द्रौपदीलाई आफ्नै रूपको चिन्ता

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—४१

द्रौपदीको रूपमाथि सुरुमा द्रौपदीलाई घमण्ड रह्यो होला तर कतिपय घटनाले उनमा आफ्नो रूपमाथि चिन्ता लाग्न थाल्यो र पाण्डवमाथि जति पनि मार परिरहेको छ, सबै आफ्ना कारणले हो कि भन्ने कता कता लाग्न थालेको थियो। उनको पाँच भाइसँग विवाह हुनुका पछिल्तिरको कारण पनि कतै उनको रूपले त काम गरेको थिएन भन्ने शङ्का पनि उनलाई लाग्न थाल्थ्यो …….

हरिविनोद अधिकारी

वास्तवमा द्रौपदी त अर्जुनको पौरखले प्राप्त भएकी थिइन्। यदि त्यो स्वयंवरको बेलामा अर्जुन भेष बदलेर भने पनि नआएका भए त्यो स्वयंवरमा कसैले पनि ती विश्वसुन्दरी पाञ्चालीलाई लान नसक्ने देखिन्थ्यो। त्यस्तो महत्वपूर्ण राजसभामा ती ब्राह्मण भेषधारी कुमारहरू कसरी पुगे भन्ने पनि रहस्यकै विषय बनेको थियो। एकचक्रा नगरीमा तर व्यापक हल्ला भएको थियो, एक अनिन्द्य सुन्दरी राजकन्याको स्वयंवरको प्रक्रिया हुँदैछ। त्यसो त त्यो बेलामा स्वयंवरका लागि विभिन्न राज्यमा पत्र पठाएर निमन्त्रणा दिइन्थ्यो। धेरै राजकुमार, राजा महाराजा र क्षत्रिय कुमारहरूको उपस्थितिमा मात्र स्वयंवर हुन्थ्यो। स्वयंवर अर्थात् राजकुमारीले या क्षत्री कन्याले आफैँले उपस्थित भएर स्वयंवरमा आएका, आमन्त्रणमार्फत् आएका, राज्यको प्रतिनिधित्व गर्दै आएका अपेक्षित कुमारहरू या राजाहरू या महाराजाहरूको परिचय दिए पछि राजकुमारीले वरमाला पहिर्‍याउने गरिन्थ्यो। साँच्चै नै स्वयंवर मानिन्थ्यो। कतिपय अवस्थामा सर्तहरू राखिन्थे भन्ने कुरा जनकपुरमा पनि जनकनन्दिनी सीताको स्वयंवर पनि त त्यस्तै सर्तले भरिएको थियो।

