संयुक्त राष्ट्र सङ्घले आइतवार उत्तरपश्चिमी सिरियामा भएको हिंसाको तत्काल अन्त्य गर्न आह्वान गरेको छ । संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले हत्याको तुरुन्त अनुसन्धान गर्न आह्वान गर्नुभयो ।
सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बशर अल–असदका समर्थकहरूबीच दुई दिनको झडप र त्यसपछिको प्रतिशोधात्मक हत्याहरूले मृत्यु सङ्ख्या एक हजारभन्दा बढी पुगेको एक युद्ध अनुगमन समूहले शनिबार बताएको छ ।
यो सिरियाको १४ वर्षअघि सुरु भएको द्वन्द्वपछिको सबैभन्दा घातक हिंसाको घटना हो ।
बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सात सय ४५ सर्वसाधारण मारिएका छन् । तीमध्ये एक सय २५ जना सरकारी सुरक्षा बलका सदस्य र एक सय ४८ जना असदसँग सम्बन्धित सशस्त्र समूहका लडाकुहरू मारिएका छन् । लाटाकिया सहर वरपरका ठूलो क्षेत्रमा बिजुली र खानेपानी काटिएको अब्जर्भेटरीले बताएको छ ।
असदलाई सत्ताबाट हटाएपछि विद्रोहीहरूले सत्ता लिएको तीन महिनापछि बिहीबार भड्किएको झडपले दमास्कसमा नयाँ सरकारलाई ठूलो चुनौती दिएको छ ।
सरकारले असदका बलहरूको अवशेषबाट भएको आक्रमणको जवाफ दिइरहेको र व्यापक हिंसाका लागि ‘व्यक्तिगत कार्यहरू’ लाई दोष दिएको बताएको छ ।
“हामीले महिला, बालबालिका र सम्पूर्ण परिवारलाई लडाकुहरूद्वारा मारिएको अत्यन्त विचलित रिपोर्टहरू प्राप्त गर्दैछौं । उत्तर–पश्चिमी सिरियाको तटीय क्षेत्रहरूमा सर्वसाधारणको हत्या तुरुन्तै बन्द गर्नुपर्छ,” टर्कले एक विज्ञप्तिमा उल्लेख गर्नुभयो ।
सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शराले आइतवार राष्ट्रिय एकता र शान्तिको लागि आह्वान गर्नुभयो ।
“सबै हत्या र अन्य उल्लङ्घनहरू तुरुन्तै, पारदर्शी र निष्पक्ष रूपमा छानबिन गरिनुपर्छ । जिम्मेवार व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय कानूनको मापदण्ड अनुरूप जवाफदेही बनाइनुपर्छ । नागरिकहरूलाई आतंकित गर्ने समूहहरूलाई पनि जवाफदेही बनाइनुपर्छ,” टर्कले बताउनुभयो ।
यसैबीच, विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले झडपलाई अत्यन्तै चिन्ताजनक रहेको बताउँदै स्वास्थ्य संस्था र एम्बुलेन्सहरू क्षतिग्रस्त भएकाले यसले जनताको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको बताउनुभयो ।
“डब्लुएचओले घाइतेहरूलाई तत्काल हेरचाह प्रदान गर्न आपतकालीन औषधि आपूर्ति उपलब्ध गराउन काम गरिरहेको छ,” विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बताउनुभयो ।
संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीका महानिर्देशकले भन्नुभयो,“डब्लूएचओले सबै पक्षहरूलाई स्वास्थ्य सेवाहरूको सम्मान र सुरक्षा गर्न आग्रह गर्दछ, ताकि चिकित्सा सहायता सबैभन्दा बढी आवश्यक पर्नेहरूसम्म पुग्न सकोस् । शान्ति सर्वोत्तम औषधि हो ।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुनार खेतीबाट दोहोरो कमाइ, विदेशबाट फर्केका युवाको नयाँ बाटो
- त्रिविको आग्रह : समस्या वार्ता र संवादबाट समाधान गरौँ, हडताल-तोडफोड नगर्नू
- सहिद दिवसमा व्यास नगर अल्ट्रा म्याराथन
- शक्तिराष्ट्रहरूले विश्व सहयोगलाई कमजोर पार्दै : गुटेर्रेस
- आजबाट राष्ट्रिय सभाको अधिवेशन
- लोपोन्मुख पुर्ख्यौली संस्कृति जोगाउन, मालिका गाउँपालिकामा ऐतिहासिक प्रतियोगिता
- बागमती प्रदेश सरकारको बजेट कार्यान्वयन कमजोर
- आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु
- फागुन २१ निर्वाचन : तनहुँमा निर्वाचन प्रहरी भर्नामा कम चासो, समय थप
- मस्कको आफ्नै बच्चाकी आमाद्वारा एक्सएआई ग्रोक विरुद्ध मुद्दा दायर