द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—३७
आजसम्म महाराज द्रुपद र महारानी प्रिषती बाहेक कसैलाई पनि आफ्नो गोप्यता थाहा नभएको तर पत्नीका रूपमा विवाहित दशार्णकन्याले शंका लागेकाले माइती गुहारिन् र आफ्ना कारणले पाञ्चाल राज्य नै खतरामा पर्न लागेकाले र युद्धको बादल आकाशमा मडारिएको देखिएकाले राज्यभन्दा आफू सानो ठानेर मर्न आएकी हुँ भनेपछि यक्षको मन पग्लियो। ऊ सायद लिंग परिवर्तन गर्न सक्ने वैज्ञानिक थियो र आफ्नो दक्षता देखाएर गुण लगाउन चाहन्थ्यो …….
स्थूणाकर्णलाई दया यसकारणले लाग्यो कि यक्षको रूपमा ऊ निशाचर थियो, कतै लुकेर बस्थ्यो र बाहिर हिँड्दा भारी शरीर भएकाले मानिसहरूले राक्षस भन्ने सम्झेलान् भन्ने पनि थियो होला। तर थियो अत्यन्त दयालु र सेवा भाव भएको प्राणी। यक्षलाई देवयोनि पनि मानिन्छ। काँध ठुलो, पेट ठुलो तर हात खुट्टा मोटा काला हुने भएकाले मानिसहरू डराउने हुन् कि भन्ने कारणले आफ्ना आहारहरू खोजेर गुफामा बसेर दिन बिताउँथ्यो स्थूणाकर्ण। यक्षको कुरा गर्दा स्वयं स्वर्गलोकका कोषाध्यक्ष, कोषागारका रक्षक र सञ्चालक कुवेर पनि यक्षको गणनामा पर्छन् भन्नेछ। कुवेर ब्रह्माको नाति, विश्रवा मुनिका छोरा हुन् र लङ्कामा राज्य गर्थे। सुनको लङ्का बनाउने कुवेर दाजु नै भए पनि रावणले जितेर राज्य कब्जा गरेको थियो। रावणका पिता र कुवेरका पिता एउटै ऋषि भए पनि माताहरू फरक थिए। त्यसैले सौतेनी मामिलाको रिसले रावणले आफ्ना दाजु कुवेरलाई लङ्काबाट लखेटेको रामायण र पुराणहरूमा पाइन्छ। ब्रह्माजी र लक्ष्मीका कृपाले पृथ्वीको उत्तरी भागको राज्य कुवेरलाई दिइयो र उनलाई इन्द्रको कोषागारको रक्षक बनाइयो। त्यसैले यक्ष गन्धर्वहरूलाई देवयोनि मानिन्छ तर राक्षसको रूपमा पनि गणना गरेको कतैकतै पाइन्छ। त्यसो त रक्ष र यक्ष संस्कृतिमा खासै अन्तर पनि पाइँदैन। जस्तो कि कुवेर र रावण दुवै विश्रवा मुनिका छोराहरू हुन् तर कुवेर देवयोनिका रूपमा गणना गरिए भने विश्रवाका राक्षसी कैकेसीका छोरा भएकाले रावणादिहरू राक्षसमा गणना गरिए।
तर यहाँ प्रसङ्गमा आएको स्थूणाकर्ण यक्ष सम्भवतः योनि परिवर्तन गर्ने क्षमता भएको वैज्ञानिक थियो होला। योनि परिवर्तन मात्र गर्ने होइन कि योनि रोपण गर्ने र योनि फिर्ता (यहाँ योनिका रूपमा लिङ्ग परिवर्तन गर्नका लागि रोपण र प्रतिरोपण गर्नसक्ने क्षमताका धनी) लिन र दिन सक्ने रहेछन्। शिखण्डीले पनि हिमालयको वनकुञ्ज भित्र कुवेरका