द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—३१
सबैभन्दा रोचक विषय त बनेको थियो, विवाह नै नगर्ने भनेर राजगद्दी नै छोडेका भीष्मव्रती देवब्रत स्वयं स्वयंवरको एउटा कुर्सीमा धीर गम्भीर र सतर्कताका साथ दृढताका साथ धनु पक्रेर बसेका थिए। मानौ उनी स्वयंवरमा आएका होइनन् कि कुनै पूर्व निर्धारित मल्ल युद्धको अखाडामा आएका थिए या निर्धारित युद्धका लागि सतर्कताको स्थितिमा बसेका थिए ………..
सामान्यतः स्वयंवरका लागि वरमाला लिएर वधु नै हिँड्ने हो तर राजकुमारीहरू तीनजना नै एकैपटक स्वयंवरका लागि तयारीमा थिए। काशीराजका तीनओटा छोरीहरू अम्बा, अम्बिका र अम्बालिका तीनओटै विवाह योग्य भएकाले एउटै सभामा उनीहरूका लागि मन पर्ने योग्य वर छान्न पाउने सुविधा दिइएको थियो। यस्तोमा निम्तालु राजा, महाराजा, युवराज, राजकुमार या अन्य क्षत्रियसमेतलाई स्वयंवरमा निम्ता दिइएको हुनसक्थ्यो। स्वयंवर भन्ने बित्तिकै राजकुमारीहरूका लागि स्वतन्त्रतापूर्वक पति छान्ने अवसर हुन्थ्यो। कतिपय राजकुमारीहरूले ब्राह्मणसँग विवाह गरेको पनि पौराणिक तथ्य पाइन्छ। त्यस्तोचाहिँ स्वयंवरमा ब्राह्मण कुमारहरूको प्रवेश भएर या प्रतिस्पर्धामा आएर हुँदैनथ्यो। या त ब्राह्मण कुमारहरूको क्षमताका कारणले राजाले नै छोरी उपहारका रुपमा दिन्थे जसमा छोरीको पनि स्वीकृति हुनुपर्थ्यो। नत्रभने राजाकी छोरीसँग स्वयंवर प्रतियोगितामा राजा, महाराजा, युवराज, राजकुमारहरू नै आउँथे। यहाँ पनि काशीराजका छोरीहरूका लागि चाहनेहरू स्वयंवर प्रतियोगितामा आएका थिए र तीमध्ये हस्तिनापुरका मुख्य प्रशासक तथा सेनापतिको कार्यभार सम्हालेका राजकुमार देवब्रत, राजकुमारीहरू आउने मूलद्वारको पहिलो मेचमा सतर्कताका साथ बसेका थिए। उनको काँधमो प्रिय धनुष गोबर्दधन थियो र उनी जुनसुकै युद्धका लागि पनि तयार भएको जस्तो गरी सतर्क देखिन्थे।
एक उनी भारतवर्षका चक्रवर्ती राजाका प्रतिनिधि थिए जसको राजधानी हस्तिनापुरमा थियो। सम्पूर्ण भारतवर्षको केन्द्रविन्दु र शासनको मुख्य केन्द्रका प्रतिनिधिका रुपमा स्वयंवर सभामा उनी उपस्थित भएका थिए। त्यो बेलामा हस्तिनापुर भनेको नै राजकुमार देवब्रत थिए। उनको सौर्यले नै भारतवर्ष छिन्नभिन्न हुनबाट जोगिएको थियो। महाराज प्रतीपपछि राजा हुनुपर्ने युवराज देवापिलाई कुष्ठ रोग लागेकाले उनका भाइ शन्तनु अचानक राजा हुँदा पनि भारतवर्षका राजाहरूले मानेका थिए। यी देवब्रत पनि तिनै शन्तनुका वीर सुपुत्र थिए र उनको क्षमताले नै भारतवर्षमा हस्तिनापुरको नेतृत्व अविच्छिन्न