इजरायलको विदेश मन्त्रालयले आइतबार डब्लिन सरकारको ‘चरम इजरायल विरोधी नीतिहरू’ लाई उद्धृत गर्दै आयरल्यान्डमा आफ्नो दूतावास बन्द गर्ने घोषणा गरेको छ । यसले दुई मुलुकबीचको तनावपूर्ण सम्बन्धलाई थप तनावपूर्ण बनाएको छ ।
प्यालेस्टिनी राज्यलाई मान्यता दिने र गाजा पट्टीमा इजरायललाई ‘नरसंहार’ को आरोप लगाउने अन्तर्राष्ट्रिय अदालतको मुद्दालाई समर्थन गर्ने आयरल्यान्डको श्रृङ्खलाबद्ध कदमपछि आयरल्यान्ड र इजरायलबीचको कूटनीतिक सम्बन्ध बिग्रिएको छ ।
सन् २०२३ अक्टोबर ७ मा गाजामा युद्ध भड्काउने हमासको आक्रमणप्रति इजरायलको प्रतिक्रियाको सबैभन्दा कडा आलोचकमध्ये आयरल्यान्ड पनि एक रहेको छ ।
“डब्लिनमा रहेको इजरायली दूतावास बन्द गर्ने निर्णय आयरल्यान्ड सरकारको चरम इजरायल विरोधी नीतिहरूका कारण गरिएको हो”, विदेश मन्त्रालयले विज्ञप्तिमा भन्यो ।
“इजरायलविरुद्ध आयरल्यान्डले प्रयोग गरेका कार्य र यहुदी राज्यको वैधता र प्रतिष्ठामा आघात पुर्याउने शब्दावलीहरू दोहोरो मापदण्डमा आधारित छन्”, विदेशमन्त्री गिदोन सारले विज्ञप्तिमा भन्नुभयो, “आयरल्यान्डले इजरायलसँगको सम्बन्धमा हरेक लक्ष्मण रेखा पार गरेको छ ।”
नोभेम्बरमा आयरल्यान्डका प्रधानमन्त्री साइमन ह्यारिसले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले गिरफ्तारी वारेन्ट जारी गरेपछि उहाँका इजरायली समकक्षी बेन्जामिन नेतान्याहु आयरल्यान्ड गएमा देशका अधिकारीहरूले हिरासतमा लिने बताउनुभएको थियो ।
आइसिसीले नेतान्याहु र उहाँका पूर्व रक्षामन्त्री योव गालान्टलाई अक्टोबर सन् २०२३ अक्टोबर ८ देखि यस वर्षको मे २० सम्म गाजा पट्टीमा ‘मानवता विरुद्धको अपराध र युद्ध अपराधका लागि’ पक्राउ पुर्जी जारी गरेको थियो ।
विदेशमन्त्री सारले इजरायलले अन्य देशसँग सम्बन्ध निर्माण गर्न आफ्ना स्रोतहरू लगानी गर्ने बताउनुभयो र आइतबार मोल्दोभामा दूतावास खोल्ने घोषणा गर्नुभयो ।
“कूटनीतिक क्षेत्रमा इजरायलप्रतिको विभिन्न देशको स्थिति र कार्यहरूलाई अन्य कारकहरूसहित उचित महत्त्व दिँदै हामी इजरायलको कूटनीतिक सञ्जालका मिसनहरू समायोजन गर्नेछौँ”, उहाँले भन्नुभयो ।
मे महिनामा डब्लिनले प्यालेस्टिनी राज्यलाई गाजा पट्टी र पश्चिम किनारा मिलेर बनेको ‘सार्वभौम र स्वतन्त्र राज्य’ को रूपमा मान्यता दिएको र पूर्ण कूटनीतिक सम्बन्ध स्थापना गर्न सहमत भएको बताएको थियो ।
स्पेन र नर्वेले त्यही दिन प्यालेस्टिनी राज्यलाई मान्यता दिए र स्लोभेनियाले एक हप्ता पछि सोही निर्णय गर्यो । यसले इजरायलबाट प्रतिशोधात्मक कदमहरू निम्तिए ।
नोभेम्बरमा डब्लिनले पहिलो पटक पूर्ण प्यालेस्टिनी राजदूतको नियुक्तिलाई स्वीकार गर्यो ।
आयरल्यान्डका प्रधानमन्त्री ह्यारिसले आइतबार आफ्नो डब्लिन दूतावास बन्द गर्ने इजरायली निर्णयलाई ‘अत्यन्त दुःखद्’ भन्नुभयो । “आयरल्यान्ड इजरायल विरोधी हो भन्ने दाबीलाई म पूर्ण रूपमा अस्वीकार गर्दछु । आयरल्यान्ड शान्ति समर्थक, मानव अधिकार समर्थक र अन्तर्राष्ट्रिय कानून समर्थक हो”, उहाँले एक्समा पोस्ट गर्नुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
