सैरन्ध्रीको डर

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—४९

गान्धार नरेश शकुनि धृतराष्ट्रको परिवार समाप्त होस् र आफ्नी बहिनी गान्धारीमाथि भएको अन्यायको बदला लिन सकियोस् भन्ने खोजीमा थिए………

हरिविनोद अधिकारी

पाण्डवहरू पहिले नपुगेका अन्य देशहरू पनि थिए अज्ञातबासका लागि तर मत्स्यदेश नै छान्ने छलफलमा द्रौपदीको तर्क “ठुलो दरबारमा लुकेर बस्न सजिलो हुन्छ र हामी सबै नै दरबारका विभिन्न क्षेत्रमा काम गर्ने निहुँमा अटाउने छौँ” भन्ने थियो। कङ्कका रुपमा युधिष्ठिर महाराज विराटसँगै व्यस्त रहन्थे भने बल्लभचाहिँ भान्सामा सतर्कताका साथ व्यस्त हुने गरेका थिए। अर्जुन भने बृहन्नलाका रुपमा रनीबासमा, खासगरी राजकुमारी उत्तरालाई सङ्गीत र नृत्य सिकाउनु पर्ने भएकाले सामान्यतया अरुसँग भेट हुने अवसर कम हुन्थ्यो। झन किशोरी अवस्थामा प्रवेश गरेकी राजकुमारी उत्तरा अलि चञ्चल स्वभावकी पनि थिइन् र तत्काल विभिन्न गीत, सङ्गीत र नृत्यका लागि आफ्ना नृत्य गुरुका रुपमा मनोनीत बृहन्नलालाई ढिपी गरिरहन्थिन्। दरबारका अन्य महिलाहरू पनि बृहन्नलाको सिप हेर्न प्रेक्षालयमा आउँथे र उनको नृत्यकलालाई प्रशंसा गर्थे। रानी सुदेष्णासँग सैरन्ध्री पनि प्रेक्षालय जान्थिन् र भारतवर्षको सबैभन्दा ठुलो धनुर्धर, सुदर्शन र संयमित पुरुष क्लीवका रुपमा एउटा सहायक देशमा, गौपालनमा प्रख्यात देश मत्स्य देशमा नृत्य गुरुको रुपमा नृत्य सिकाइरहेको देख्दा मन थाम्न सक्दैनथिन् र कुनामा पसेर यसरी रुन्थिन् कि अरुले रुवाइ थाहा पाउँदैनथे। उनको मनमा उठेको उद्वेलनरुपी ज्वारभाटाले भावी युद्धको कस्तो संरचना होला, कल्पनामा पनि त्यो रेखाङ्कन आउँदैनथ्यो।

महान योद्धा पाण्डवहरूमध्ये, कोही जुवा खेलाउँदै छन्, कोही भात पकाउँदै छन्, कोही रनीबासमा नाचगान सिकाउँदै छन्, कोही गाईको गोबर सोहोर्दैछन् त कोही घोडाको लिदी सोहोरेर बसेका छन्। अनि ती महान योद्धाहरूकी पटरानी सुदेष्णाको शरीरको देखभाल गरिरहेकी छिन्। यो सबै सम्झेर रातभरि ननिदाउने पालो सैरन्ध्रीको मात्र थियो कि अरु पनि नियतिको यो अवस्थाका बारेमा सोच्दा हुन् र रातभरि नसुतेर सोच्दा हुन् ? यसबारेको छलफल आपसमा हुनै पाएको थिएन र दिन बित्दै गएका थिए। सबै आफ्ना कर्तव्यमा लागेका देखिन्थे।

