द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—३३
गुरु चेलाका बिचमा विवाद यति बढ्यो कि दुवै युद्धका लागि तयार भए। परशुरामले युद्धको ललकार गरे र परशुरामका योग्य शिष्य देवब्रतले पनि गुरुले सिकाएको युद्धकला प्रयोग गर्नुपर्ने अवस्था आउँदा चुपचाप नबस्ने भनेर युद्धका लागि तयार भए। भयानक युद्ध भयो …..
यहाँ अन्याय र न्यायको पक्ष र विपक्षको प्रश्न उठ्यो। राजर्षि होत्रवाहनको अनुरोधमा उनकी नातिनी अम्बाको रक्षाका लागि भगवान परशुराम तयार भए र आफ्नो प्रिय शिष्यसँग न्यायका लागि लड्न तयार भए। शान्तनुनन्दन देवब्रत पनि आफूले कुनै अन्याय नगरेकाले गुरु परशुरामसँग पनि लड्न तयार भए।
अम्बाले आफूले शाल्वलाई वर मानेकाले जान्छु भन्नु अनि शाल्वले स्वीकार नगरेपछि आफ्नो दोष नरहेको तर्क भीष्मको थियो भने शाल्वले स्वीकार नगरेको कारण तिमीले अपहरण गरेर लगेकाले हो, त्यसैले या त तिमी विवाह गर या त महाराज विचित्रवीर्यसँग विवाह गराउनु पर्ने तर्क परशुरामको रह्यो।
न्याय र अन्यायको छिनोफानो अब युद्धबाटै हुने भयो। गुरु परशुराम र उनका प्रिय शिष्य देवब्रतका बिचमा युद्ध गर्नका लागि कुरुक्षेत्र नै तोकियो। युद्धका नियम अनुसार गुरु चेलाका बिचका भयानक युद्ध भयो। कहिले गुरुले जिते जस्तो, कहिले शिष्यले जितेजस्तो भई नै रह्यो। काशीराजकी जेठी छोरी अम्बाका कारणले त्यो समयका अत्यन्त युद्धनिपुण भगवान परशुराम र हस्तिनापुरका सेनापति समेत रहेका शीर्ष लडाकु भगीरथीनन्दन भीष्मका बिचमा भएको युद्धलाई राक्षस र देवताका बिचको युद्ध सम्झाउने खालको थियो। ख्याल ख्यालमा अम्बाको कारणले गुरु चेलाको युद्ध यसरी हुन थाल्यो कि उनीहरुले जानेका अनेक युद्ध कला सँगै संसार नाशक ब्रह्माश्त्रसमेतको प्रयोग हुन थाल्यो। परशुरामले संयम गुमाएर आफ्नो चेलाको अन्त्यका लागि मन्त्रेर छोडेको ब्रह्मास्त्रले संसार दग्ध गर्न थाल्यो अनि गङ्गानन्दनले पनि गुरु परशुरामले सिकाएको ब्रह्मास्त्रलाई निरस्त गर्ने अर्को ब्रह्मास्त्र प्रयोग गर्न बाध्य भए, नत्र भने संसार जल्ने थियो। अब झन परशुराम रिसाएर जसरी पनि भीष्मलाई झुकाएर, हराएर अम्बा जिम्मा लगाउने भन्दा पनि अहम्को टकराव भयो र मार्ने नै नियतले हतियारहरुको प्रयोग गर्न थाले। उनै परशुरामले सिकाएका अन्य शस्त्रास्त्रको प्रयोग गर्न भीष्म पनि बाध्य भए। दुवै जना हार्न चाहँदैनथे। भीष्मको धारणा थियो, उनले अन्याय गरेका नै थिएनन्, अम्बिका र अम्बालिकालाई हस्तिनापुर दरबारले स्वीकार गरेकै थियो तर अम्बा बिचैमा छोडेर गएकीले स्वीकार गर्न सकिँदैन। परशुरामको जिद्दी थियो, मैले भनेपछि नमान्ने को? मैले न्याय भनेपछि त्यही न्याय हो, तत्काल अम्बालाई स्वीकार गर्ने हो भने यो युद्ध तत्काल बन्द गरिनेछ। भीष्म भन्थे, मेरो चाहनाले यो युद्ध भएको होइन, क्षेत्रीको छोरोले त झन युद्धको लल्कार आए पनि पीठ फर्काएर हिँड्नु नै भएन। जे परिणाम आओस्, म लडिरहन्छु तर युद्धलाई बिचमा छोडेर फर्कन्न, अम्बालाई पनि स्वीकार गर्दिन।
