द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी-३५

हरिविनोद अधिकारी
अनि वत्सकन्याको पनि निधन भयो। आधा शरीर बाङ्गो टिङ्गो हुँदै अम्बा नदीको रूपमा नै रह्यो तर आधा शरीरको पुनर्जन्म पाञ्चाल नरेश द्रुपद महाराजकी जेठी छोरीको रूपमा भयो तर जन्मेदेखि नै किन हो, महाराजको छोरो भयो भन्ने हल्ला चल्यो …….
भएको के थियो भने जब अम्बाको घोर तपस्याबाट शिवजी प्रसन्न हुनु भएर वत्स देशकी कन्यालाई वरदान लिन भन्न थाल्नुभयो, अनि ती पूर्वजन्मकी अम्बा जो बत्स देशकी कन्याका रूपमा घोर तपस्या गर्दै थिइन्, उनले भन्न थालिन्- मलाई यदि वर दिनु नै हुन्छ भने देवाधिदेव, मेरो पुनर्जन्म पनि होस् र आगामी जन्मका लागि अरु भन्दा पनि जसरी हुन्छ, शन्तनुनन्दन देवब्रतको वध गर्न सकूँ। म पतिका लागि, परिवारको खुसीका लागि र सन्तानका लागि लालायित भएर महाराज शाल्वसँग विवाह बन्धनमा बाँधिन चाहेकी थिएँ अघिल्लो जुनीमा। त्यो त तिनै देवब्रतका कारणले असफल भयो, वरमाला पहिर्याउन तयार भएर बसेकी थिएँ। वरमाला लगाउन महाराज शाल्वनिर नपुग्दै अपहरणको शैलीमा रथमा चढाइयो, चापचुप पारेर रथ दौडाइयो। एउटी वयस्क महिलामा जुन कल्पना थियो, राजाकी रानी हुँली, राजाका लागि उत्तराधिकारी पाउँली र छोरालाई भावी राजा बनाउनका लागि तालिम दिउँली। तर ती सबै सपना धुजा धुजा भएर गए अनि उल्टै हस्तिनापुरमा अपमानित हुनपर्यो। त्यसैले हे देवाधिदेव, यदि मेरो तपस्याबाट हजुर खुसी भएर वरदान नै दिन तयारी हुनु भएको हो भने र मैले सुनेजस्तो महादेवले खुसी भएपछि जे पनि वरदान दिनुहुन्छ र त्यो पूरा हुन्छ भन्ने सुनेकी थिएँ। त्यसैले हे वृषभध्वज, पार्वतीनाथ, मेरो अरु कुनै माग छैन, वरदान अरु माग्नु पनि छैन तर भावी जन्ममा पुरुषको रूपमा मलाई जन्म हुने सौभाग्य प्राप्त होस् र मैले युद्धमा जितेर गङ्गानन्दन भीष्म प्रतिज्ञ देवब्रतको हत्या गर्न सकूँ।
पुरुषको भन्दा स्त्री जातिमा ममता र मायाको भण्डार हुन्छ भनिन्छ र जस्तोसुकै अपराधमा पनि क्षमा दिन्छन् भन्ने लोकोक्ति छ। तर काशीराजनन्दिनी अम्बामा भने यति धेरै अपमानको ज्वाला दन्केको थियो कि राजकुमारी अम्बाबाट अम्बा नदी बन्दै, पुरानो सम्झना ताजा रहने गरी वत्सदेशकी कन्याको रूपमा जन्म हुँदा पनि अघिल्लो जन्मको तुस बाँकी नै रह्यो र देवाधिदेवसँग त्यही अपमानको प्रतिशोध स्वरूप भीष्मको नै मृत्यु मागिन्, त्यो पनि उनकै हातबाट। उनको अर्को पनि गुनासो रहेको थियो शिवजीसँग कि यदि त्यो वरदान दिन नसक्ने हो भने कुनै पनि वरदान चाहिँदैन र यो जुनी पनि घोर तपस्यामा