द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी-२३
लाक्षागृह र द्रौपदीको जीवनसँग के सम्बन्ध छ ? प्रत्यक्ष सम्बन्ध देखाउन अलि सकिँदैन महाभारतअनुसार तर महाभारतले नै भने अनुसार यदि लाक्षागृहबाट सकुशल भाग्न सफल नभएका भए पाण्डुको सम्पूर्ण परिवारको सखाप हुने थियो कि ? यदि भूमिगतरुपमा रहनका लागि ब्राह्मण भेष धारण नगरेका भए पाण्डवहरू घुमन्तेका रुपमा पाञ्चालको राजधानी काम्पिल्य पुग्दैन थिए कि? एकचक्रा नगरीको बासमा नै ब्राह्मण भेषधारी पाण्डवहरूले द्रौपदीको स्वयंवरको घोषणा सुनेका थिए। पाण्डवहरू आफ्नो क्षमता त देखाउन लालायित हुन्थे तर उनीहरूको विभिन्न क्षमताका कारणले मृतक पाण्डवहरूको परिचय खुल्न सक्ने कुरामा सतर्क थिए। तर लाक्षागृहमा आगलागी गराएर सुरुङ्को बाटो गुमनाम जीवन बाँच्नका लागि वन जङ्गल या विरानो ठाउँ ठाउँमा नहिँडेको भए न हिडिम्बीसँग भेट हुन्थ्यो, न घटोत्कचको जन्म हुन्थ्यो, न हिडिम्बासुरको वध सम्भव थियो। तर पाण्डवहरू सतर्क यसकारणले पनि थिए कि उनीहरूका करामतले कतै हस्तिनापुरको जानकारीमा उनीहरूको परिचय नखुलोस्। पाण्डवहरू शूरवीर थिए, युद्धकलामा पारङ्गत थिए, संसारमा नै पाँचैओटा पाण्डवको विभिन्न विज्ञता थियो। त्यसमध्ये पनि अर्जुनको विज्ञता तथा वीरता धनुषवाणमा थियो, भीमको विज्ञता मल्ल युद्ध र गदाको खेलमा थियो, युधिष्ठिरको भालाको निसानामा विज्ञता थियो, त्यसैगरी नकुल र सहदेवमा सर्वगुण सम्पन्न योद्धाको गुण थियो। अर्थात् पाण्डवहरूसँग त्यसकारणले दुर्योधनादि सय भाइ डराउँथे, प्रत्यक्ष युद्धमा उनीहरूलाई पाण्डवहरूलाई जित्न सक्ने हैसियत थिएन र त जसरी पनि अपत्यारिलो हिसाबले हत्या गर्न चाहन्थे, त्यस्तो हत्या जसले पनि त्यसलाई कसैले हत्या गरेको नसम्झियून्। लाक्षागृहको तयारी पनि त्यसैको एउटा कडी थियो, लाक्षागृहमा अचानक आगो लागेर उनीहरू जलेको तथ्यद्वारा भारतका जनतालाई भन्न पाइन्थ्यो, तिमीहरूका प्यारा युवराजसहित पाण्डुकी महारानी कुन्ती सहित वीर छोराहरू मारिए। नियतिको अघिल्तिर कसैको केही नलाग्ने रहेछ।
एकातिर शक्ति सञ्चयका लागि कुन्ती र पाण्डवहरूलाई गुमनाम जीवन बिताउँदै राज्यका विभिन्न कुना कुनामा गएर पाण्डवहरूप्रतिको जनताको धारणा पनि बुझ्नु जरुरी थियो, परी आउँदा आफूमा निहित क्षत्रियोचित क्षमताको प्रदर्शन पनि जरुरी थियो। घुम्नु थियो कसैले थाहा नपाउने गरी वन जङ्गल, गुफा, कन्दरा र ब्राह्मण भेषमा मगन्ते कर्म गर्दै। आफ्ना क्षमताको सन्धान पनि आवश्यक थियो। एउटा कुराचाहिँ स्पष्ट थियो, महाराजको तयारी युधिष्ठिरले गरेका भए पनि, महाबली भीममा भने प्रतिशोधको आगो पनि बलेकै थियो। यदि युधिष्ठिर र माता कुन्तीले भीमको आग्रह मान्ने भए महाराजका दुर्योधनादि सय छोराहरूलाई उनी एक्लै मार्न सक्ने वीर थिए। वन जङ्गलमा रात्रिकालमा निशाचर घुम्ने गर्दथे। त्यसमा यक्ष, असुर, राक्षस पनि थिए। भारत वर्षमा निशाचरहरूलाई पनि रात्रिकालीन घुमाइका लागि स्वतन्त्रता थियो। त्यसका लागि राजाले नै उनीहरूको निर्धक्क हिंड्ने अधिकारको सुरक्षा गर्नु पर्थ्यो। राजा त सार्वकालिक हुन्, चाहे रात होस्, विहान होस् या दिउँसो होस्। निशाचरहरूको काममा बाधा पार्नु हुँदैन भन्ने मान्यता थियो। वन जङ्गलमा घुम्ने, विज्ञता भएका हतियारहरूको अभ्यास पनि जरुरी थियो। त्यस कार्यका लागि आफूलाई सधैँ करामत भएको व्यक्तिको रुपमा सबै पाण्डवहरू मिहिन तरिकाले अभ्यास गर्न चाहन्थे तर समाजले बुझ्ने गरी, अनुभव गर्ने गरी भने त्यसो किन गरिँदैनथ्यो भने ब्राह्मणले हतियार लिएर हिँड्न मनाही थियो। पाञ्चाल सीमामा प्रवेश गरेका पाण्डवहरूलाई के पनि थाहा थियो भने पाञ्चाल नरेशका यज्ञमार्फत् जन्मिएका छोरा धृष्टद्युम्न र छोरी कृष्णा विलक्षण प्रतिभाका थिए।