नियतिले त्यो शिवधनु उचाल्ने व्यक्ति अयोध्या नरेशका ज्येष्ठ सुपुत्र श्रीराम पर्न गएका थिए। जसले पनि त्यो शिवधनु उचालेर वाण सन्धान गर्न सक्थ्यो। कारण थियो, शिवजीको त्यो वजनदार धनुष महाराज जनकले प्राप्त गरेका थिए। महाराज जनकको भित्री पूजाकोठामा राखेर पुजिएको त्यो धनु जसले पायो उसले उचाल्न सक्ने थिएन तर आमाको सहयोगमा कुचो लगाउन गएकी प्यारी सानी राजकुमारी सीताले यसो पन्छाउँदै धनुमुनिको कसिंगर बढारेको देखेपछि महाराज जनकलाई लाग्यो, यो छोरी त असाधारण क्षमताकी रहिछन्। यस्तै असाधारण क्षमताकी राजकुमारीका लागि पति पनि त्यस्तै असाधारण वीरताले सुशोभित राजकुमार नै हुनु पर्ने हो, त्यसैले सानैदेखि जनकनन्दिनी सीताका लागि महाराज जनकले सर्तको कल्पना गरे—कम्तीमा पनि यो धनुष उचाल्न सक्ने त हुनुपर्‍यो नि मेरी प्राणप्यारी छोरीको वर त। एकातिर राक्षसहरूको बिगबिगी थियो, अर्कोतिर विश्वामित्रलाई जनकपुरकी ती अनिन्द्य सुन्दरी कन्या पार्न पाए हुन्थ्यो भन्ने पनि थियो। जब यो सर्तका अप्ठेरो त दशरथ नन्दन श्रीरामले मात्र सम्पन्न गर्नसक्ने कुरा महर्षि विश्वामित्रले थाहा पाए अनि श्री रामसहित, लक्ष्मण, शत्रुघ्न र भरत चारै भाइलाई लिएर गएका थिए। धेरै राक्षसहरूले ऋषि मुनि तथा ग्राम बासीहरूलाई दुःख दिने मार्ने गरेकाले राज्यमा शान्ति सुरक्षाको भरपर्दो विश्वास दिलाउन पनि राजकुमारहरूको आवश्यकता परेको बताएर महर्षि विश्वामित्रले महाराज दशरथसँग मागेर लगेका थिए। महर्षि विश्वामित्रको विश्वासको प्रतिफल जस्तै गरी जनकपुरमा त्यो धनुष उचाल्न सक्ने मात्र श्री राम भए र राजकुमारी सीताको हातबाट वरमाला पहिरिने भाग्य रामले पाएका थिए। अर्थात् यस्तो सर्तहरू पहिलेदेखि नै राखिने गरेको पाइन्छ। जस्तो कि महारथी रावणले समेत त्यो शिवधनुष उचाल्न सकेको थिएन र दशरथ नन्दन श्रीरामले मात्र उचाल्ने मात्र होइन, त्यो धनुष नै वाण सन्धान गर्दागर्दै आफैँ टुक्रा टुक्रा भएर टाढा टाढासम्म छरियो। श्रीरामको हातमा के परेको मात्र थियो, बिजुली चम्केजस्तै मिलिक्क के टल्केको थियो, ठुलो स्वर गर्दै धनुष टुक्रियो र कता कता त्यसका टुक्रा छरिएको पो देखियो। त्यो बेलाका महान हस्तीहरूले उचाल्न नसकेको धनुष उचाल्नेमात्र होइन, ताँदो नचढाउँदै टुक्रा टुक्रा भएको अपूर्व क्षणको साक्षी ती हजारौँ पालो पाएर पनि धनुष हल्लाउन पनि नसक्नेहरू पो भए। यो त्रेतायुगको घटना थियो। स्वयं श्रीराम विष्णुका अवतार मानिन्थे र राक्षसहरूको कारणले पृथ्वी बासीहरूले दुःख पाएकाले दुःख हरणका लागि अवतरित भएको मानिन्थ्यो।

ठिक त्यस्तै भयो द्वापर युगमा पनि। सर्त राखिएको थियो, माथि तीब्र गतिमा घुमिरहेको माछाको आँखामा वाणको टुप्पोले भेदन गर्नु पर्ने थियो। तलको पानीमा हेरेर निसाना साध्नु पर्ने र आँखामा भेदन गरेपछि निर्णायकहरूले सर्त अनुसार भेदन भएको मान्नुपर्ने अवस्था थियो। त्यो सर्त त पूरा भयो अनि अनिन्द्य सुन्दरी अर्जुनको गलामा वरमाला पहिर्‍याउने नै भइन्। अर्थात् ब्राह्मण कुमारहरूको भेषमा रहेका पाँच पाण्डवहरूमध्ये अर्जुनले सर्त जितेर प्राप्त गरेकी कन्या नै ती विश्व सुन्दरी कृष्णा थिइन्। जेठो दाजु युधिष्ठिरको विवाह नभई तेस्रो भाइको गणनामा रहेका अर्जुनको विवाह सम्भव नै थिएन। आखिर त थिए ती हस्तिनापुरका राजकुमारहरू, युवराजका रूपमा राज्यको तिलक ग्रहण गरेका युवराज युधिष्ठिर। पाँच भाइको उपस्थितिमा भएको स्वयंवर कर्ममा पाँच भाइको हक लाग्थ्यो कि लाग्दैनथ्यो? प्राकृतिक न्यायको सिद्धान्तले त जसले कमायो, उसैको भयो तर यहाँको समस्या अलि भिन्न देखियो। दाजुको आदेशबाहेक केही पनि नगर्ने भाइहरूले दाजुको आदेशले मात्र विवाह गर्न सक्थे। यति अनिन्द्य सुन्दरी राजकुमारी फेला परेपछि त युधिष्ठिरलाई पनि त्यो राजकुमारी चाहियो अब। त्यसका लागि त हो, कुन्तीको त्यो भनाइलाई आधार मानेर कि जे छ पाँच भाइले नै बाँडेर खानू। यहाँ खाने कुरा त रहेन, तर विवाह कसले गर्ने? राजाले या राजाका भाइले पहिले?