अर्थात् गुप्तबास पश्चात् त हस्तिनापुरमा गएर राज्य फिर्ताका लागि माग गर्नु पर्नेछ, फिर्ता लिनु पर्नेछ र राज्य गर्नु पर्नेछ। हिजोको इन्द्रप्रस्थ नै पाइने हो कि हस्तिनापुर नै पाइने हो, थाहा थिएन। लाग्थ्यो, दुर्योधनादिहरू यो गुप्तबासको पत्ता लगाउन सबै प्रयास गर्नेछन् र मत्स्यदेशमा पनि गुप्तचरहरूको चियोचर्चो गरी नै रहनेछ। द्रौपदीले अहिलेसम्म हस्तिनापुरबासीजस्तो कुनै व्यक्ति विराटनगरमा देखेकी थिइनन्। उनी रानी सुदेष्णासँग रथमा घुमफिर गर्न जाँदा उनको मनमा कतै उनलाई कसैले चिन्ने हो कि भन्ने डरले सताउँथ्यो। वनबासमा उनले र भीमसेनले महाराज युधिष्ठिरलाई जसरी पनि बदला लिनका लागि युद्ध अपरिहार्य छ, त्यसैले गुप्तबासको अन्त्यपछि खुट्टा कमाउने होइन भनेर उत्तेजनात्मक मन्तव्य प्रकट गरिरहन्थे। अनि सैरन्ध्री सोच्थिन् के महाराज विराटलाई द्यूतक्रीडामा मनोरञ्जन गराउँदा महाराज युधिष्ठिरका मनमा हस्तिनापुरमा भोलि जाने हो भन्ने सोचिरहेका होलान् ? बृहन्नलाका रुपमा प्रेक्षालयमा नाचिरहेका अर्जुनले भोलिको रणनीति सोचेका होलान् ? भीमसेनमा १२वर्ष अघिको अपमानले दिएको अपमानका बदला उठेको ताप सेलाएको छैन भन्ने बारेमा त सैरन्ध्री दृढ थिइन् र दुर्योधन, दुःशासनलाई भीमसेनले मार्ने कुरामा ढुक्क थिइन्। तर युद्ध हुनुपर्थ्यो र त मार्न सक्ने अवस्था आउँथ्यो होला नि। जसले अघि लागेर हस्तिनापुरमा जाने र राज्य फिर्ता लिने नेतृत्व गरेर राज्य सञ्चालन गर्ने हो, उनैको के विचार छ भन्नेमा सैरन्ध्री अन्यमनस्क थिइन्। कतै भैगो, मेरो भाग्यमा राज्य लेखेको रहेनछ भन्दै विवाद नगर्ने भन्ने पो हुन् कि युधिष्ठिरले? रातभरि उनका मनमा यस्तै ज्वारभाटा आइरहन्थे। र सबैभन्दा बढी त कसैले चिन्ने हो कि? कसैले उनको अस्मितामाथि धाबा पो बोल्ने हो कि? भन्नेमा चिन्तित थिइन्। उनले युधिष्ठिरलाई तिख्याउनका लागि, भोलिको युद्ध अपरिहार्य हो भन्ने बारेमा के के भनिनन् ? पुरुषार्थको नयाँ नयाँ परिभाषा दिइन् जसमा भीमको पनि समर्थन थियो। भीमसेनले त यतिसम्म भनेका थिए, महाराज आदेश होस् म एक्लै आजै गएर ती सयभाइलाई मारेर हस्तिनापुरमा विजयको झण्डा गाडेर सबैलाई हस्तिनापुरमा स्वागत गर्नेछु र महाराजको सहयोगी भएर राज्य सञ्चालन गर्नेछु। तर युधिष्ठिरले सधै सत्यको पक्षमा उभिन, नियतिको घेराभित्र सबै न्याय पाइने कुरामा आफू ढुक्क रहेको बताएका थिए। युधिष्ठिरको जिरह हुन्थ्यो जहिले पनि कि धर्म र सत्य एउटै सिक्काका दुई पाटा हुन् भन्ने बताएर संयमित हुनुपर्ने र आफ्ना बाचा पूरा गरेपछि सबै कुरा आफैँ पूरा हुने बताउँथे।

