
नारायण खड्का
तनहुँको सदरमुकाम दमौलीमा बसोवास गर्दै आएकी ४५ वर्षीया रामकुमारी मजकोटीले अटो रिक्सालाई आफ्नो जिविकोपार्जनको माध्यम बनाउनु भएको छ। दुई छोरीकी आमा रामकुमारीको बैवाहिक जीवन विग्रिएपछि अहिले उहाँको साहारा अटो रिक्सा बनेको छ। बिहान ८ बजे घरबाट अटो लिएर बजार निस्कने रामकुमारी साँझ ७ बजेपछि मात्र फर्कने गर्नुहुन्छ।
२०५४ सालदेखि सिलाई कटाईको काम गर्दै आउनुभएकी रामकुमारी करिव दुई महिनादेखि दमौली आसपासका क्षेत्रमा अटो रिक्सा गुडाएर भएको आम्दानीबाट आफ्नो घर व्यवहार चलाउन थाल्नुभएको छ। प्रायः पुरुषहरूले मात्र अटो रिक्सा चलाउने गरेपनि उहाँले महिलाले पनि यो काम गर्न सक्छन् भन्ने आँट गरी यो क्षेत्रमा हात हालेको बताउनु हुन्छ।
सिलाई कटाई व्यवसायीबाट गुजारा नचलेपछि उहाँले अटो चलाउन सिक्नुभएको हो। ‘स्वास्थ्यमा आएको समस्यले सिलाई कटाई व्यवसायलाई अगाडि बढाउन सकिन’, उहाँले भन्नुभयो, ‘खुट्टामा आएको समस्य कारण मेशिन चलाउन नसक्दा हातमुख जोर्ने समस्य देखियो त्यसको बिकल्पमा यो क्षेत्रमा हात हाल्न आइपुगेको हुँ।’
‘श्रीमानसँग पनि सम्बन्धबिच्छेद भएपछि घरखर्च चलाउन निकै समस्य पर्यो’ रामकुमारीले भन्नुभयो, ‘दुई छोरीमध्ये कान्छि छोरी आफैसँग रहेको र उनको पढाई र घरव्यवहार चलाउन म अहिले हरेक दिन करिव १२ घण्टा पुरुष चालकहरूसँग प्रतिस्पर्धा गर्दै अटो चलाउने गर्छु।’

रामकुमारी मजकोटी
‘महिलालाई काम गर्न जतापनि गार्हो हुने रहेछ’, उहाँले भन्नुभयो, ‘म अटो चलाएर हिड्दा मानिसहरू मलाई औलाले देखाउँछन्, सायद महिलाले गाडी चलायो भनेर होला। यात्रुहरूले पनि महिला भन्दा पुरुष चालकलाई नै बढि विश्वास गरेको पाए।’
‘भाँडा दिने समयमा पनि महिला भनेर कम भाँडा दिन खोजछन्’ उहाँले भन्नुभयो, ‘मनग्य आम्दानी त भएको छैन तर के खाम र के गरम भन्ने पनि भएको छैन। दिनमा राम्रै यात्रु भेटियो भने १ हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म बचत गर्ने गरेको छु।’
तनहुँको व्यास नगरपालिका–१ भादगाउँकी ३१ वर्षीया श्रीधरा थापा मगरले पनि करिव चार महिनादेखि अटो चलाउदै आउनुभएको। पहिला सिलाई कटाई व्यवसाय गरेपनि त्यसबाट सोचेजस्तो आम्दानी नभएपछि उहाँले पनि अटो रिक्सा चलाउन सुरु गर्नुभएको हो।
श्रीधरा जिल्लाकै पहिलो महिला अटोचालक हुनुहुन्छ। उहाँकै सिको गरेर रामकुमारी पनि अटो रेक्सा चालक बन्नुभएको हो। अन्य पुरुष अटो चालक माझ आएर अटो चलाउन कठिन रहेको श्रीधरा बताउनुहुन्छ। उहाँका श्रीमान नेपाल आर्मीबाट सेवा निवृत्त भएपछि काठमाडौंस्थित एक होटलमा सेकुरेटरीको काम गर्नुहुन्छ। ‘श्रीमानलाई आर्थिक रुपमा पनि सहयोग गर्नका लागि आटो चलाउन सुरु गरेको हो’, उहाँ भन्नुहुन्छ, ‘सुरु सुरुमा अटो चलाएर हिड्न लाज लाग्थ्यो। अझ यात्रुहरू अटो महिलाले चलाउने भन्ने थाहा पाएपछि चढ्न अप्ठ्यारो मान्दा मलाई नमज्जा लाग्थ्यो।’

