दक्षिण चीन सागरमा फिलिपिन्स चीनको झडप, अमेरिका र जापान आक्रोशित

विवादित दक्षिण चीन सागरको फ्ल्यास पोइन्ट क्षेत्रमा चीनको तट रक्षक जहाजले फिलिपिन्स तट रक्षक जहाजमाथि प्रहार गरेपछि जापान र अमेरिका चीनप्रति आक्रोशित भएका छन् ।

शनिबारको झडप चीन र फिलिपिन्स बिच अगस्ट महिनामा भएको पाँचौँ घटना हो । मनिलाको विशेष आर्थिक क्षेत्र भित्र, फिलिपिन्स तटबाट लगभग २०४ किलोमिटरमा अवस्थित सबिना सोलमा यो झडप भएको  थियो।  चिनियाँ भूभाग लगभग एक हजार २०० सय किलोमिटर टाढा रहँदा पनि दुवै पक्षले सोलको दाबी गरेका छन् ।

फिलिपिन्सले ९७  मिटर लामो बीआरपी टेरेसा म्याग्बानुआ गस्ती जहाजलाई अप्रिल १५ देखि त्यसै क्षेत्रमा तैनाथ राखेको छ ।

फिलिपिन्सको जहाजमाथि “प्रत्यक्ष र जानाजान” चीनको तट रक्षक जहाजले तीन पटक हमला गरेको थियो । फिलिपिन्स तट रक्षकका प्रवक्ता जे तारिएलाले सामाजिक सञ्जाल एक्समा  पोस्ट गरेका तस्बिरहरूले जहाजमा ठुलो क्षति भएको देखिन्छ ।

प्रवक्ता तारिएलाको अनुसार- ‘फिलिपिन्सको जहाजलाई सुरुमा धेरै चिनियाँ जहाजहरूले चारतर्फबाट घेरेर  बिना कारण म्याग्बानुआलाई लक्षित गरी प्रहार गरेका थिए ।’

चीन तट रक्षकले शनिबार एक विज्ञप्तिमा जारी गर्दै म्याग्बानुआ जहाज सबिना सोलमा “गैर कानुनी रूपमा बसेको बताएका छन् । साथै चीनले विज्ञप्तिमा फिलिपिन्सको जहाज उत्तेजक रूपमा चलिरहेको पनि आरोप लगाएको थियो।

विज्ञप्तिमा चिनियाँ जहाजले सुरुवातमा मौखिक चेतावनी जारी गर्दै निगरानी र नियन्त्रण उपायहरू प्रयोग गरेको र फिलिपिन्सको जहाज जानाजान चाइना तट रक्षक जहाजसँग ठोक्किएको दाबी चीनले गरेको छ ।

चीन तट रक्षकका प्रवक्ता लिउ डेजुनले भने – “जिम्मेवारी पूर्णतया फिलिपिन्स पक्षको हो । हामी फेरि फिलिपिन्सलाई वास्तविकताको सामना गर्न र भ्रम त्याग्न कडा चेतावनी दिन्छौँ । प्रवक्ता डेजुनलले फिलिपिन्स त्यस ठाउँबाट तत्काल फिर्ता जानु नै उत्तम हुने भनेका छन्।

फिलिपिन्सका प्रवक्ता तारिएलाले भने – “ चिनियाँ तट रक्षकको उत्पीडन, बदमासी गतिविधि र बढ्दो कारबाहीको बाबजुद  यस क्षेत्रबाट आफ्नो जहाज हटाउने हाम्रो कुनै मनसाय छैन “।

फिलिपिन्सका लागि जापानी राजदूत काजुया एन्डोले सामाजिक सञ्जाल एक्समा लेखेका छन् – “ टोकियो, दक्षिण चीन सागरको एक सरोकारवालाको हैसियतले चीनबाट दोहोरिने यस्ता घटनाहरूमा गम्भीर चिन्ता व्यक्त गर्दछ । बल र जबरजस्तीद्वारा यथास्थिति परिवर्तन गर्ने कुनै पनि एकपक्षीय प्रयासको जापान विरोध गर्दछ ।”

फिलिपिन्सका चिनियाँ दूतावासका प्रवक्ताले जापानी राजदूत एन्डोको आलोचना गर्दै उनको आलोचनालाई “सिद्धान्तविहीन” र  पूर्वाग्रहले भरिएको भनेका छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले जापान र अमेरिकालाई बढ्दो दक्षिण चीन सागर तनावका उत्प्रेरकहरूको संज्ञा दिँदै आलोचना गरेको छ । साथै दुई देशहरूले विवादलाई अझै बढाउने कोसिस गर्दै सबै क्षेत्रीय देशहरूलाई मिलाएर चीन विरुद्ध संयुक्त मोर्चा बनाउन खोजेको आरोप पनि लगाएको छ ।

फिलिपिन्स, ब्रुनाई, मलेसिया, ताइवान र भियतनामको दाबीको बाबजुद बेइजिङले लगभग सम्पूर्ण दक्षिण चीन सागर आफ्नो भूभाग हो भन्ने दाबी गर्दै आएको छ । वार्षिक तीन  ट्रिलियन डलरको व्यापार आवतजावत हुने यस रणनीतिक जलमार्ग क्षेत्रमा तेल, प्राकृतिक ग्यास र माछा पनि प्रचुर मात्रामा रहेको आङ्कलन छ ।

फिलिपिन्सका अनुसार चीनले सबिना सोल क्षेत्रमा ४० नौसैनिक र तट रक्षक जहाजहरू तैनाथ गरेको छ । यसको उद्देश्य आंशिक रूपमा  फिलिपिन्सलाई म्याग्बानुआ जहाजसँग  पुनः सम्पर्क  गर्नबाट रोक्नु हो। यस कदमले सो क्षेत्रमा नियन्त्रण गर्ने प्रयास हुन सक्ने दुवै पक्षको आशङ्का छ।

पहुँच विच्छेद गर्ने चीनको यस कदमले मनिलाको समुद्री पुनः सम्पर्क अभियानलाई मात्र रोकेको छैन, यस आक्रमणबाट धेरै जहाजहरूलाई गम्भीर क्षति पुगेको छ।

अमेरिकाले शनिबार एक विज्ञप्ति जारी गर्दै फिलिपिन्सको लागि आफ्नो समर्थन व्यक्त गरेको छ । साथै अमेरिकाले बेइजिङद्वारा सबिना सोल नजिकै फिलिपिन्स विरुद्ध चीनको खतरनाक र बढ्दो हस्तछेपको निन्दा गरेको छ । विज्ञप्तिमा दक्षिण चीन समुन्द्र क्षेत्रमा आफ्नो पूर्ण सार्वभौमसत्ताको दाबी गर्ने चीनको बढ्दो दृढताले सबै क्षेत्रीय राष्ट्रहरूको स्वतन्त्रतालाई खतरामा पारेको भनिएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link