर्योधनको सिधा विरोध नगर्ने हुनाले षडयन्त्रको छलफलमा कर्ण अनिवार्यरुपमा रहन्थे। यदि आमने सामने हतियार युद्ध भएमा अर्जुनसँग भिड्न सक्ने महसुर कर्णमात्र थिए। दुर्योधन र भीम दुवैजनासँग १० हजार हात्तीको बल थियो भन्ने मान्यता थियो। त्यसो त धृतराष्ट्र महाराजसँग ६० हजार हात्ती बराबरको बल थियो भन्ने मान्यता थियो। दृष्टिविहीन भएर के भयो त? उनका भित्री तुस थियो तर बाहिर कूटनीतिक तरिकाले कसैको कुभलो नचिताए जस्तो अनि दुर्योधनको नाउँमा अनेकानेक षडयन्त्रको तानाबाना बुन्ने काम स्वयं धृतराष्ट्रबाट नै हुन्थे। उनको महत्वाकांक्षाको निकासका रुपमा दुर्योधन र दुःशासन थिए। आफ्ना पिताजीको सम्पूर्ण षडयन्त्रप्रति भने, दाजुभाइका निर्मम निर्णयबाट निःसृत गोप्य षडयन्त्रप्रति भने दुर्योधनको आफ्नै भाइ विकर्ण र विमातापट्टिका भाइ युयुत्सुले भने साथ दिँदैनथे र उल्टै यस्ता षडयन्त्र नगर्न चेतावनी नै दिन्थे।
यसरी महत्वाकांक्षाको दमित स्वरुप र हिजोका दिनको अपमानको बदला लिनका लागि लाक्षागृहमा पाँचभाइ पाण्डवलाई जलाउने षडयन्त्र भएको थियो। विदुरको प्रत्युत्पन्न मति र समादर भावका कारणले त्यसो हुन पाएन। सायद छोराहरूको बुद्धि नपुग्ला कि भने र महारानी कुन्तीले साथ छोड्न चाहिनन् र सँगै वारणाबर्त गइन्। विदुरले युधिष्ठिरमार्फत् आगोबाट बच्न, लाक्षागृहको जलनशीलताका प्रति सतर्क गराउन र पुरोचनको धुत्र्याइँप्रति सजग रहन अनि आगो लगाएपछि कसरी भाग्ने भन्ने बारेमा कूटभाषामा जानकारी दिने काम विदुरबाट भएको थियो। कुनै पनि बेलामा पाण्डवहरूप्रति घातक हमला हुने र त्यसबाट जसरी पनि बाँच्न र शक्ति सञ्चय गरी भोलिका दिनका लागि निरापद राज्य सञ्चालन गर्न पाण्डव सक्षम हून् भन्ने विशुद्ध भावना विदुरसँग थियो। त्यसैले पाण्डवहरू बाँचेका हुन्।
पाण्डवहरू पनि समयको ताकमा थिए, कसरी लाक्षागृहबाट सकुशल भाग्ने? आखिर लाक्षागृहको नियति भनेको आगोमा जलेर समाप्त हुनु नै थियो। त्यो आगो पाण्डवहरूलाई घरभित्र थुनेर पुरोचनले लाओस् या अरु कसैले आगो झोसोस्। अन्तमा कुन्तीको बुद्धिको काम त्यतिबेला आयो, जब उनले पाँचओटा बच्चा सहित दरबारमा बास बस्नका लागि एकजना भिल्ल महिला आइन्। दरबारभित्रबाटै सुरुङ् खनिएको थियो किनभने यदि पुरोचनले आगो लगाएको अवस्थामा पनि भाग्ने तयारी। आमा सहितका पाँच भाइ भिल्लहरूको संख्या देख्ने बित्तिकै कुन्तीको इसारामा पुरोचनको घरमा ढोका बाहिरबाट लगाइयो, लाक्षागृहका कुन्तीको आदेशका आगो लगाइयो अनि दरबारभित्रबाट खनेको सुरुङ्बाट निकास लिनका लागि बाहिर निस्कने बाटो तयार थियो, मृतकको नाउँमा रुप परिवर्तन गर्दैँ भागाभाग भयो। अब काल कलवित भएको ठानियो पाण्डव र कुन्तीसहित। यो समाचारले भित्रभित्र हर्ष विभोर भएका कौरवहरूलाई जानकारी दिने पुरोचन पनि डढेर मरेकोले पाण्डव साँच्चै मरेको ठान्ने अवस्था रह्यो। सारमा पाण्डवको काज क्रिया गरियो, कुन्तीका लागि श्रद्धान्जलि दिइयो, युवराजको मृत्युमा राज्यभर शोक दिवस मनाइयो। क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- शकुनिको कूटनीतिक क्षमता
- वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
- हिडिम्बाको मोह
- द्रौपदीलाई आफ्नै रूपको चिन्ता
- ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार
- द्रौपदीको छल
- शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन
- किन आयो शिखण्डीमा मर्ने चाहना?