नै समाप्त गर्नेछु। जबसम्म देवब्रतको वध गर्ने शक्ति सञ्चय हुँदैन, बारम्बार उनको विरुद्धमा तपस्या गरिरहने छु र उनको हत्या गरेरमात्र आफ्नो मनमा शान्ति प्राप्त गर्नेछु। त्यो पनि उनलाई थाहा थियो कि भीष्म प्रतिज्ञ शन्तनुनन्दन देवब्रतको मृत्यु उनको इच्छामा भरपर्छ र चाहेको दिनमात्र उनको मृत्यु हुनेछ। तर उनी शन्तनुनन्दनको मृत्युको कारण बन्न चाहन्थिन् र यो लोकको इतिहासमा संसारको सबैभन्दा योद्धाको मृत्युको कारण अम्बा भएकी थिइन् पुनर्जन्म भएर पनि। नभन्दै आजको महाभारतको कथाले, इतिहासले हामीलाई त्यही भन्छ कि तिनै अम्बा शिखण्डीको रूपमा राजा द्रुपदको पहिले छोरीको रूपमा र पछि छोराको रूपमा महारथीको हैसियतले महाभारतको युद्धमा सामेल भएर भीष्म पितामहको निधनको कारण बनेका थिए।
देवाधिदेव शिवजीले उनको स्पष्ट धारणा सुनेपछि खुसी हुँदै वत्सदेशकी ती तपस्यारत महिलालाई भन्नुभयो -तथास्तु। तर पहिले स्त्रीकै रूपमा जन्म हुनेछ महाराज द्रुपदको दरबारमा र पछि पुरुषत्व प्राप्त हुनेछ र युद्धका लागि योग्य महारथी बन्ने छ्यौ। यसमा सन्देश गर्नै परेन, मेरो वरदान कहिल्यै पनि असत्य हुनै सक्दैन। र तिमीमा अम्बा, वत्सदेशी कन्या र पहिले स्त्री पछि पुरुष हुँदा पनि पुराना कुराहरूको याद हुनेछ र प्रतिशोधका लागि सधैँ तयार भएर रहनेछ्यौ।
भीष्म पितामहको अवस्था, हस्तिनापुरमा हुने पारिवारिक विवाद र त्यसका निहुँमा हुने विश्वयुद्धका बारेमा सर्वज्ञ महादेवलाई थाहा नहुने कुरै भएन। तपस्याको वरदान दिने निहुँमा त्यही नियतिको रेखा कोर्न नै महादेव त्यहाँ आउनु भएको थियो। त्रिकालदर्र्शी शन्तनुनन्दनलाई द्रुपदका घरमा अम्बाको पुनर्जन्म हुनुभन्दा पहिलेदेखि नै थाहा थियो कि अम्बाको जन्म पाञ्चाल नरेश द्रुपदका दरबारमा महारानी प्रिषतीको गर्भबाट हुँदैछ। र महादेवलाई यो पनि थाहा थियो, शिखण्डीको नियति थाहा नपाएका महाराज द्रुपद, महारानी प्रिषती र पाञ्चालबासीहरूका लागि शिखण्डी सुरुमा पुरुषका रूपमा लोकमा प्रचारबाजीमा रहने र पाञ्चाल राज्यमा युवराजको जन्म भएको हल्ला गरिनु पर्ने थियो। अन्यथा, पाञ्चालमाथि बाहिरी हमला हुनसक्थ्यो। अनि छोरीका रूपमा जन्मेकी भए पनि शिखण्डीको शिक्षा, दीक्षा, रणकौशल एउटा शिल्पी राजकुमारको जस्तै गरी प्रशिक्षण दिइएको थियो।
