तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथि निर्माण सुरु भएर एघार वर्षसम्म पनि पुल नबनेपछि स्थानीयवासी निराश बनेका छन् ।
पुल निर्माण सुरु भएर सम्पन्न भइसक्नुपर्नेमा हालसम्म पुल अलपत्र बनेपछि यस भेगका स्थानीयवासी निराश बनेका हुन् । केही दिनअघि स्थानीयवासीले पुल निर्माणको काम तत्काल सुरु गर्न माग गर्दै प्रशासन र सडक डिभिजन कार्यालय घेराउ गरेका थिए । एघार वर्ष अगाडिबाट निर्माण सुरू भएको उक्त पुल निर्माणमा ढिलासुस्ती भएपछि दबाब दिन सरोकार समिति गठन गरिएको छ । बन्दीपुर, देवघाट र आँबुखैरेनीका उपभोक्ताको भेलाले सिद्धान्त थापाको संयोजकत्वमा घुमाउने पुल सरोकार तथा सङ्घर्ष समिति गठन गरेको छ ।
देवघाट गाउँपालिका–२, ३ र ४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–५ र ६ तथा व्यास नगरपालिका–१३ र १४ का बासिन्दा दैनिक रूपमा हिँडडुल गर्ने उक्त पुल सम्पन्न नहुँदा सर्वसाधारणलाई सास्ती भएको संयोजक थापाले बताउनुभयो ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानाले पुल निर्माणमा भइरहेको ढिलासुस्तीले यस भेगका सर्वसाधारणलाई आवतजावतमा समस्या भएको बताउनुभयो । आँबुखैरेनी गाउँपालिका–६ का पूर्ववडाध्यक्ष चुनाराम गुरूङले सम्बन्धित निकायले यस भेगका जनताको दुःख बुझेर काम सुरू गर्नुपर्ने बताउनुभयो ।
सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजिव श्रेष्ठले यसै आर्थिक वर्षमा दुई पटक आएको बाढीले पुल निर्माणमा समस्या भएको जानकारी दिनुभयो । पुलको डिजाइनमा केही परिवर्तन गर्नुपर्ने भएको र त्यसको काम भइरहेकाले काममा ढिलाइ भएको उहाँको भनाइ छ ।
मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलो पटक २०७० असारमा उक्त पुल निर्माणका लागि सम्झौता भएको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तन पछि पनि हालसम्म ४५ प्रतिशत मात्र काम सकिएको छ । उक्त पुलको निर्माणको अवधि आगामी चैतसम्म रहेको छ ।
त्रिशूली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भएपछि डिजाइन परिवर्तन गरी आर्कब्रिज बनाउन लागिएको हो । अहिलेसम्म त्रिशूलीको वारिपारीका पिल्लर मात्र ठडिएका छन् । उक्त पुल एक सय पाँच मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । पुलको लागत रू नौ करोड ५६ लाख रहेको छ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंहमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्न पश्चात पोखरा र दमौली भएर नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