अनावाश्यकको युद्धबाट परशुरामका पितृहरु पनि आत्तिए र आफ्नो छोराले गल्ती नै नगरी भृगुनन्दन परशुरामले निहुँ खोजेर युद्ध गरी संसार नै ध्वंश पार्न थालेकोमा भगीरथी पनि दिक्क भइन् र यो युद्धको अन्त्य कसरी गर्ने भन्नेमा तेस्रेपक्षले सल्लाह गर्न थाल्यो। एकातिर युद्धबाट वाक्क दिक्क भएर पनि अहम्का लागि परशुराम युद्ध छोड्न नचाहने। किनभने परशुरामले हारेर भाग्यो भन्ने अपवाद फैलिने डर थियो। अनि शन्तनुनन्दन पनि हस्तिनापुरका सेनापतिले एकजना ब्राह्मणसँग पनि हारेर भाग्नु परेको अपवाद सुन्न र हेर्न चाहँदैनथे। र पनि युद्ध भयानक तरिकाले चल्दै थियो। अब एकदम रिसाएर भीष्मले प्रस्वापास्त्र छोड्न संकल्प गर्नैलाग्दा भने संसार डरायो र यो युद्धको अन्त अब हुनै पर्छ भनेर भन्न थाल्यो। अब को पछि सर्ने भन्ने समस्या आयो। परशुरामले भनेछन्—म त त्यो आफ्नो शिष्यसँग हारेर हिँड्दिन, पछि पनि फर्कन्न तर यदि उसले मैदान छोडेर जान्छ भने म उसको पिछा गर्दिन। अनि भीष्म पनि भन्नथाले, बरु मर्छु तर म युद्ध मैदान छोडेर जान्न। अन्तमा भीष्मकी माता गङ्गाले छोरालाई सम्झाइन्—बाबु गुरुसँग हार्नु पनि हुन्छ र गुरुसँग पछि फर्कनु पनि हुन्छ ,संसार दग्ध हुन थाल्यो अब तिमीले नै गएर गुरुसँग यो युद्धको अन्त गरौँ भनेर अनुरोध गर। उता परशुरामका पिता जमदग्निले भीष्मलाई नै जित्न देऊ, ब्राह्मण भएर सधैँ रिस र आवेगमा युद्ध गर्नु हुँदैन,विनयशीलता आवश्यक छ, यो युद्ध तत्काल छोड। अनि गङ्गाको आदेश पाएपछि भीष्मले गुरुलाई प्रणाम गरे र भने— म जस्तै परिस्थितिमा पनि यो युद्ध छोड्दिन तर भगवानसँग लड्ने मेरो चाहना होइन, आशीर्वाद पाऊँ र यो युद्धको अन्त गरौँ। परशुरामले पनि भीष्मलाई सदैव विजयी भव भन्दै अम्बालाई हस्तिनापुरमा गएर शान्तसँग बस भने। तर न हस्तिनापुर उनलाई स्वीकार गर्न तयार थियो, न उनी नै हस्तिनापुर जान तयार थिइन्।
अम्बाले त्यसपछि शिवजीको यति धेरै तप गरिन्,यति कडा तपस्या गरिन्। फलतः शिवजी प्रसन्न भएर उनलाई वरदान दिनु भयो —तिमीले शन्तनुनन्दन भीष्मको वध गर्न सक्नेछ्यौँ। अनि ती राजकन्याले शंका व्यक्त गरिन्, म स्त्रीले कसरी हत्या गर्न सकूँला र? अनि शिवजीले भन्नुभयो —मेरो वरदान खेर जाँदैन। क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार