डमौली ‘दमौली’ बन्यो, तर नासियो डमौलीको सभ्यता !

भौतिक विकासलाई मात्र ‘विकास’ मान्ने पञ्चायतकालीन नेपाली मानसिकताको एउटा उदाहरण हो दमौली। अहिले दमौलीमा चिल्ला सडक छ, भव्य महलहरू छन् तर  संस्कृति र सभ्यता मासिएको कहाँ गयो अनि डमौलीका रैथानेहरू जरो उखालिएर कहाँ पुगे कसैलाई थाहा छैन।

नारायण खड्का

चन्द्रबहादुर दरै उमेरले सात दशक कट्नुभयो। तनहुँको व्यास नगरपालिका–१ भादगाउँका बासिन्दा चन्द्रबहादुरका लागि दमौलीलाई डमौली हो । वि.सं. २००८ सालमा जन्मेर यही डमौलीमा हुर्किनुभएको चन्द्र बहादुर दरै यो दमौली भन्दा त्यो डमौली नै रमाइलो लाग्छ।

तनहुँको सदरमुकाम दमौलीलाई अघिल्लो पुस्ताले डमौली भनेर चिन्छन् । त्यही डमौलीमा दरै, बोटे समुदायको बाहुल्यता थियो । तनहुँ मगर समुदायको पनि बाक्लो बस्ती भएको जिल्ला हो । डिमूली र डमौलीबाट दमौली नामाकरणका विषयमा धेरै कथनहरू भेटिन्छन् ।

मगर जातिको घना बस्ती रहेको यस क्षेत्र वरपराका प्राय: ठाउँको नाममा ‘डी’ जोडिएको पाइन्छ । मगर समुदायले पानीलाई डी भन्छन् । शुक्ला (सेती) र माहेन्द्री (मादी) नदी अन्नपूर्ण हिमशृङखलाका छुट्टाछुट्टै मुहान उद्गमस्थल भई डमौलीमा आई मिल्नुका साथै प्रसस्त पानीको मूल भएको ठाउँ भएकाले डिमूली भन्ने गरिएको पनि पाइन्छ । डिमूलीबाट डमौली भन्दै गर्दा हालको दमौली नामाकरण हुन गएको मानिन्छ । डमौली नामाकरणको सम्बन्धमा भएका थुप्रै तर्कहरू मध्ये एउटा यसलाई पनि लिइन्छ ।

मुख्यत, डमौली विगत केही वर्ष अघिसम्म टाप्रेघारी हो । यहाँ दरै र बोटे समुदायको बसोवास रहेको थियो । गाईगोरु, बाख्रा पाल्ने, घैया धान, भट्टमास, मकै लगायतको खेती गरी जिविकोपार्जन गर्नुका साथै बोटे समुदायले माछा मार्ने, ढुङ्गा तार्ने गरेको हिजोझैँ लाग्छ चन्द्र बहादुर दरैलाई । यो, त्यो डमौलीको सभ्यता हो । तर, अहिले यो सभ्यता लोप भएको छ ।

 ‘डमौलीमा हामी दरै, बोटे बस्तुभाउ पाल्ने, घैया, मकै, मास लगायतको खेतीपाती गथ्र्यौ, त्यसैबाट गुजरा चल्थ्यो । औलो लाग्छ भनेर गाउँका मान्छे डमौली आएर बस्न डराउँथे त्यतिबेला’, चन्द्र बहादुरले भन्नुभयो, ‘जिल्ला सदरमुकाम आयो, रोड आयो अहिले नगरपालिका छ । डमौली त कता हरायो कुन्नी ? अहिले त दरै बोटेहरू पनि भेट्न गारो छ । चरिचरन नभएकाले बस्तुभाउ पनि पाल्न छाडिसक्यो । खेती गर्ने बारीमा जम्मै घरैघर छन् ।’

तनहुँको सदरमुकाम बन्दिपुरबाट वि.सं. २०२५ मंसिर १ गते तत्कालीन सरकारको निर्णयानुसार दमौलीमा स्थानान्तरण गरिएको थियो । सोही समयमा पृथ्वीराजमार्गको पनि विस्तार भएको हो । जिल्ला सदरमुकाम दमौलीमा स्थानान्तरण भयो, राजमार्ग पनि आएपछि विस्तारै डमौली ‘दमौली’ बन्दै गएको हो । दमौली गाउँ पञ्चायत, दमौली गाउँ विकास समिति हुँदै २०४६ सालको राजनैतिक परिवर्तन पछि तत्कालीन सरकारले २०४८ साल चैत्र ३० गते व्यास नगरपालिका घोषणा गरेको थियो ।