कायम रहेको थियो। त्यस्ता वीर पुरुषको अनुहार हेर्न पनि स्वयंवरमा आएका प्रतियोगी राजाहरू लालायित थिए। प्रतियोगी राजाहरू किन भनिएको हो भने एउटी राजकुमारीसँग एउटा राजकुमार या राजा या युवराजको विवाह हुने तर अरु सबै आफ्ना परिचयमार्फत् राजकुमारीहरूको मन जितेर रानी बनाउन पाइन्छ कि भनेर आएका थिए। उनीहरूको सम्पूर्ण कुलको परिचय र विशेष क्षमताका बारेमा राजकुमारीलाई जानकारी दिनका लागि अन्य सहेली या सखीहरू सँगै वयान गरिरहेका हुन्थे। राजकुमारीको मन या त पहिलेदेखि पत्राचार भएका राजा या राजकुमारहरूसँग मिलेको हुन्थ्यो र उनीहरूसमक्ष गएपछि र उनीहरूको परिचय पाएपछि वरमाला पहिराउने काम हुन्थ्यो।
वधुका तर्फबाट उनैसँग विवाह गरिन्थ्यो साइत हेरेर, त्यसै दिन या स्वयंवरमा छानिएका वरसँगको सल्लाहबमोजिम पछि। सय्यौँको संख्यामा सहभागी प्रतियोगी राजा या राजकुमारहरू थिए र दरबारका जिज्ञासु दर्शकहरू पनि हुन्थे। यहाँ पनि त्यस्तै थियो। सबै स्वयंवरमा आएका प्रतियोगीहरू तोकिएका ठाउँमा बसिसकेका थिए। राजकुमारीहरू अम्बा, अम्बिका र अम्बालिकाहरूलाई स्वयंवरका लागि सबै प्रक्रिया पूरा भएको भनियो र सबै उपस्थितहरूको परिचय तयार गरिएको थियो जसमा उनीहरूको नाम, राज्य, पद तथा सामाजिक विशेषताहरू सहेलीले भन्नुपर्थ्यो जसका आधारमा राजकुमारीहरूले छान्ने या नछान्ने निर्णय गर्न पाउँथे। त्यो ठाउँ राजसभाको एउटा अङ्ग नै मानिन्थ्यो किनभने त्यहाँ राजाको उपस्थिति हुन्थ्यो र कुनै बेलामा राजाहरूमा राजकुमारीले चयन नगर्नुमा अहम् जोडिन्थ्यो र विवाद बढ्दै जाँदा युद्धको वातावरण पनि बन्न सक्थ्यो। त्यसैले स्वयंवर मण्डप, राजसभाको एउटा अङ्गको रुपमा हुन्थ्यो र एकप्रकारले युद्धको सम्भावित अवस्था आउन सक्ने भएकाले सेनाको पनि पूर्ण तयारी गरिएको हुन्थ्यो। आएका राजाहरू या राजकुमारहरू आफ्ना आफ्ना अस्त्रले सुसज्जित हुन्थे, त्यसैले कसैसँग भएको हतियार देखाउन ल्याएको भन्ने बुझ्नु पर्थ्यो।
जब तीनओटै राजकुमारीहरू आफ्ना सहयोगी सहेलीहरूसँग स्वयंवर मण्डपमा पदार्पण गरे, पहिलो भेट हस्तिनापुरका राजकुमार देवब्रतसँग भयो जसको परिचय दिन सहेलीहरूलाई अप्ठेरो पर्यो किनभने प्रतियोगी राजकुमार या राजाहरूको विवरणमा उनको नाम थिएन र उनको परिचय थाहा पाउने सहेली कोही पनि देखिएन।
