प्यालेस्टिनी लडाकू समूह युद्धविरामका लागि आयोजना गरिएको वार्ताबाट पछि हटेको हमासका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताएका छन् ।
हमासका अर्का एक अधिकारीले हमासका सैन्य नेता मोहम्मद देइफलाई लक्षितगरी आक्रमण गरे पनि उनी‘सकुशल’ रहेको र इजरायलले गाजाको दक्षिणी शिविरमा व्यापक गोलाबारी गरिरहेको बताएका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयले शिविरमा भएको आक्रमणमा परी ९२ जनाको मृत्यु भएको जनाएको छ ।
हमासका राजनीतिक नेता इस्माइल हनियाले अन्तर्राष्ट्रिय मध्यस्थकर्ता कतार र इजिप्टलाई अमेरिकी राष्ट्रपति जो बाइडनले मे महिनामा पहिलोपटक अघि सारेको युद्धविराम योजनामा वार्ता समाप्त भएको बताए ।
युद्धविराम योजनामा सम्झौताको पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूका लागि अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको आक्रमणमा लिइएका अधिकांश बन्धकहरूको आदानप्रदानसहित छ हप्ताको युद्धविराम हुने थियो ।
हनियाले भने, ‘हमासले इजरायली गम्भीरताको कमी, ढिलासुस्ती र अवरोधको निरन्तर नीति र निहत्था नागरिकविरुद्ध जारी नरसंहारका कारण वार्ता रोक्नेछ ।’
हमासले जब इजरायल सरकारले युद्धविराम सम्झौता र कब्जा कैदी आदानप्रदान सम्झौतामा पुग्न गम्भीरता देखाउँछ तब वार्ता पुनः शुरू हुने जनाएको छ ।
हनियाले शनिबार अबेर एक वक्तव्य जारी गर्दै आफूले मध्यस्थकर्ता र अन्य देशलाई फोन गरेर आक्रमण रोक्न इजरायललाई दबाब दिन आग्रह गरेको बताए ।
इजरायलले अक्टोबर ७ मा भएको आक्रमणको ‘मास्टरमाइन्ड’ मध्येका एक मानिएको देइफ दक्षिणी गाजाको अल–मावासी शिविरमा भएको आक्रमणको निशानामा रहेको बताएको छ ।
तर हमासले भने देइफ शिविरमा रहेको पुष्टि नगरी उनी जीवित रहेको र काम गरिरहेको बताएको छ ।
‘कमान्डर मोहम्मद देइफले इजेदिन अल–कासम ब्रिगेड र प्रतिरोध अभियानको प्रत्यक्ष रेखदेख गरिरहनुभएको छ,’ हमासको सशस्त्र शाखालाई उद्धृत गर्दै ती अधिकारीले भने ।
गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी करिब एक हजार २०० जनाको मृत्यु भएको इजरायलद्वारा पुष्टि गरेको तथ्याङ्कमा उल्लेख छ ।
हमास लडाकूले २५१ बन्धकलाई कब्जामा लिएकामा करिब १०० जना रिहा भइसकेको, ११६ जना गाजामा रहेको र ४२ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।
हमास आक्रमणको बदलामा इजरायलले जवाफी कारबाही शुरू गरेको र गाजामा कम्तीमा ३८ हजार ४४३ जनाको मृत्यु भएको हमासको नियन्त्रणमा रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण
- खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ
- जसले विद्यालय जोगाए उनैबाट शिक्षक सम्मानित हुँदा …
- अमेरिकाः मस्कको टोलीलाई अर्थमन्त्रालयको तथ्याङ्क नदिन न्यायाधीशको निर्देशन
- २७ वर्षपछि दिल्लीमा भाजपाको सत्ता, आपको हार, काङ्ग्रेसको प्रतिनिधित्व शून्य
- हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
- केजरीवालले हारे चुनाव, भाजपाका प्रवेश वर्माको जित
- सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी
- कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू
- तीस किलोको खुकुरी !