जिल्लाको सदरमुकाम दमौली, जिल्लाको पहिलो नगर व्यास नगरपालिकाको वडा नं. २, ३ र ४ क्षेत्र अहिले दमौलीका नामले चिनिन्छ । डमौलीबाट दमौली बन्यो, बसाइँसराई गरी आउने मानिसको चाप बढेसँगै बजार बढ्यो। बन्दिपुरबाट सदरमुकाम डमौली स्थानान्तरण, पृथ्वी राजमार्गको निर्माण प्रक्रियासँगसँगै शहरीकरणको नक्साङ्कन र बसोवास पनि द्रुत गतिमा बढ्यो । जर्मन आर्किटेकको योजनामा बनेको दमौली बजारमा १/२ आनामा पनि अहिले घर तथा भौतिक संरचनाहरू निर्माण गरिदिँदा दमौलीको सुन्दरता बिग्रिएको  ७८ वर्षीय देवनिधि पन्थ बताउँनुहुन्छ । १५ वर्षको उमेरमा डमौली चिनेका पन्थ त्यो बेलाको डमौली र अहिलेको दमौलीमा धेरै परिवर्तन आएको बताउँनुहुन्छ ।  

तत्कालीन समयमा डमौली विशेषत ठूलो एकादशी र माघे संक्रान्ति पर्वका समयमा चिनिन्थ्यो । अहिले पनि यी दुई पर्वमा चहलपहल त हुन्छ तर त्यो समयको जस्तो रौनकता देखिदैन’, पन्थ भन्नुहुन्छ, ‘भौतिक विकाससँगै डमौलीको नाम त फेरियो तर, यस क्षेत्रका धार्मिक, सांस्कृतिक, प्रकृति तथा यहाँका रैथाने समुदायको जुन रुपमा विकास र संरक्षण हुनुपर्थ्यो त्यो भने हुन सकेन । डमौलीको सभ्यता नै अहिले हरायो, यसको संरक्षणमा कोही कसैले ध्यान पुर्‍याएको देख्दिन ।’

बस्ती विकास भएको छ । यातायातका साधन सडकले थेगिनसक्नु गरी चल्छन् । बजार क्षेत्रमा पैदल हिड्‌न नसक्ने अवस्था पनि भइसकेको छ । व्यापार व्यवसाय पनि राम्रै फस्टाएको छ । अहिलेको आधुनिक र प्रविधिको समयमा यो हुनु पनि विकास नै हो’, उहाँ  भन्नुहुन्छ, ‘तर, दमौलीको पहिचानसँग जोडिएको व्यास पराशर क्षेत्र, छाब्दी मन्दिर, मादीसेती नदीको सङ्गम स्थल लगायत यस वरपरका क्षेत्रका सभ्यता र सम्पदाको जुन रुपमा विकास र संरक्षण हुनुपर्थ्यो त्यो भने ओझेलमा परेका छन् । यस तर्फ यहाँका बासिन्दा, व्यापारी, व्यवसायीले मात्र होइन् उच्च ओहोदामा पुगेका राजनीतिक दलका नेताहरूले पनि ध्यान पुर्‍याएको देखिँदैन् ।’

बस्ती विस्तारसँगै यहाँका परम्परागत रैथाने समुदाय, चालचलन, संस्कार, संस्कृति लोपको सङ्घारमा पुगेका छन् । दरै र बोटे समुदायको बस्ती पातलिएको छ । प्रकृति पूजक यो समुदायको परम्परागत संस्कार संस्कृति लोप हुँदै गएका छन् । दरै र बोटे समुदायको पहिचान झल्कने परम्परागत घुमाउने घर, चिम बारेर ( बाँस र बुल्ध्याङ्ग्रोको काठ प्रयोग गरी) माटोले लिपपोत गरी खर तथा स्याउलाको छानो हाली बनाइएका घर लोप भइसकेका छन् । यी र यस्ता घर अब एकादेशका कथा जस्तै बनिसके ।

यहाँका रैथाने बोटे समुदायले शुक्ला र माहेन्द्री (सेती र मादी) नदीमा माछा मार्ने, काठको ढुङ्गा चलाएर बटुवाहरूलाई नदी वारपार गराउने गर्थे । यी नदीसँग बोटे समुदायको पहिचान, संस्कार, संस्कृति अनि सभ्यता जोडिएको थियो । तर, अहिले यो सबै लोप भएका छन् । बोटे समुदायले पनि समय अनुसार आफ्नो दैनिकी र जीवनशैलीलाई परिवर्तन गरेका छन् । फुर्लुङ, ढडिया र जाल बोकेर माछा मार्न हिड्ने बोटे समुदाय अहिले वैदेशिक रोजगार तथा ज्याला मजदुरी गर्न तर्फ उन्मुख छन् ।

