रुसद्वारा किएभमा ड्रोन, क्रुज र ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण

रुसले किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको युक्रेनको वायुसेनाले बताएको छ ।

सोमबार बिहान युक्रेनको राजधानीमा शृङ्खलाबद्ध धेरै विस्फोट भएका छन् र राजधानीका बासिन्दाहरूलाई बम आश्रय स्थलहरूमा पठाइएको छ ।

किएभका मेयर भिटाली क्लिट्स्कोले आपत्कालीन सेवाहरूलाई किएभको होलोसिभस्की जिल्लामा बोलाइएको बताउनुभयो । उहाँका अनुसार शेभचेनकिभ्स्की जिल्लामा भग्नावशेषमा खसेर एक व्यक्ति घाइते भएका छन् ।

“हरेक कुराको जवाफ हुनेछ, दुश्मनले यो महसुस गर्नेछ”, आक्रमणपछि राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यरमकले टेलिग्राम पेजमा पोस्ट गर्नुभयो ।

वायुसेनाका अनुसार रुसले किएभलाई लक्षित गर्दै ब्यालेस्टिक मिसाइल प्रक्षेपण र केही ड्रोनका साथ क्रुज मिसाइलका धेरै समूहहरू प्रहार गरेको थियो ।

किएभ सहरका सैन्य प्रशासनका प्रमुख सेरही पोपकोले युक्रेनको राजधानी र यसका उपनगरहरूमा प्रहार गरिएका १० भन्दा धेरै क्रुज मिसाइल, करिब १० ब्यालेस्टिक मिसाइल र एउटा ड्रोनलाई युक्रेनको हवाई सुरक्षाले नष्ट गरेको बताउनुभयो ।

युक्रेनी सञ्चारमाध्यमका अनुसार युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभमा पनि विस्फोट भएका छन् । खार्किभ क्षेत्रका प्रमुख ओलेह सिनिहबोभले खार्किभको इन्ड्रस्ट्रियलनी जिल्लामा बिहानै आक्रमणको पुष्टि गर्दै आक्रमणबाट एउटा आवासीय भवन र अन्य धेरैमा आगो लागेको बताउनुभयो ।

रुसको सेनाले करिब साढे दुई वर्षदेखि चलिरहेको युद्धको सबैभन्दा ठूलो युक्रेनी आक्रमणमा धेरै रुसी क्षेत्रलाई लक्षित गरी एक सय ५८ युक्रेनी ड्रोनहरूलाई रोकेको र नष्ट गरेको रिपोर्ट दिएको एक दिनपछि रुसबाट यो आक्रमण भएको हो ।

यो आक्रमण रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको घुसपैठको केही सातापछि भएको हो । मस्कोको सेनाले अहिलेसम्म युक्रेनी सेनालाई पछाडि धकेल्नका लागि सङ्घर्ष गरेको छ र क्रेमलिनले यसको जवाफ दिने वाचा गरेको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link