नभन्दै सैरन्ध्रीको शङ्का सही साबित भयो। हस्तिनापुरले गुप्तचरमार्फत् जानकारी पाउन नसके पनि अरु देशमा उनीहरू लुकेको नदेखेपछि पक्कै विराटनगरमा लुकेका होलान् भन्ने लागेर विराटनगरमा चारैतिरबाट आक्रमण भयो। बाध्यतावश दुर्योधनका पछि लाग्ने पालो भीष्म पितामह, गुरु द्रोणाचार्य, गुरु कृपाचार्य, कर्णजस्ता महारथीहरूको थियो। कर्ण त दुर्योधनका छाँया नै थिए र उनले आफ्नो विवेकलाई अङ्गदेशको प्राप्तिमा नै दुर्योधनमा समर्पण गरेका थिए। अरु महारथीहरूले पनि नुनको निहुँमा जेजे भन्थ्यो दुर्योधनले, त्यही त्यही मानेका देखिन्थे। सधैँ आन्तरिक द्वन्द्वमा रहेका भीष्म पितामहका लागि माता सत्यवतीलाई दिएको वचनले बाँधेको थियो र ठुलो भ्रम थियो हस्तिनापुरको रक्षा नै कुरुवंशको रक्षा हो। कुरुवंशको रक्षा भनेको हस्तिनापुरका रक्षा हो जसको जिम्मा धृतराष्ट्रले लिएका छन् अनि धृतराष्ट्रको तर्फबाट दुर्योधनको आदेश मान्नु जरुरी भएको थियो।

दुर्योधनको रणनीति अनुसार नै अन्य देशले पनि मत्स्यदेशमाथि आक्रमण गरेका थिए। हस्तिनापुरले भने विराटनगरका उम्दा गाईहरू नै लुट्ने निहुँ पारेर मत्स्यदेशमाथि कब्जा जमाउन खोजेको थियो तर राजकुमार उत्तरका लागि सारथिका रुपमा आएका बृहन्नला अर्थात् अर्जुनको पुरुषार्थले उल्टै हस्तिनापुरका महारथीहरू कब्जामा परे। हारे पनि दुर्योधनादिहरूले अर्जुनको सार्वजनिक भएको कारणले पाण्डवहरूको सर्त अनुसार गुप्तबासकै समयभित्रे अर्थात् १३वर्ष नपुगेकाले फेरि वनबास जानु पर्ने निहुँ सुरु भयो। पाण्डवहरू र द्रौपदीको पहिचान सहित सार्वजनिक भएको उपलक्ष्यमा विराटनगरमा हर्षोल्लास थियो र विराटनगर निःसर्त पाण्डवहरूको पक्षमा उभिने भयो। बृहन्नला नै अर्जुन भएको रहस्य थाहा पाएका महाराज विराट र महारानी सुदेष्णाले आफ्नी प्यारी छोरी उत्तरा अर्जुनलाई सुम्पने इच्छा राख्दा अर्जुनले आफ्नी शिष्यासँग विवाह आफू नगर्ने तर यदि अनुमति हुन्छ भने आफ्नो छोरो अभिमन्युसँग विवाह गर्ने विचार व्यक्त गरे।

पाण्डवहरूको ज्येष्ठ सन्तानका रुपमा घटोत्कच जन्मेको भए पनि आसुरी माताको छोरो भएकाले हस्तिनापुरको उत्तराधिकारी हुन सक्दैनथ्यो। अनि अन्य छोराहरूमध्ये जेठो छोरो युधिष्ठिरतर्फबाट द्रौपदीले पाएकी थिइन् प्रतिविन्ध्य। उसको विवाह हुनु जरुरी थियो अरु भाइहरूभन्दा पहिले। तर अर्जुनले अभिमन्युको नाम लिँदा द्रौपदीमा खिन्नता आएको थियो तर उनले केही भनिनन्। र त्यतिबेलासम्म युधिष्ठिरको उत्तराधिकारी कोही पनि तोकिएको थिएन तर प्रचलन अनुसार प्रतिविन्ध्य नै हुने स्पष्ट थियो।