कृपाले भव्य महल बनाएर बसेको स्थूणाकर्णको दरबारमा प्रवेश गरेर निराहार ब्रत बस्ने शिखण्डिनीको बारेमा थाहा पाएर सामुन्ने ल्याउन भने। यसरी सामुन्ने आएकी शिखण्डिनीले दशार्ण देशका प्रख्यात लडाकु राजा हिरण्यवर्माको आक्रमण, आफू महिला भएको प्रमाणित हुने भयले भयले काँपी रहेकी राजकुमारी तर राजकुमारको भेषमा रहेकी शिखण्डिनीले यक्षलाई बारम्बार आफू अब बाँच्न नचाहने भएकाले तत्काल खाएर यो मानव चोलाबाट विदा गर्नका लागि अनुरोध गरी रहिन्। दशार्ण नरेश हिरण्यवर्माले सम्पूर्ण परिवार सखाप पारेर राज्य नै जितेको हेर्न नचाहेर दरबार छोडेको अनि मर्न चाहेको बताएर सके सहयोग गर्न अनुरोध पनि गरे। बारम्बार यक्ष स्थूणाकर्णले आफू कुवेरको सेवक भएकाले आफूमा वरदार दिने क्षमता रहेको र दुःखमोचन गर्न सक्षम भएकाले नडराई आफूलाई चाहिएको कुरा माग्न प्रेरित गरी रह्यो। यक्षको छक्क पर्ने पालो थियो किनभने कसैले हिंसात्मक आक्रमण गर्दा पनि मानिसहरू बाँच्नका लागि निहोरा गर्थे, अनुरोध गर्थे भने यो मनुवा त मारेर खानका लागि अनुरोध गर्छ र यो जुनीबाट पार पाउनका लागि लालायित देखिन्छ।
यक्षहरूले मानव भक्षण गर्दैनथे तर कतिपय यक्षको बाहिरी अनुहार र व्यवहारले मानिसहरू डराउँथे। निशाचर भएर हिंड्ने अनि गुफामा दिउँसभर बसेर खानपिन गर्ने यक्षहरू यायावरका रूपमा डुलिरहन्थे। यक्ष, गन्धर्वहरूले मानव अहित गरेको पाइँदैन। गन्धर्वहरू संगीतज्ञ हुन्थे, आज पनि गन्धर्वहरूको पारम्परिक पेसा सङ्गीतमार्फत् जनसेवा, मनोरञ्जन र राजाहरूको प्रशस्ति गाउने हो भनिन्छ। कुनै दुर्घटना या महत्वपूर्ण घटनाहरूको संगीतमय तरिकाले घटना विवेचना गर्ने र पुराना कुराहरूको सम्झना दिलाउने काम हो भनिन्छ।
यक्ष स्थूणाकर्णले बारम्बार आफूले सकेको सहयोग गरेर पाञ्चाल राज्य जोगाउने कोसिस गर्ने बताई रह्यो।शिखण्डीले पनि आफूलाई परेको समस्याको समाधान यक्षबाट हुन नसक्ने भएकाले आफू कृशकाय शरीर लिएर यही दरबारमा मर्ने प्रण गरेको बताए। अनि यक्षले समस्याको चुरोमा पुगेपछि गम्भीर भएर भन्यो—राजकुमारी, चिन्ता नलेऊ। मसँग कुवेरको आशीर्वादले लिङ्ग परिवर्तन गर्ने, फेरि रोपण—प्रतिरोपण गर्ने क्षमता छ। तर तिमीलाई मैले अहिले आफ्नो पुंस्त्व अर्थात् पुरुषको लिङ्ग महिलाको शरीरमा रोपण गर्न सक्छु र तिम्रो महिलाको लिङ्ग आफूमा सार्न सक्छु। तिमीले सच्चारूपले कसरी मलाई आफ्नो कार्यसिद्धि भएपछि लिङ्ग फिर्ता दिने वाचा गर्न सक्छौ र ?
