द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी-३०

हरिविनोद अधिकारी
सत्यवती राजमाताको रुपमा खुसी हुने कि रोएर जीवन बिताउने भन्ने द्विविधामा राजमाताको पदवी टाउकोमा बाँधेर राजदरबारमा छटपटिएर बसेकी हुन्थिन्। यी सबै मनोविज्ञान बुझेर पनि सेनापतिका रुपमा, हस्तिनापुरका अभिभावक देवब्रत चुपचाप आफ्नो कर्तव्य पूरा गर्दैथिए र उनका लागि पनि ठुलो चुनौती थपिएको थियो, विवाह नहुँदै चित्राङ्गदको मृत्यु हुनु अनि विचित्रवीर्यको अपरिपक्वता अनि सानो उमेरको राजा। शत्रु राज्यहरू जमजमाएका थिए यही बेला हो भारतमा आक्रमण गर्ने र आफ्नो वर्चस्व फिर्ता गर्ने……….
तर डर त थियो त्यही कुरु शिरोमणि देवब्रतको जसले भीष्म प्रतिज्ञा गरेर ब्रह्मचर्याश्रम नै अपनाउने बाचा गरेका थिए। उनी कुनै पनि हालतका विवाह गर्ने सुरमा थिएनन् अर्थात् विवाह नै नगरी हस्तिनापुरको रक्षा गरिरहने कुरामा दृढ थिए। सत्यवतीलाई पनि आफ्ना दुई छोराहरू जन्मेकाले हस्तिनापुरको गद्दीमा उत्तराधिकारीको कमी नहुने ठानेकाले पनि र भारत साम्राज्य देवब्रतको जिम्मा सुरक्षित रहेकाले एकप्रकारले राजमाता सत्यवती ढुक्क थिइन्। अचानक चित्राङ्गदको हत्या भएकाले उनी आत्तिएकी थिइन्। राज्यका सुदृढ अभिभावक देवब्रतले तत्कालै भाइ विचित्रवीर्यलाई राजा घोषणा गराए र उनलाई राजगद्दीमा बसाएका थिए। त्यो बेला हस्तिनापुरमा सत्यवतीको आदेशका रुपमा आउने सबै निर्देशनका कारक राजकुमार देवब्रत नै हुन्थे। राजाको रुपमा घोषणा गरिएका विचित्रवीर्य यति निरीह, परावलम्बी र परमुखापेक्षी थिए कि राजाले के गर्ने भन्ने पनि थाहा थिएन र उनलाई हस्तिनापुरको राजा किन बनाएको भन्ने पनि थाहा थिएन। यतिमात्र थाहा थियो कि राजमाताले दिने आदेश र दाजु देवब्रतको निर्देशन मान्नुपर्छ। उनीहरूले जे भन्यो, त्यही मान्नुपर्छ।
थियो पनि त्यस्तै राजकुमार देवब्रतको चाहना र सल्लाह विना राजमाताले कुनै आदेश पनि जारी गर्दैनथिन् र राजामाताको चाहना विपरीत देवब्रतले पनि कुनै सल्लाह पनि दिँदैनथे। हस्तिनापुर गणराज्यहरूको राजधानी थियो। आखिर कुनै पनि राज्य आफ्नो स्वतन्त्रता छोडेर, आफ्नो स्वतन्त्र अस्तित्व मेटाएर अर्को साम्राज्यमा जोडिने थिएनन्। कतिपय साना राज्यहरू ठुला राज्यमा यसकारणले समाहित हुन्थे कि – अन्य राज्यसँग सुरक्षित हुनका लागि ठुलो साम्राज्यसँग सहयोगी राज्यका रुपमा संलग्न हुने र आफ्नो स्वतन्त्रता पनि कायम राख्ने। कुनै राज्यचाहिँ ठुला राज्यसँग विवाद गरेर आफ्नो सहयोग तिनका विरोधी देशहरूलाई दिने देखिए पनि ठुला राज्यले साना साना राज्यहरूलाई आफूमा बलजफ्ती मिलाउने र राज्यमा कुनै पनि प्रकारको विद्रोह हुन नदिन आफ्ना सेनाहरूको नियन्त्रण कायम गराउने। त्यस्तो सय्यौँ राज्यहरूको गणतान्त्रिक अवस्थामा भारत वर्षको अवस्था थियो। त्यस प्रकारको जटिलतम गणराज्यहरूको नेतृत्व अत्यन्त कुशल, शूरवीर, लडाकु र रणनीतिकार हुनु जरुरी थियो। दरबारभित्रको कमजोरी बाहिर छताछुल्ल नहुन्जेलसम्म दरबारको नियन्त्रणमा नै रहने नै भयो।राजमाता सत्यवतीका लागि ठुलो चुनोती नै त्यही थियो कि भारत साम्राज्यको कमजोरी अरु देशका नायकहरूले थाहा नपाऊन्।