त्यसो त उमेरमा पनि प्रौढ भीष्म प्रतिज्ञ, सेतै फुलेका, चाउरी पर्न थालेको मुख र अरु राजा महाराजा र राजकुमारहरूका अघिल्तिर वृद्ध देखिने भएकाले सहेलीहरू सहित जब हडबडाएर, अपमान गरेजस्तै गरी उनलाई वास्तै नगरी अगाडि बढ्न खोज्दै थिए र पछि रहेका सहेलीहरू जब परिचय दिन स्मृतिमा उनका बारेमा जान्न खोज्दै थिए, देवब्रतले त्यसलाई अपमानको रुपमा सम्झे। त्यसो त राजमाता सत्यवतीको आदेशले देवब्रत राजकुमारीहरूको हात माग्न आएका थिए। राजकुमारीहरूले एकातिर वृद्ध सम्झेर देवब्रतको वास्ता नगर्नु अनि स्वयंवर सभामा अपमान जस्तो महसुस गर्नुले देवब्रतले काशीराजसँग भेटेर कन्याहरू माग्ने अवसर पनि पाएनन्। एक्लो वीर योद्धाले रथ लिएर गएका थिए सारथिसँगै। अपमानले भतभत पोलेको बेलामा सत्यवतीका प्रतिनिधि, महाराजा विचित्रवीर्यका प्रतिनिधि देवब्रतले कठोर निर्णय गरे, तीनओटै राजकन्याहरूको अपहरण गर्ने र हस्तिनापुर लैजाने। उनको आदेशले त्यही बेलामा अचानक रथ त्यहीँ आयो र तीनओटै राजकुमारीहरूलाई रथमा राखेर देवब्रतले हुङ्कार गरे र भने—म हस्तिनापुरका महाराजा विचित्रवीर्यको राज्य प्रतिनिधिका रुपमा स्वयंवरमा भाग लिन आएको उनको दाजु देवब्रत हुँ। यी तीनओटै राजकुमारीहरू महाराज विचित्रवीर्यका रानीका रुपमा विवाह गर्नका लागि उनको प्रतिनिधिका रुपमा मैले हरण गरेको हुँ। कसैको तागत छ भने मलाई हराएर राजकुमारीहरू फिर्ता लिए हुन्छ, होइन भने मैले हस्तिनापुरका चक्रवर्ती महाराज विचित्रवीर्यका लागि महारानी बनाउन राजकुमारीहरू लिएर गएँ। म स्वयं त कहिल्यै विवाह नगर्ने भीष्म प्रतिज्ञामा बाँधिएको छु।
उपस्थित राजाहरूले त्यो हुङ्कारलाई उनीहरूको अहम्माथिको अपमान सम्झे र राजकुमारीहरूलाई अपहरणबाट रोक्न खोजे, युद्धका लागि तयारी भए तर देवब्रतसँग कसको के लाग्थ्यो र हजारौँ वाणहरू एकैपटक बर्साउँदै राजकुमारीहरूलाई लिएर हिँडे। उनले एउटै रथमा तीन राजकन्याहरूलाई लिएर हस्तिनापुरतर्फ गए। बाटामा त रथ दौडाउने र छिटो छिटो हस्तिनापुर पुग्नुपर्ने हतार थियो। जेठी राजकुमारी अम्बा बाटामा पनि केही भन्न खोज्दै थिइन् तर महान योद्धा देवब्रतले केही सुन्नै चाहेनन् र भने —जे भन्नु छ, दरबारमा गएर भन्नू। तैपनि अम्बाले हात जोडेर भनिन्, महान योद्धा देवब्रत, म अर्कै राजकुमारसँग प्रेम गर्छु र उनीसँग विवाह गर्न चाहन्छु। उनी पनि त्यही स्वयंवर सभामा आएका थिए र म उनलाई वरमाला पहिर्याउन चाहन्थेँ। यदि मलाई अनुमति दिनुहुन्छ भने म महाराज शाल्वसँग विवाह गर्न चाहन्छु जसको अनुमति मैले पिता महाराजसँग लिई सकेकी थिएँ।