यसरी भावी राजाको रूपमा तयारी गरिएकी शिखण्डिनी या शिखण्डीले यसकारणले शस्त्रास्त्रको प्रशिक्षण लिएको पाइन्छ कि पाञ्चाल राज्यले भावी युवराजको तयारी गरेको थियो भने उनी शिखण्डीको प्रत्येक वाण संशाधनमा भीष्मको मुटु ताकेर मार्ने नियतले नै सिकेको देखिन्थ्यो मानसिक रूपमा। अरुलाई यो गोप्यकुरा थाहा थिएन तर शिवजीको वरदानले नै द्रुपद महाराजका दरबारमा जन्म लिएकी छोरी शिखण्डिनीलाई कतै पनि कुनै पनि तरिकाले छोरीको रूपमा प्रस्तुत गरिएको पाइँदैन। त्यतिमात्र होइन, उनको विवाह समेत भएको थियो। तर उनले आफ्नो भाकलको निहुँमा आफ्नी विवाहित नारीसँग सहबास गरेका थिएनन्। यसले शङ्गा त उत्पन्न गरेको थियो तर महाराज द्रुपदसँग यसको उजुरी गर्न कोही पनि तयार थिएनन्। अर्थात् दशार्ण देशकी राजकुमारी स्वयं भित्रभित्रै, मनमनै पिल्सिएकी थिइन् किनभने वयस्का राजकुमारीले सहबासको सुख प्राप्त गर्न सकेकी थिइनन्। अनि केही सिप नलागेपछि माइतीमा यो कुरा गोप्य तरिकाले महाराज अशाधमित्रका सुराकी मार्फत् पठाइन्। यो हिम्मत गर्ने क्षमता उनमा किन पनि आयो भने दशार्ण देश त्यसबेलाको लडाकुहरूको देशको रूपमा चिनिन्थ्यो र पाञ्चालभन्दा शक्तिशाली देशको रूपमा गणना हुन्थ्यो। महाराज अशाधमित्रले गोप्य रूपमा नै चुनौती थिए महाराज द्रुपदलाई। राजकुमारीले एक प्रकारले ठोकुवा नै गरेर समाचार पठाएकी थिइन् कि शिखण्डी पुरुष होइनन्, पक्का स्त्री नै हुन्, उनको कुनै पनि हाउभाउले राजकुमारको लक्षण देखिँदैन र एकान्तमा मात्र बस्ने र मात्र शस्त्रास्त्रको निसानामा मात्र आफूलाई केन्द्रित गर्ने गर्थे।
नियतिले देखाएको बाटो थियो, महान योद्धा, हस्तिनापुरका सेनापति, कुरुवंशीय शिरोमणि जस्ता योद्धालाई वाण हानेर वध गर्ने शक्ति सञ्चयमा लागेका शिखण्डी वास्तवमा स्त्री नै थिए तर सम्पूर्ण व्यवहार भने पुरुषको जस्तै गर्थे। उनको ध्याउन्न भनेको मात्र भीष्मको वध थियो र पाञ्चालका सुराकीहरूलाई उनले भीष्मको चियोचर्चो गर्ने र उनका दैनिकीको ख्याल गर्ने काममा लगाएका थिए। शिखण्डीलाई मात्र के थाहा थियो भने शिवजीको वरदान असत्य हुनेछैन र अम्बाको बेलामा पाएको अपमान र दुःखको बदला यो जुनीमा लिन सक्नेछु जसका लागि शिवजीको वरदानले काम गर्नेछ। तर कहिले? कुन बेलामा? तर युद्धमा, भीष्मले पनि हतियार लिएर लडेकै बेलामा त होला नि? क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- र अन्त्यमा, महाभारतः तीन कृष्ण, एक कृष्णा र अनुपम महाकाव्य
- अन्त्यमा कहाँ समाहित भइन द्रौपदी?
- कुरुवंश विनाशकः शकुनि
- कुन्तीको सन्देश— युद्धको विकल्प छैन
- प्रजातन्त्र संस्कारको रुपमा विकसित हुनुपर्छ
- युद्धपीडित आमाहरू
- संसद्: जनअपेक्षा र संसदीय दायित्व
- अश्वत्थामाको प्रतिशोध
- श्राप र वरदानबाट किचिएकाहरू
- कर्णका सारथि किन बने महाराज शल्य?