राजमाताको भित्री चाल नै त्यही थियो कि दरबारमा देखिएको राज्याधिकारीहरूको निरीहता बाहिर नदेखियोस्। त्यसैले उनको चाहना थियो, सम्पूर्ण साम्राज्य छिन्नभिन्न नहोस्। त्यसैले राजमाताको मुख्य उद्देश्य नै आफ्नो चक्रवर्तित्वको अधीनका रहेका राज्यहरू आफ्नो पकडमा रही रहून्। राजगद्दीमा जो सुकै बसे पनि दुनियाँलाई महाराजाको हैसियतमा तिनै राजकुमार थिए जसले भीष्म प्रतिज्ञा गरी हस्तिनापुरको रक्षा गर्ने प्रतिज्ञा गरेका थिए। भारतको कुनाकुनामा को राजा बन्यो भन्ने त्यति थाहा थिएन तर भारतवर्षका ती अजातशत्रु सेनाको जगजगी भने थियो। ती सेनाको सेनापतिको रुपमा तिनै राजकुमार थिए जसले हस्तिनापुरको अधीनमा सबै गणराज्यहरूलाई आदेश मान्न बाध्य बनाएका थिए र सबैलाई अधीनको अनुशासनमा राखेका थिए। कर त आफ्नो चाहना अनुसार ती अधीनस्थ राज्यहरूले लगाउँथे, उठाउँथे र केन्द्रीय सत्तालाई केही निश्चित अंश दिन्थे।
हस्तिनापुरको आफ्नो प्रत्यक्ष आम्दानीको तरिका र उपाय थिएन तर अधीनस्थ गणराज्यबाट आउने कर नै आम्दानीको आधार थियो। त्यसरी उठाउने कर तत्कालीन हस्तिनापुरको आदेश बमोजिम मात्र उठाउन पाइन्थ्यो र त्यो आदेश धर्मशास्त्र र प्रचलित अर्थशास्त्रको नियम र मर्म अनुसार हुनु अनिवार्य थियो। राज्यहरू न्याय सिद्धान्त अनुसार चलाउनु अनिवार्य थियो। त्यसको अनुगमन हस्तिनापुरले गर्नुपर्थ्यो र सबै राज्यहरूले हस्तिनापुरको छायामा आफ्नो राज्य सुरक्षित रहेको ठान्थे। त्यो आश र त्रासको आधार केन्द्रको शासन थियो जसको सम्पूर्ण जिम्मा लिने राजकुमार देवब्रत नै थिए। त्यहाँ द्वैध शासन थिएन। राजमाता दृश्यमा देखिन्थिन् र त्यसका आधार भनेको राजकुमार देवब्रत नै थिए। राजाले गल्ती गर्दैन भन्ने सिद्धान्त यसकारणले हस्तिनापुरमा प्रचलित थियो कि राज्य सन्तुलितरुपमा तयार गरिएको नियमले चलेको देखिन्थ्यो। खासमा हस्तिनापुर अत्यन्त कमजोर भएको थियो, राजाका रुपमा निरीह बालकहरू गद्दीनसिन थिए। ती राजाहरूका नाममा आदेश जारी गर्ने राजमाता सत्यवती थिइन् जसको बल भनेको राजकुमार देवब्रत थिए।
चित्राङ्गदको हत्या भएपछि गद्दीनसिन बालक राजा वयस्क हुने प्रतीक्षा गर्न थालियो र ती राजाको बिहे गरेर भावी उत्तराधिकारीको उत्पादन गर्नु जरुरी थियो। महाराज विचित्रवीर्य न त युद्धमार्फत् राजकुमारी हरण गरेर विवाह गर्न सक्थे, न त स्वयंवरमा गएर राजकुमारीहरूको स्वयं चयनमा पर्न सक्थे। तत्कालीन भारतवर्षमा राजा, युवराज, राजकुमार तथा राजपरिवारका युवाहरूको विवाहको आधार या त लडाईँबाट जितेर राजकुमारी ल्याउनु पर्ने हुन्थ्यो या त स्वयंवरमा निमन्त्रणा आएर युवावयकी राजकुमारीले मनैमन मन पराएको आमन्त्रित राजकुमारलाई वरमाला खुसीसाथ पहिर्याउनु पर्थ्यो।
राजा विचित्रवीर्य भारत राज्यका एकमात्र आधार थिए भावी उत्तराधिकारी जन्माउनका लागि। राजमाता तत्कालीन राजा चित्राङ्गदको आकस्मिक हत्याबाट बिचलित भएकी थिइन् र जसरी हुन्छ विचित्रवीर्यलाई त्यस्तै आकस्मिक भवितत्वबाट बचाउनु पनि थियो र उनको विवाह गरेर छिटै उत्तराधिकारीको उत्पादन गर्नु पनि जरुरी थियो। दरबारका गोप्य सल्लाह गर्ने मानिस एकमात्र देवब्रत थिए राजमाताका लागि। राजमाता चाहन्थिन् देवब्रतले सक्रियताका साथ राज्य सञ्चालन गरुन् तर देवब्रत यस कुरामा अत्यन्त सजग थिए कि कतै राजमाताले राज्य सञ्चालनमा हस्तक्षेप गरेको नठानून्। राजमाता चाहन्थिन् हस्तक्षेप गरुन् तर राज्यका अभिभावक चाहन्थे राजमाताका आदेश पालना नै राज्यप्रतिको उनको कर्तव्य थियो। राज्य पनि चलिरहोस् र देवब्रतले हस्तक्षेप गरेको पनि कतै दोष खप्न नपरोस्।