हस्तिनापुरमा पुगेपछि तीनओटै राजकुमारीहरूको विवाह महाराज विचित्रवीर्यसँग गर्ने समारोहको आयोजना गर्न थालियो। त्यहाँ पनि जेठी राजकुमारी अम्बाले फेरि पनि भनिन्—राजमाता, राजकुमार तथा महाराज विचित्रवीर्य, मलाई मेरो देश जान दिनुस् या पुर्याई दिनुस् किनभने मेरो मनले महाराज शाल्वलाई वरमाला पहिर्याएको छ, म उनलाई बाहेक कसैलाई पति मान्न सक्दिन।
महान योद्धा देवब्रतले भने—यदि त्यस्तो हो भने, जाऊ र आफ्नो प्रेमीसँग विवाह गरेर शान्तिपूर्वक जीवन यापन गर। उनी गइन् र महाराज शाल्वसँग विवाह गर्नका लागि अनुरोध गरिन् तर महाराज शाल्वले मानेनन् र भने—अर्काले हरण गरिसकेकी कन्या अब मेरी महारानीका रुपमा स्वीकार गर्न सकिन्न। उतै जाऊ र आफ्नो विवाह गर। उनी फर्केर भीष्म प्रतिज्ञ राजकुमार देवब्रतसँग भन्न थालिन्—मेरो जीवन त यता न उताको हुनेभयो। विवाह गरेर मलाई सन्तुष्टि दिनुस् र तपार्इँकी रानीको रुपमा म अब विवाहित हुनुपर्छ किनभने मलाई हरण गर्ने तपाईँ नै हो, नत्र मेरो विवाह महाराज शाल्वसँग भई सक्ने थियो।
भीष्म प्रतिज्ञ योद्धा देवब्रतले भने—यदि पहिले नगएको भए भाइ विचित्रवीर्यसँग विवाह गरिन्थ्यो जसरी कि तिम्रा दुई बहिनीहरूसँग विवाह भयो। म त विवाह गर्ने होइन, तिमी फर्केर जाने ढिपी गरेकीले हाम्रो दरबारले पनि तिमीलाई स्वीकार गर्दैन। जहाँ जान्छ्यौँ, जाऊ। पहिले नगएको भए हुन्थ्यो किनभने मैले हरण गरेर ल्याएको थिएँ र भाइसँग विवाह गर्ने थिएँ। अब त्यो पनि सम्भव छैन।
जेठी राजकुमारी अम्बा पीडित भइन् — न माइतीले स्वीकार गर्ने, न शाल्वले स्वीकार गर्ने, न हरण गर्ने पक्षले स्वीकार गर्ने। कता जाने ? कहाँ गएर जीवन यापन गर्ने ? अनि उनी गइन् भीष्म प्रतिज्ञ राजकुमारका गुरु परशुरामसँग अनुनय विनय गर्न र आफ्नो अधिकारको सुरक्षाका लागि। परशुरामले जब सुने कि यो अन्याय हस्तिनापुरको तर्फबाट भयो, झन त्यसमा पनि कहिल्यै विवाह नगर्ने भनेर प्रतिज्ञा गरेको ब्रह्मचर्याश्रममा बस्ने प्रण गरेको देवब्रतबाट। परशुरामको अत्यन्त अनुशासित शिष्य देवब्रत त उनले भनेको मान्ने भएकाले उनी सम्झाउन भनेर हस्तिनापुर आए र अम्बाले न्याय पाउने कुरामा वकालत गर्न थाले र भने—यो अबलामाथि अन्याय मलाई सहन भएन राजकुमार देवब्रत, यसले न्याय पाउनु पर्छ र उनको विवाहको व्यवस्था हस्तिनापुर नरेशसँग गरिनु पर्छ। क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन
- किन आयो शिखण्डीमा मर्ने चाहना?
- शिखण्डीको नियति
- जब अम्बाको तपस्याले शिवजी प्रसन्न भए…
- अम्बाका कारण परशुराम र भीष्म बिच युद्ध
- राजकुमारी अम्बाको पीडा
- भीष्म प्रतिज्ञा र भावी उत्तराधिकारीको सङ्कट
- सत्यवतीको अपराध बोध
- वृद्ध महाराजामा अचानक यौनेच्छा