महाभारतका पात्रहरू सबै गणितका सूत्रजस्तै तर्कपूर्ण रुपमा प्रमाणित पनि छन्। पात्रहरू पूर्वजन्मका आशीर्वाद र श्रापका भारी बोकेर जन्मेकाले कसैको पनि गणितमा जस्तो ठ्याक्कै परिणाम निस्केको पाइँदैन। यी सबै कुरा थाहा पाउने कि वेदव्यास थिए, कि श्रीकृष्ण थिए कि केही सीमासम्म सहदेवलाई थाहा हुनसक्थ्यो तर विस्मृतिको रोग लगाइएको थियो। त्यसो त धेरै चिन्ता मनमा लिएका तर बाहिर नदेखाउने धर्म र सत्यका प्रवक्ता युधिष्ठिरलाई वेदव्यासले प्रतिस्मृति शास्त्रको ज्ञान दिएकाले उनी धीरगम्भीर थिए र अरुका कुराहरू सुन्ने अनि आफ्नो निर्णय गर्ने कुरामा पोख्त थिए। युधिष्ठिरलाई के थाहा थियो भने भावी युद्धमा मेरो पक्षमा श्रीकृष्ण हुनुहुनेछ, अर्जुनको पक्षमा श्रीकृष्णको पक्षधरताले हस्तिनापुर मेरै हुनेछ जुनकुरा महामुनि मार्कण्डेयले भनेर जानु भएको थियो आशीर्वादको रुपमा। अर्जुनसँग सञ्चित अस्त्रहरूको भण्डार र त्यसको प्रयोग कसरी कहिले हुन्छ भन्ने रणनीति पालेर बसेका युधिष्ठिर सत्य निष्ठाका बलले नै हस्तिनापुर आफ्नो बनाउने दृढता देखाउँथे र भित्रीमनमा युद्धको राप र तापले उनलाई सताएको थियो।

हस्तिनापुरसँग राज्य फिर्ता गराउने कुरामा कुरो मिलेको थिएन। त्यहाँ युधिष्ठिर एक पक्ष र हस्तिनापुर अर्को पक्षको रुपमा देखिएको बेला थियो। भारतवर्ष र अन्य राज्यहरू पाण्डव र कौरवमा विभक्त थिए। अन्त्यमा पाँच गाउँ मागियो भारतका विभिन्न कुनाका तर त्यो पनि मानिएन। शान्तिवार्ताको विपक्षमा त राजमाता कुन्ती पनि थिइन् र महारानी द्रौपदी सहित भीमसेन, अर्जुन, महाराज द्रुपद, महाराज विराट सबै नै शान्तिको कुरा गरे पनि राज्य फिर्ता भएमात्र शान्तिको कुरा आउँथ्यो।

कौरवको कुरा त यस्तो थियो कि हस्तिनापुर पहिले नै हारेकाले र गुप्तबासमा नै पहिचान भएकाले राज्य फिर्ता पाउने कुनै सम्भावना नै थिएन। गान्धार नरेश शकुनि यही खोजीमा थिए कि यो धृतराष्ट्रको परिवार समाप्त होस् र आफ्नी बहिनी गान्धारीमाथि भएको अन्यायको बदला लिन सकियोस्। महाभारतमा त्यसको छनक ठाउँ ठाउँमा मात्र पाइन्छ। शकुनि जसरी हुन्छ युद्ध होस् र बहिनीको बदला समयले लिओस्। त्यसैले युद्धका पक्षमा मात्र शकुनि देखिन्छन्। युद्ध त सबैलाई चाहिएको थियो। क्रमशः

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link