एकदिन राजमाताले मनका कुरा गरिन्। भनिन्-यो कुरुराज्य कसरी जोगाउने ? भीष्मब्रती देवब्रतले नबुझेको जस्तो गरेर राजमाताको मुख हेरी रहे। राजमाताको फेरि पनि ढिपी थियो, देवब्रत तिमी बिहे गर, तिमी नै राजगद्दीमा बस र भाइलाई सहयोगी मन्त्रीको रुपमा राख जब ऊ वयस्क हुनेछ। तर देवब्रतले त्यसलाई तत्कालै अस्वीकार गरे र भने-भाइका लागि रानीको व्यवस्था गर्नु जरुरी छ, नत्र भावी राजाको लागि मुलुक चलाउने उत्तराधिकारी पाइँदैन।
त्यही बेलामा हस्तिनापुर दरबारमा काशीराजबाट एउटा निम्तो आएको थियो स्वयंवरमा हाजिर हुनका लागि। काशीराजका तीनओटा छोरीहरू अम्बा, अम्बिका र अम्बालिकाको विवाहका लागि स्वयंवरको आयोजना गरिएको थियो। राजकुमारीहरूले मन पराएर प्रेमको अवस्था रहेको भए पनि त्यो राजकुमार पनि स्वयंवरमा हाजिर भएर उपस्थित हुनै पर्थ्यो। अर्थात् विवाहका लागि स्वयंवर अनिवार्य थियो र त्यो स्वयंवरका लागि हस्तिनापुरलाई पनि निम्तो थियो।
हस्तिनापुरले त्यो स्वयंवरमा भाग लिने जानकारी काशीराजलाई दिइयो र त्यो स्वयंवरका लागि गद्दीनसिन राजा विचित्रवीर्य नै आउने समाचार प्रेषित भएको थियो। तर के गर्ने भन्ने बारेमा मात्र देवब्रतलाई मात्र थाहा थियो। राजमातालाई देवब्रतले विश्वस्त गराएका थिए कि ती काशीराजका छोरीहरूलाई भीष्मले अपहरण गरेर ल्याउने छन् र राजकुमार विचित्रवीर्यलाई रानीको रुपमा ती युवतीहरू पुरस्कार दिनेछन्।
हस्तिनापुरका अभिभावक देवब्रतले चुपचाप स्वयंवरका लागि तयार भएर बसेका।स्वयंवरमा उपस्थित भएका राजा, राजकुमारहरूको परिचय दिनका लागि राजकुमारीहरूलाई तीक्ष्ण बुद्धि भएकी सहयोगीहरू थिए जसले सहभागी राजकुमार, युवराज तथा महाराजाहरूको परिचय पस्केनी छिन्। तीनओटी राजकुमारीहरू अम्बा, अम्बिका तथा अम्बालिकाका सखीहरू स्वयंवरको औपचारिक प्रक्रियालाई बडो चासोका साथ नियाली रहेका थिए। निमन्त्रित राजा, महाराजा, राजकुमारहरूको हाउभाउ, राजकुमारीहरूको चालढालले स्वयंवर अत्यन्त चासोको विषय बनेको थियो। र सबैभन्दा रोचक विषय त बनेको थियो, विवाह नै नगर्ने भनेर राजगद्दी नै छोडेका भीष्मव्रती देवब्रत स्वयं स्वयंवरको एउटा कुर्सीमा धीर गम्भीर र सतर्कताका साथ दृढताका साथ धनु पक्रेर बसेका थिए। मानौ उनी स्वयंवरमा आएका होइनन् कि कुनै पूर्व निर्धारित मल्ल युद्धको अखाडामा आएका थिए या निर्धारित युद्धका लागि सतर्कताको स्थितिमा बसेका थिए। क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- र अन्त्यमा, महाभारतः तीन कृष्ण, एक कृष्णा र अनुपम महाकाव्य
- अन्त्यमा कहाँ समाहित भइन द्रौपदी?
- कुरुवंश विनाशकः शकुनि
- कुन्तीको सन्देश— युद्धको विकल्प छैन
- प्रजातन्त्र संस्कारको रुपमा विकसित हुनुपर्छ
- युद्धपीडित आमाहरू
- संसद्: जनअपेक्षा र संसदीय दायित्व
- अश्वत्थामाको प्रतिशोध
- श्राप र वरदानबाट किचिएकाहरू
- कर्णका सारथि किन बने महाराज शल्य?