उनीहरूको जन्मका कारक पनि स्वयं पाण्डवहरूमध्येका धनुर्धारी अर्जुन थिए। अर्जुन एक्लैले गुरु द्रोणाचार्यको गुरु दक्षिणा दिने वचन पूरा गर्नका लागि नै द्रुपद महाराजलाई काम्पिल्यको उनको दरबारबाट बाँधेर गुरुसमक्ष बस्तुभाउ डोर्याएझैँ लगेका थिए। त्यहीँ गुरु द्रोणले आफ्ना मित्रबाट शत्रुमा परिणत भएका महाराज द्रुपदसँग उनको आधा राज्य लिएर आधा राज्य उनलाई नै फिर्ता दिएका थिए। अनि द्रुपद महाराजमा अर्जुनजस्तो शूरवीर छोरोको कल्पना आएको हो जसले द्रोणाचार्यलाई समाएर द्रुपदका पाउमा पछार्न सकोस् या मार्न सकोस्। त्यही रन्कोमा उनी प्रतिशोधको आगोमा जलेका थिए र आफ्नो पाञ्चाल राज्यको आधाभाग गुमाएका भए पनि त्यो आधा भागका राजा द्रोणाचार्यलाई जितेर या मारेर आफ्नो मनमा लागेको चोटमा ओखती गर्न चाहन्थे। महाराज द्रुपदमा अर्जुनजस्तो छोरोको चाहना थियो र त मुनि याजका आश्रममा गएर त्यस्तो पुत्रेष्टि यज्ञको कामना गरेका थिए। याजले सहज तरिकाले यज्ञमार्फत् छोराको माग त पूरा गर्न सक्ने तर प्रतिशोधका लागि बदला लिने योद्धाको प्राप्तिमा आफू सहभागी नहुने बताए र भने-मैले त्यस्तो गर्ने गरेको छैन तर मेरो भाइ उपयाजले यज्ञकर्म गर्न सक्छ होला। उपयाजले याजको सहयोगमा त आफू यज्ञ गर्न सक्ने, नभए सम्भव नभएको बताएका थिए। पछि याज उपयाजले यज्ञ गर्ने वचन दिए र यज्ञ सुरु भएको थियो। यसरी यज्ञ गरेपछि प्राप्त परिणामको साक्षी सम्पूर्ण ऋषि गणहरू थिए र यज्ञबाट अयोनिजा पुत्र र पुत्रीको प्राप्ति भएको थियो।
यज्ञको समापन भए पछि यज्ञको वरदानस्वरुप खिर खान या प्रसाद खान र अपेक्षित छोरो पाउने गरी मन्त्रिएको प्रसाद खानु जरुरी थियो पटरानीले तर पटरानीमा मुखमा केही चपाउँदै गरेकीले उनले तत्काल याजले दिन लागेको प्रसाद खाइनन् र एकछिन पनि खाने भनिन्। ऋषि रिसाएर त्यो खिर त्यही यज्ञमा बलिरहेको कुण्डमा फाले, तत्कालै सर्वगुणसम्पन्न, शरीरमा अभेद्य कवचसहित हतियारले पूर्ण सज्जित वयस्क युवा जन्मियो र महाराज द्रुपदसँग आफ्नो कर्तव्यका बारेमा सोधपुछ गर्न थाल्यो। धृष्टता देखाउने भएकाले उसको नाम धृष्टद्युम्न राखियो। फेरि भाइ उपयाजले पनि द्रुपदकी रानीलाई प्रिषतिलाई प्रसाद दिए, त्यो बेलामा पनि उनले एकछिन पछि खाने भनेर आलटाल गरेपछि त्यो प्रसादलाई पनि यज्ञकुण्डमा नै रिसाएर फाले, अनि त्यहाँबाट पनि एकजना कृष्ण वर्णकी अत्यन्त रुपवती, मनोहारी र पूर्ण वयस्क युवती तत्काल जन्मिइन् जसको नाम कृष्णा राखियो, उनैलाई द्रुपद राजाकी छोरी भएकीले द्रौपदी भनियो, पाञ्चाल राज्यकी राजकुमारी भएकीले पाञ्चाली भनियो, यज्ञबाट उत्पत्ति भएकीले याज्ञसेनी भनियो। क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- शकुनिको कूटनीतिक क्षमता
- वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
- हिडिम्बाको मोह
- द्रौपदीलाई आफ्नै रूपको चिन्ता
- ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार
- द्रौपदीको छल
- शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन
- किन आयो शिखण्डीमा मर्ने चाहना?