पर्‍यो फसाद अब। एकातिर उनीहरू स्वनिर्वासनको भूमिगत अवस्थामा छन्। अचानक कुनै तयारी विना द्रौपदी फेला परिन्। अर्जुनले विवाह गरुन् भने राजाको विवाह नभई उनले विवाह गर्न पाउँदैनथे। यदि विवाह गरेमा कुलमा पानी नचल्ने हुन्थ्यो परिवेत्ताको रूपमा। दाजुको विवाह नभई भाइले विवाह गरे परिवेत्ता हुन्थ्यो, दिदीको विवाह नभई बहिनीको विवाह भए परिबेत्ती भइन्थ्यो। त्यो भारत वर्षको न्याय प्रणालीमा अपराध जस्तै हुन्थ्यो। नभए हिडिम्बासँग सम्बन्ध राख्न परिवारबाट भीमलाई टाढिएर बस्नु परेको थियो हिडिम्बाको इच्छा पूरा गर्नका लागि। उनी राक्षसी थिइन् अनि अतृप्ता हिडिम्बाले पाण्डवहरूको अहित हुने काम गर्न सक्थिन्। दाजुको हत्याको बदला लिन अन्य निशाचर राक्षसहरूको सहयोगमा वितण्डा मच्चाएर सखाप पार्न सक्थिन्, त्यसैले परिवारको गणनाभन्दा अतिरिक्त मानेर हिडिम्बासँगको समागमलाई स्वीकृति दिइएको थियो।

राक्षसी हिडिम्बाको नियति नै त्यही थियो भीमबाट एउटा छोरो पाउने। घटोत्कचका जन्मको कथा त्यस्तै रह्यो। हिडिम्बाको रोजाइमा भीम परेका थिए उनको वीरता र शारीरिक व्यक्तित्वको कारणले। त्यसैले भीमसँग हिडिम्बाको समागमलाई भवितब्य मान्नु पर्ने अवस्था थियो। तर द्रुपदकी अयोनिजा पुत्री कृष्णासँगको अवस्था भनेको भिन्न थियो र पाँच जनाले कसरी बाँड्नु भन्ने एउटा तर्क अनि पाँच जनाकै महारानी हुनुपर्ने नियतिको खेलका कारणले पाँच जनासँगै विवाह गर्नुपर्ने बाध्यता। यसका लागि उनको पूर्वजन्मको कथा हालियो, अनि पाँचै जनासँग भिन्दाभिन्दै विवाह रचियो र विधिवत् रूपमा द्रौपदी पाँच भाइकी रानी बनिन्। मूलतः उनी युधिष्ठिरकी रानी मानिने र पालैसँग युधिष्ठिर र अन्य राजकुमारहरूसँग सहबास गर्ने भन्ने कुरा पारित भएको थियो श्रीकृष्ण, वलराम र वेदव्याससँगको वार्तालापमा। पाञ्चाल राज्यका लागि पनि यो विवाह प्रतिष्ठाको विषय बनेको थियो भने महाराज द्रुपद पनि असमन्जसमा परेका थिए। के गर्ने, के नगर्ने? क्रमशः

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link