इजरायल र लेबनानबीच युद्धविरामको सहमति

मंगलबार राति, इजरायलको सुरक्षा क्याबिनेटले लेबननसँग युद्धविरामको प्रस्ताव पारित गरेको छ । यससँगै, दुई महिनादेखि इसराइल र हिजबुल्लाह बीच जारी युद्ध रोकिएको छ। यस सहमतिपछि, इसराइलले बुधबार बिहान, स्थानीय समयअनुसार ४ बजेदेखि युद्धविरामको कार्यान्वयन गर्ने घोषणा गरेको छ।

यद्यपि, यस निर्णयको केही घण्टाअघि, इसराइलले लेबननको राजधानी बेरूत नजिकको दक्षिणी क्षेत्रलाई निशाना बनाएर बमबारी गरेको थियो। सिएनएनका अनुसार, यो बमबारी युद्ध सुरू भएयताकै सबैभन्दा भारी बमबारी थियो, जसमा २ मिनेटको अवधिमा २० पटक विस्फोट भएको थियो। यस आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको छ। सोमबारको दिन मात्र ५५ जनाले ज्यान गुमाएका थिए। युद्धको दुई महिनामा हजारौं मानिसले ज्यान गुमाएका छन्।

यस युद्धको सुरुवात गत असोजको शुरूवातमा भएको थियो, जब इसराइलले लेबननमा पेजर विस्फोट गराएको थियो र त्यसको जवाफमा हिजबुल्लाहले इसराइलमा हवाई आक्रमण गरेको थियो। त्यसपछि, इसराइलका आक्रमणमा हिजबुल्लाहका कमाण्डरहरूसमेत मारिएका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामको पहल गरेका थिए। युद्धविरामको सहमति पछि, इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बाइडेनलाई फोन गरी धन्यवाद भनेका छन्।

युद्धविरामको सहमति अनुसार, इसराइलका सैनिकहरूले लेबननबाट फिर्ता हुन ६० दिनको समय पाएका छन्। नेतन्याहुले युद्धविरामको कारणका बारेमा बताएका छन् कि इरानसँगको युद्धमा ध्यान केन्द्रित गर्न, इसराइली सैनिकलाई विश्राम दिने र हमासमाथि दबाब बढाउनका लागि यो निर्णय गरिएको हो।

लेबननका प्रधानमन्त्री नजिब मिकटीले पनि युद्धविरामको सहमतिको स्वागत गर्दै अमेरिकी राष्ट्रपति बाइडेनलाई धन्यवाद दिएका छन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link