यस्तै, भारतको विहार राज्यको सिबाना जिल्लाबाट २०३६ सालमा दमौली आइपुगेका सुरेश साह पनि डमौलीको विकास प्रति दंग हुनुहुन्छ । १८ वर्षको उमेरमा मासिक ५० रुपैयाँ तलब लिने गरी डमौलीमा जेरीपुरी लगायतको खाजा बिक्री गर्ने काम गरेका साह छोटो समयमा डमौलीले काँचुली फेरेर दमौली बनेको बताउनुहुन्छ।

साह डमौली आउँदा ससाना घरका झुप्रा केही ठूला घर निर्माणका क्रममा थिए । पृथ्वीराजमार्गको विस्तारको काम भइरहेको थियो । गाउँगाउँबाट सदरमुकाम आउनेहरूलाई खाजा खुवाउँन थालेको ४३ वर्ष लागेको साह बताउँनुहुन्छ । साहको अहिले आफ्नै खाजा पसल छ । दमौलीको भौतिक विकास जति छिटो भयो सोही अनुसार यहाँको सभ्यताको संरक्षण र सम्पदाको विकास हुन नसकेको उहाँको बुझाई छ ।

धार्मिक पर्यटकीय हिसाबले व्यास परासर क्षेत्र, छाब्दी बाराही मन्दिर, मादीसेती नदीको संगम स्थलको जुन रुपमा विकास हुनुपर्थ्यो त्यो भने नभएको साहको बुझाई छ । यी सम्पदाको पनि समयमै यथोचित विकास भइदिएको भए अहिले दमौलीको पहिचान छुट्टै भइसक्ने थियो । तर, त्यो हुन सकेन । उनको चिया तथा खाजा पसलमा धेरै राजनीतिक गफ चुट्नेहरूको भिड लाग्छ, यो र त्यो भन्दै घण्टौँ गफ पनि गर्छन तर, गफ अनुसारको केही नभएको साह बताउँनुहुन्छ ।

डमौली  (दमौली)सँग जोडिएका पहिचान

यस्तै, व्यास पराशर क्षेत्र, मादी र सेती नदीको संगमस्थल, छाब्दी बाराही मन्दिर, मानहुँकोट लगायतका क्षेत्र दमौलीसँग जोडिएका पहिचान हुन । दमौली बजारबाट करिब दुई सय मिटर तल व्यास परासर क्षेत्र, मादी र सेती नदीको संगम स्थल छ । मादी र सेती नदीको संगमस्थलसँगै पराशर ऋषिको आश्रम छ । सोही नदीको पुर्वपट्टी चार वेद अठार पुराणका रचयिता वेद व्यासको जन्मस्थल ( व्यास गुफा ) छ । महर्षि पराशरको तपोभूमि तथा वेद व्यासको जन्मभूमि दमौलीले एउटा सिङ्गो इतिहास बोकेको छ । यति मात्र होइन यिनै कथासँग जोडिएको दमौलीबाट करिब १० किलोमिटर उत्तर तर्फ पाथरघाट (पराशर ऋषिको अर्को आश्रम), ७ किलोमिटर पूर्वतर्फ छाब्दी बाराही मन्दिर, पश्चिम र दक्षिणतर्फ करिब १ हजार १ सय मिटरको उचाइमा फैलिएको मानहुँकोट दमौलीको शिर बनेर ठडिएको छ । यीसँगै दमौली वरपर घाँसीकुवा विभिन्न समुदायको पहिचान र संस्कृतिसँग जोडिएका मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च तथा संग्रहालयहरूसमेतको विविधतायुक्त दमौली बनाउन मद्दत पुर्‍याएको पनि छ ।

२०४८ सालमा ५९ वर्ग किलोमिटर क्षेत्रलाई समेटेर कायम गरिएको व्यास नगरपालिका अहिले करिब २४८ वर्ग किलोमिटर क्षेत्रफलमा १४ वटा वडामा विस्तार भएको छ । यस नगरपालिकामा ३० भन्दा बढी जातजातिहरूको बसोवास रहेको छ । यी जातजातिको आआफ्नै भाषा, संस्कार, संस्कृति र पहिचान झल्कने भेषभूषा पनि छन् । दमौली क्षेत्रको प्रमुख आदिवासीको रुपमा दरै र बोटे जातिलाई लिइन्छ । छत्री, ढकीया, गुदको गुन्द्री एवं माछा मार्ने ढडिया दरै समुदायको पहिचान झल्कने हस्तकला हुन् । यिनको संरक्षणमा पनि नगरपालिकाले ध्यान दिन सकेको छैन ।

