युद्ध सुरु भएयता गाजामा सहायताको ‘सबैभन्दा खराब प्रतिबन्ध’ को राष्ट्रसङ्घद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घले मङ्गलबार द्वन्द्वग्रस्त गाजाले इजरायल–हमास युद्ध सुरु भएको एक वर्षभन्दा बढी समयदेखि सहयातामा सबैभन्दा खराब प्रतिबन्धको सामना गरिहेको देखेको र यसले बालबालिकाहरूमा विशेष रूपमा विनाशकारी प्रभाव पारेको बताएको छ ।

“दैनिक बालबालिकाहरूको अवस्था अघिल्लो दिनभन्दा खराब हुँदै गएको छ”, राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का प्रवक्ता जेम्स एल्डरले भन्नुभयो ।

गत वर्ष अक्टोबर ७ मा हमासको आक्रमणले युद्ध सुरु गरेपछि इजरायलले जवाफी आक्रमणले गाजाका विशाल क्षेत्रहरू तहसनहस भएका छन् । इजरायलले घेराबन्दी गरिएको प्यालेस्टिनी क्षेत्रको उत्तरी भागमा कारबाहीलाई तीव्र पारेको छ । त्यहाँ राष्ट्रसङ्घले लाखौँ मानिस फसेको चेतावनी दिएको छ ।

एल्डरले भित्र जाने सहायताको मात्रा बढाउनुपर्ने तत्काल आवश्यक भए पनि सहायता पहुँच खराब हुँदै गएको भन्दै दुःख व्यक्त गर्नुभयो ।

“अगस्ट महिनामा युद्ध सुरु भएयता कुनै पनि पूर्ण महिनाको तुलनामा गाजा पट्टीमा सबैभन्दा कम मानवीय सहायता आएको थियो”, उहाँले भन्नुभयो, “गत साता केही दिन कुनै पनि व्यावसायिक ट्रकहरूलाई भित्र आउन अनुमति दिइएको थिएन, अहिले हामीले मानवीय सहायतामा सम्भवतः अहिलेसम्मकै सबैभन्दा खराब प्रतिबन्धहरू देखिरहेका छौँ ।”

यस वर्षको सुरुमा राष्ट्रसङ्घले गाजामा पूर्ण अनिकालको घोषणा गर्नसक्ने चेनतावी दिएपछि एल्डरले ‘नयाँ मार्गहरू र प्रवेश विन्दुहरू खोल्न वास्तविक दबाब’ थियो भन्नुभयो ।

“तर अहिले हामीले त्यसको पूर्ण विपरीत देखेका छौँ, मे महिनादेखि हामीले निरन्तर प्रवेश विन्दुहरू अवरुद्ध भएको देखको छौँ”, उहाँले चेतावनी दिँदै भन्नुभयो, “उत्तरी गाजामा अक्टोबर महिनाभर नै कुनै पनि खाद्य सहायता आएको छैन ।”

सहायताको चरम अभाव, निरन्तर आक्रमण र गाजा पट्टीको करिब ८५ प्रतिशत भागमा कुनै न कुनै रूपमा खाली गर्ने आदेश जारी गरिएको तथ्यले यस क्षेत्रलाई ‘अनिवार्य रूपमा बस्न नसकिने’ बनाएको एल्डरले बताउनुभयो ।

– पोलियो खोप अभियान –

केही क्षेत्रमा इजरायली सैन्य कारबाही बढ्दै गरेको भए पनि सोमबारदेखि लाखौँ बालबालिकाका लागि पोलियो खोप अभियानको दोस्रो चरण सुरु भएको छ ।

गाजा पट्टीमा २५ वर्षपछि पहिलो पटक पोलियोको पुष्टि भएपछि खोप अभियान सुरु भएको हो ।

प्रारम्भिक चरण जस्तै दोस्रो चरण पनि तीन चरणमा विभाजित हुनेछ । यसमा लडाइँमा स्थानीय ‘मानवीय विराम’ को सहयोग लिएर पहिले मध्य गाजामा त्यसपछि दक्षिणमा र अन्त्यमा क्षेत्रको सबैभन्दा पहुँच गर्न कठिन उत्तरी भागमा अभियान सुरु गरिनेछ ।

गत साता राष्ट्रसङ्घले गत महिना पहिलो डोज दिइएको भन्दा दोस्रो चरण ‘बढी जटिल’ हुने स्वीकार गरेको थियो ।

दश वर्षमुनिका पाँच लाख ९० हजारभन्दा बढी बालबालिकालाई दोस्रो डोज दिने लक्ष्य रहेको छ र सोमबार मात्र मध्य गाजामा करिब ९३ हजार डोज वितरण गरिएको थियो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link