ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—४०

हरिविनोद अधिकारी

काम्पल्यमा स्वयंवर छ भन्ने कुरा उनीहरूले थाहा त पाएका थिए तर आफूहरू किन एकचक्रा नगरीबाट काम्पल्य जाँदैछन् भनेर अर्जुनले अरुलाई सुइँको पनि दिएका थिएनन्। अरु त अरु, छोराहरू ब्राह्मण कुमारहरूको भेषमा द्रुपद महाराजको दरबारमा जाँदैछन् भन्ने माता कुन्तीसम्मलाई पनि थाहा थिएन।

द्रौपदीको स्वयंवरले राजसभामा हलचल मच्चायो। स्वयंवरमा उपस्थित राजा महाराजा र क्षत्रिय कुमारहरूमा किन रिस उठ्यो त थाहा भएन तर हीनताबोध भने भयो। राजा महाराजाको क्षमतामा एउटा ब्राह्मण कुमारले व्यंग्य गरे। व्यंग्यमात्र गरेनन्, द्रौपदीजस्ती विश्व सुन्दरीमाथि वैधानिकरूपमा अधिकार जमाए अर्थात् विवाह गर्न पाउने अधिकार प्राप्त गरे। विवाद जतिसुकै भए पनि, आपसमा युद्ध नै गरे पनि भीम र अर्जुनको रणकौशलले सबै परास्त भएपछि द्रौपदी पनि यसकारणले खुसी भइन् कि भवितव्यले मात्र सर्त पूरा गरेको होइन रहेछ, यी ब्राह्मण कुमारमा युद्धकला पनि रहेछ। वाण सन्धानका लागि त यी ब्राह्मण कुमार त विलक्षणका रहेछन्। कर्णजस्तो वाण सन्धानका लागि महारथी, दुर्योधनजस्तो मल्ल युद्धका लागि महारथी पनि ती दुई ब्राह्मण कुमारहरूको युद्धकलाबाट परास्त भएपछि उपस्थित राजा महाराजा र काम्पल्यको राजसभाका सदस्यहरूले पनि महान योद्धा अर्जुन र भीमको सम्झना गरे। कतिले यसो पनि भनेको सुनियो—यदि अर्जुन जीवित हुन्थे भने यी ब्राह्मण कुमारले पालो नै पाउने थिएनन् किनभने अर्जुनले सर्त पूरा गरेर द्रौपदी आफ्नी गराउँथे।

कतिले सुनेका थिए अर्जुनको युद्धकला र भीमको मल्लयुद्ध कला। त्यस्तै भनक आउने गरी युद्धमा ब्राह्मण कुमारहरू लडेका थिए।  त्यसो त अरु तीन ब्राह्मण कुमारहरू पनि कम थिएनन् तर ती दुई योद्धाहरू नै सबैमाथि प्रभावी बनेका थिए। तीन कुमारहरू त दर्शक जस्तामात्र देखिएका थिए। स्वयंवरको माला लगाउने एउटा कुमार थिए र अरु साक्षीका रूपमा देखिँदै लुरुलुरु द्रौपदीका पछिपछि हिंडिरहेका थिए। न कुनै सेना, न कुनै घोडा, न कुनै हात्ती, न कुनै रथ। मात्र उनीहरूका काँधमा सामान्य धनु र ठोक्रामा केही वाणहरू। आएका रहेछन् स्वयंवरमा सर्त पूरा गरेर राजकन्या पाञ्चाल कुमारी पाञ्चाली विवाह गर्न। लामा लामा हात भएको, धीर गम्भीर भद्र पुरुषले सर्त पूरा गरेको थियो विना हिचकिचाहट। अनि निःसर्त हकदार भएका थिए सर्त पूरा गरेपछि। शान्त। कुनै अहंकार थिएन। कुनै घमण्ड पनि थिएन। कुनै हतार पनि थिएन। कुनै सर्त पनि थिएन। कुनै माग पनि थिएन। तर स्वयंवरका हकदार ती ब्राह्मण कुमार सन्तुष्ट थिए आफ्नो सत्कर्मको प्रयासका लागि। अरु भाइहरू असमञ्जसमा देखिन्थे तर मौन थिए मानौ परिणामका बारेमा उनीहरू तयारी थिए। अचानक के भइरहेछ भन्नेमा अलमलमा थिए तर केही नभएजस्तो गरी दृढ देखिन्थे।