दरै समुदायको संस्कृति एवं खानाका परिकार र पेय पदार्थमा मत ( मकै तथा कोदोको जाँड ) ले सबैलाई लोभ्याउने गर्छ । बटुवाहरूलाई सिमलको काठबाट बनाइएको ढुङ्गाको माध्यमले नदी वारपार गराउने बोटेहरूको कला र संस्कृतिका साथै उनीहरूको चेली मत्स्यगन्धा (वेदव्यास ऋषिकी माता) सँग जोडिएको कथन दमौलीको अर्को महत्वपूर्ण पहिचान र विशेषता हो  । यस्ता संस्कार, संस्कृति, सम्पदा तथा सभ्यता दमौली (व्यास नगरपालिका) को पहिचान भएपनि अहिले लोपको सङ्घारमा पुगेका छन् ।

मुलुक संघीय संरचनामा गएसँगै पहिलो पटक भएको स्थानीय तह सदस्य निर्वाचनबाट व्यास नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यमा निर्वाचित जनप्रतिनिधिहरूले पाँच वर्षे कार्यकाल पुरा गरिसकेको भएपनि दमौली क्षेत्रको सभ्यता र सम्पदाको संरक्षण, प्रवर्द्धनमा खासै ध्यान दिन सकेनन् । स्थानीय तहको दोश्रो निर्वाचन पनि सम्पन्न भइसकेको छ । व्यास नगरपालिकाको प्रमुखमा पुन: दोश्रो कार्यकालका लागि बैकुण्ठ न्यौपानेनै निर्वाचित भएर आउनुभएको छ । पहिलो कार्यकालमा त्यस्तो वहाँ ! भन्ने खालको काम गरेर देखाउन नसकेका प्रमुख न्यौपानेले अबको पाँच वर्षे कार्यकालमा केके गर्नुहुन्छ त्यो समयले नै देखाउँला ।

पहिलो कार्यकालमा प्रमुख न्यौपानले डमौली र दमौलीको सभ्यता र सम्पदा संरक्षण र प्रवर्द्धनमा यथोचित काम गर्न नसकेपनि केही सपनाहरू भने देखाउनु भएको छ । प्रमुख न्यौपानले नारेश्वर ताल, १०८ फिट अग्लो व्यासको मूर्ति निर्माण, मादी नदीमा बाँध बाँधेर क्रितिम ताल निर्माण, व्यास झुला निर्माण, नगरपालिकाको बहुउद्देश्यीय नयाँ भवन निर्माण, २५ बेडको अस्पताल भवन निर्माण, भादगाउँ खानेपानी, कमेरेसाँध खानेपानी, देवीडाँडा खानेपानी योजना निर्माण, सीतभण्डार, विपी वनवाटिका खेलमैदान, दमौली सेन्ट्रल पार्क, मानहुँकोट, गलेखामकोट, तनहुँसुर, पुलिमर्‍याङ लगायतका पर्यटकीय क्षेत्रको विकास लगायतका नयाँ तथा अधुरा योजना पुरा गर्ने र व्यासलाई उपमहानगरपालिकामा स्तरोन्नतिका लागि पूर्वाधार निर्माण गर्ने सपना देखाउनु भएको छ ।

नगरप्रमुख न्यौपानेले देखेका यी सपना पुरा गर्दै जाँदा डमौली र दमौलीको सभ्यताको संरक्षण, यस क्षेत्रको सम्पदाको प्रवर्द्धन गर्नमा कत्तिको टेवा पुग्छ ? यो विषय भोलिका दिनमा पक्कै पनि देख्न र अनुभूति गर्न सकिन्छ होला । तर, अहिले नगरप्रमुखलाई दमौली बजार क्षेत्रको बढ्दो बस्ती व्यवस्थापन, अव्यवस्थित बन्दै गएको बजार क्षेत्रको सौन्दर्यकरण, फोहोरको उचित व्यवस्थापन, खानेपानी, पार्किङ, सार्वजनिक जग्गा संरक्षण, व्यवस्थित खेलमैदान अभाव, खाद्यान्नमा परनिर्भरता, बाँझिदै गएका खेतीयोग्य जमिनको उपयोग, नगरपालिकाबाट जनताले सहज रुपमा पाउनुपर्ने स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता विषयले नै गिज्याइरहेको छ ।

आवरण तस्बिरः २०३० तिरको र २०७८ सालको दमौली

  • नारायण तनहुँ दमौलीबाट प्रकाशित हुने भन्ज्याङ दैनिकका सम्पादक हुनुहुन्छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नारायण खड्का/तनहुँ का अन्य पोस्टहरु:
डमौली ‘दमौली’ बन्यो, तर नासियो डमौलीको सभ्यता !
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link