राज्य जाने, बाबुआमा कुलकुटुम्बको हत्या हुने कल्पनाले नै राजकुमारीका रूपमा भए पनि राजकुमारको भेषमा रहेका शिखण्डीले त्यो अमोघ अस्त्र जस्तै वचनलाई तत्काल स्वीकार गरी आफ्नो काम सिद्धिएपछि,दशार्ण नरेशलाई आफ्नो पुरुष भएको सत्यापन गरेपछि तत्काल आएर पुरुषको लिङ्ग फिर्ता गर्ने वाचा गरे। स्थूणाकर्णको मन पग्लियो र शिखण्डीलाई आफ्नो पुंस्त्व रोपण गरे र आफूमा स्त्री योनि सार्न सफल भए। सर्त थियो, पाञ्चालको समस्या हल भएपछि शिखण्डीले पुंस्त्व फिर्ता गर्ने, स्थूणाकर्णले पनि स्त्रीत्व फर्काउने।
एउटा संयोग कस्तो परेको देखिन्छ भने अम्बाको स्वरूपलाई नबिर्सिएकी शिखण्डिनीलाई शिवजीले नै वरदान दिएर पहिले स्त्रीको रूपमा जन्म हुने पछि गएर पुरुषको रूपमा बदलिने आशीर्वाद पूरा हुनु थियो। महाराज द्रुपदलाई पनि शिवजीले छोरोको वरदान दिनुभएको थियो। त्यसैले त्यो वरदान पश्चात् जन्मेकी छोरीलाई पनि शिवजीको वरदानबाट जन्मेको ठानेर, छोराको रूपमा भेषभुसा लगाएर, राजकुमारको जस्तै शिक्षादीक्षासमेत दिइएको थियो। यो घटनाले द्रुपद महाराजको समस्या पक्कै समाधान हुने भयो, शिखण्डीले पनि आफू पुरुष भए पनि ब्रतउपासनाका लागि कुनै पनि महिलामाथि यौन कर्म नगर्ने वचनले नखुलेको, राजकुमारीसँग सम्बन्ध नराखेको बताए। स्थूणाकर्णले दिएको पुरुष लिङ्ग आफूमा राखेर दरबार आएका शिखण्डीको फुर्ती नै अर्को थियो किनभने दशार्ण नरेशबाट देश पनि बच्ने, अनि आफ्नो पुरुष भएको प्रमाणित पनि हुने। जसले गर्दा पाञ्चालको बेइज्जती हुनबाट जोगिने। स्थूणाकर्णलाई लाख लाख धन्यवाद दिँदै, समयकालक्रममा पुंस्त्व फिर्ता गर्ने गरी शिखण्डी फर्केर काम्पल्य आएपछि त्यहाँ खुसीको सीमा नै रहेन। महाराज द्रुपद र महारानी प्रिषतीलाई पक्का थियो, शिखण्डी छोरी नै हो। उनीहरू राज्य पनि गुमाउने र आवश्यक परे आत्महत्या गरेर भए पनि हिरण्यवर्माबाट हुने बेइज्जतीबाट बच्न चाहन्थे। अब त परिस्थिति नयाँ बन्यो र शिखण्डी साँच्चै शिवजीको वरदार बमोजिम पुरुषमा परिवर्तन भएका थिए, द्रुपदलाई दिएको वरदान बमोजिम छोरो पनि प्राप्त भएको थियो।
स्थूणाकर्णको सर्त अनुसार केही समयपछि, समस्याको समाधान सकारात्मकरूपमा भएपछि सर्त बमोजिम शिखण्डी यक्षको दरबारमा पुगे। अब यक्षले भन्न थाल्यो —के गर्ने, यही बिचमा कुवेरको आगमन भयो र मलाई त्यसरी योनि परिवर्तन गरेर महिला भएकोमा रिसाएर अब तँ सधैँका लागि महिला नै भई रहेस् भनेर श्राप दिनु भयो। अर्थात् अब योनि परिवर्तन गर्नका लागि प्रतिरोपण असम्भव हुन पुग्यो। अनि शिखण्डी सदाका लागि राजकुमारका रूपमा परिणत भए। क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- द्रौपदीलाई आफ्नै रूपको चिन्ता
- ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार
- द्रौपदीको छल
- शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन
- किन आयो शिखण्डीमा मर्ने चाहना?
- शिखण्डीको नियति
- जब अम्बाको तपस्याले शिवजी प्रसन्न भए…
- अम्बाका कारण परशुराम र भीष्म बिच युद्ध
- राजकुमारी अम्बाको पीडा