द्रौपदीलाई पनि थाहा थिएन यो सर्त पूरा गर्ने विलक्षण कुमार को हो? के साँच्चै ब्राह्मण कुमार हो कि? स्वर्गबाट झरेर स्वयंवरमा भाग लिन कुनै देवता या यक्ष कोही आएका थिए? या स्वयं इन्द्र नै आएका हुन् कि? सबै अलमलमा रहेका बेला,  मात्र एकजना व्यक्तिमात्र मुसुमुसु हाँसिरहेका थिए तर उनीसँगैका अर्का विलक्षण व्यक्ति भने असमञ्जसमा परेका देखिन्थे र मुसुमुसु हाँस्नेसँग फुसफुसाएर सोधिरहेका थिए —यो चमत्कार कसरी भयो? अनि यो चमत्कार गर्ने व्यक्ति को हो र तिमी किन केही नभएजस्तो गरी मुसुमुसु हाँसिरहेका छ्यौ? हीनताले ग्रस्त राजकुमारहरू ती कुमारबाट द्रौपदी हरण गर्ने सुरमा थिए। तर ती दुई वीर पुरुषहरू आपसमा खुसुरफुसुर गरेर बसेका थिए। त्यसरी सोध्ने महान योद्धा वलराम थिए र मुसुमुसु हाँस्ने तिनै वलरामका भाइ वासुदेव कृष्ण थिए।

ती दुई कुमारहरू अप्रतियोगी पाहुनाका रूपमा महाराज द्रुपदले बोलाएका थिए। त्यो बेलासम्ममा वसुदेवका पुत्र वासुदेवको चमत्कारी क्षमता र कूटनीतिक योग्यता मथुराभन्दा बाहिर पनि सुनिन थालेको थियो। स्वयं वसुदेव र उनकी धर्मपत्नी देवकी महाराज कंशका पीडामा रहेका थिए र कारागारमा नै छोरा कृष्णको जन्म भएको थियो। वसुदेव, देवकी र वासुदेव कृष्ण स्वयं कंशको क्रूरताबाट बाँचेका थिए र त्यो निरंकुश राजा कंशको अन्त्य भइसकेको अवस्था थियो। त्यसपछि हो श्रीकृष्णको नाम चारैतिर फैलिन थालेको। त्यही भएर ब्रजको प्रतिनिधिका रूपमा बोलाइएका वलराम र कृष्ण दाजुभाइ तर स्वयंवरको अप्रतियोगी पाहुनाका रूपमा राजसभामा उपस्थित थिए।

त्यहाँ सभामा जतिसुकै हलचल भए पनि र ती ब्राह्मण कुमारहरूप्रति सबै राजा महाराजाले आक्रमण गरे पनि ती सबै परास्त भएर कतिपय सेनालाई यमलोकको यात्रा गराएर आफ्ना आफ्ना देशतर्फ फर्कन बाध्य भए किनभने सर्त पूरा गरेका व्यक्तिमाथि हुने आक्रमणको अर्थ हुन्थ्यो पाञ्चालमाथिको आक्रमण र पाञ्चाल पनि सम्भावित भवितव्यका लागि तयारी थियो। यसैपनि द्रौपदी विश्व सुन्दरी थिइन् र उनको हात माग्न आउने हजारौँ युवाहरू थिए। छन पनि त्यस्तै थिइन् द्रौपदी।

द्रौपदी प्राप्त गर्न नसकेको कृण्ठा धेरै राजाहरूमा रह्यो। सर्त पूरा गर्न नसक्ने तर उनको रूपमा मोहित हुनेहरूमा हस्तिनापुरका राजकुमार दुर्योधन, दुःशासन, अंग नरेश कर्ण पनि थिए। विभिन्न राजाहरूमा देखिएको प्रतिशोधको भावना नै पछि पाण्डव र कौरवको पारिवारिक विवादमा भएको महाभारतको युद्धमा को को दुर्योधनतर्फ लागे र को को युधिष्ठिरतर्फ लागे भन्नेमा पनि गणना भएको देखिन्छ। द्युतक्रीडाको बाजीमा किन द्रौपदी परिन्? वास्तवमा त्यही पुरानो इख नै द्रौपदीको माथिको त्यो बदला हो भन्ने बुझ्न गाह्रो थिएन।

द्रौपदीको रूपमाथि सुरुमा द्रौपदीलाई घमण्ड रह्यो होला तर कतिपय घटनाले उनमा आफ्नो रूपमाथि चिन्ता लाग्न थाल्यो र पाण्डवमाथि जति पनि मार परिरहेको छ, सबै आफ्ना कारणले हो कि भन्ने कता कता लाग्न थालेको थियो। उनको पाँच भाइसँग विवाह हुनुका पछिल्तिरको कारण पनि कतै उनको रूपले त काम गरेको थिएन भन्ने शङ्का पनि उनलाई लाग्न थाल्थ्यो। क्रमशः

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link