श्रीधरा थापा मगर
‘मैले अटो चलाएर हिड्दा मानिसहरू आफुले गरिरहेको काम छाडेर मलाई फर्की फर्की हेर्ने गर्दथे, अरुलाई पनि बोलाएर देखाउने गर्दथे’, उहाँले भन्नुभयो, ‘अटो चलाउछु भनेर अटो सिक्न हिड्दा छरछिमेकले छोरीमान्छे भएर गाडी चलाउने ? सबै पुरुषहरू मात्रै छन्, त एक्लै के गर्छेस् भन्थे। तर, अहिले सबै परिवर्तन भएको छ। मसँग यात्रा गर्न कोही पनि डराउदैन र पहिले कुरा काट्नेहरू पनि अहिले तिमीले राम्रो काम गरेकी छौं। हामी महिलाले पनि पुरुष सरह काम गर्न सक्छौं। समाजमा तिमी राम्रो उदाहरण बनेकी छौं भन्दा खुसी लाग्छ।’
उहाँ बिहान ८ बजेदेखि बेलुकीको ७ बजेसम्म राजमार्गको छेउछाउमा अटो चलाउनुहुन्छ। कहिलेकही फोन आउँदा बिहानको ६÷७ बजेपनि अटो लिएर निस्कने गरेको उहाँ बताउनुहुन्छ। श्रीधराले भन्नुभयो, ‘बेलुका भने म त्यती जान्न। मलाई फोन आयो भनेपनि अन्य दाईहरूको नम्बर दिन्छु।’ उहाँको दुई छोरी छन्। उहाँले अटो चलाएरै छोरीहरूलाई पठनपाठन र घरखर्च चलाउने गर्नुहुन्छ।
‘सिलाई कटाईबाट राम्रो आम्दानी हुदैनथ्यो। २/४ रुपैयाँ चाइएपनि श्रीमानसँग माग्नुपर्दथ्यो र उहाँकै नजरमा रहेर खर्च गर्नुपर्दथ्यो’, उहाँले भन्नुभयो, ‘अहिले अटो चलाएर आफु र नानीहरूको खर्च उठाउन सक्छु। आफ्नो आम्दानी भएपछि आफ्नै हिसावबाट नै खर्च पनि गर्न सक्छु।’
यस्तै, दमौलीका अटो व्यवसायीहरूले दमौली अटो चालक समिति गठन गरेका छन्। उक्त समिति भित्र ३२ वटा अटो र समिति बाहिरा ८ वटा अटो गरी दमौली आसपासका क्षेत्रमा ४० वटा अटो सञ्चालनमा छन्। यी चालकहरूमध्ये २ जनामात्र महिला अटो चालक छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
नारायण खड्का/तनहुँ का अन्य पोस्टहरु:
- तनहुँ हाइड्रोबाट आतङ्कित स्थानीय
- बिजुलीका खम्बाले रोक्यो पृथ्वीराजमार्ग विस्तार
- कसले दिने हो र चेपाङलाई मातृत्व तथा प्रजनन् स्वास्थ्यको ज्ञान?
- एउटा धारोका कारण ५३ वर्षपछि फेरियो सोममाया मगरको जिन्दगी
- आफन्तबाटै असुरक्षित छोरीहरू
- सामुदायिक विद्यालय: न विषयगत शिक्षक न त पर्याप्त दरबन्दी
- तीस वर्षदेखिको पीडाः चन्द्रावती–पोखरीछाप सडक
- तनहुँ–१: सातौ पटक चुनावी मैदानमा रामचन्द्र पौडेलः अगाडि चुनौतीका चाङ्ग
- बजारको फोहोर खोला र जंगलमा
- तनहुँमा ‘एक माध्यमिक विद्यालय एक नर्स’ कार्यक्रम