लामो समय वैदेशिक रोजगारीमा बिताएका तनहुँ म्याग्दे गाउँपालिकाका युवाहरू पछिल्लो समय आफ्नै जन्मथलोमा व्यवसायिक रुपमा पशुपालन तथा कृषि पेशा अंगाल्न थालेका छन्। परिवारको साथमा रहेर आफ्नै गाउँठाउँमा गरिएको मेहनतबाट पनि राम्रो आम्दानी हुने देखेपछि तनहुँका केही युवाहरू अहिले व्यवसायिक रुपमा पशुपालन तर्फ आकर्षित हुन थालेका छन्।
विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै बसेर काम गर्दा विदेशकै जतिनै आम्दानी हुने भएपछि पशुपालनतर्फ आकर्षित भएको युवाहरूले बताउने गरेका छन्। तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ६ का अमृत थापा र गुरुप्रसाद पौडेलले ६ करोड रुपैयाँको लगानीमा पोल्ट्री फार्म सञ्चालनमा ल्याउनुभएको छ।
जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउने उद्देश्यसहित सञ्चालित पोल्ट्री फार्ममा हालसम्म छ करोड रुपैयाँ बराबरको लगानी भएको छ। पोल्ट्री फार्ममा हाल १९ हजार लेयर्स कुखुरा रहेका छन्। फार्मबाट दैनिक १५ हजार गोटा अण्डा उत्पादन हुँदै आएको र नौ जनाको परिवारले रोजगारी पाएको फार्मका सञ्चालक थापाले बताउनुभयो।
व्यवसाय सञ्चालनका क्रममा मासिक ३५ लाख रुपैयाँ खर्च हुँदै आएको छ। १९ हजार कुखुरालाई दैनिक एक लाख २० हजार रुपैयाँ बराबरको दानामा खर्च हुँदै आएको छ। करिब ५३ रोपनी क्षेत्रफलको जग्गामा सञ्चालन गरिएको पोल्ट्री फार्मसम्म सडकको सहज पहुँच नहुँदा ढुवानी खर्च महँगो हुने गरेको कृषक थापाले बताउनुभयो।
जिल्लामै दाना उद्योग नहुँदा बाहिर जिल्लाबाट दाना ल्याउनुपर्ने कृषकको बाध्यता छ। कृषक थापाले भन्नुभयो, ‘चितवन र पोखराबाट कुखुराका लागि दाना ल्याउनुपर्छ, फार्मसम्म ल्याउनका लागि ट्याक्टरको प्रयोग गर्नुपर्छ। त्यसले गर्दा पनि खर्च बढ्ने गरेको छ।’
स्थानीय बजारले अण्डाको उत्पादन धान्न नसक्ने भएपछि यहाँ उत्पादित अण्डा छिमेकी जिल्लामा पनि निर्यात हुँदै आएको छ। त्यसका अतिरिक्त चितवन, पोखरा, काठमाडौंसम्म अण्डा निर्यात हुने गरेको कृषक थापाले बताउनुभयो। ‘अण्डा बिक्रीका लागि बजारको समस्या छैन’, उहाँले भन्नुभयो, ‘लामो समयदेखि लेयर्स कुखुरा उत्पादनमा लागेको हुँदा अब चल्ला उत्पादन, अण्डा उत्पादनमा सबै ज्ञान प्राप्त भइसकेको छ। कुखुरालाई कुनै पनि रोग लागेमा त्यसको पहिचान र समाधान आफैले गर्न सक्ने भएको छु।’
चल्ला हुर्काउन अत्यन्त जोखिम रहेकाले निश्चित तापक्रम दिनुपर्ने हुँदा आफै यसका लागि खट्ने गरेको कृषक थापाले बताउनुभयो। फार्ममा भएको कूल कुखुरामध्ये ८० प्रतिशतले अण्डा दिने गरेका छन्। दिनमा १५ हजार अण्डा उत्पादन हुने हुँदा अण्डा खरिदका लागि व्यवसायी आफै फार्मसम्म आउने गरेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘अण्डा बिक्रीका लागि अन्यत्र भौतारिनुपर्दैन, व्यवसाय गरेपछि आम्दानी त हुन्छ नै त्यो भन्दा बढी स्वदेशमै बसेर व्यवसाय गर्दा आत्मसन्तुष्टी मिल्दो रहेछ।’
यस्तै, १६ वर्ष वैदेशिक रोजगारीमा बिताउनु भएका म्याग्दे गाउँपालिका–४ सिस्नेरी निवासी बमबहादुर थापाले स्वदेश फर्किएर अहिले बंगुरपालन गरिरहनुभएको छ। ‘रोजगारीको शिलशिलामा कुवेत बस्दा आम्दानीको स्रोत राम्रै रहेपनि नेपालमै गएर केही गर्ने सोच राखेर अहिले बंगुर पालन गर्दै आएको छु’, उहाँले भन्नुभयो, ‘विदेशमा राम्रो कमाइ हुँदाहुँदै पनि नेपालमा आएर परिवारसँगै केही गरौँ भन्ने भावनासहित लाङघाली कृषि फार्म दर्तागरी बंगुरपालनलाई अगाडि बढाएको छु।’
थापाले आफ्नै जग्गामा १५ लाख रुपैयाँको लगानीमा बंगुरपालन व्यवसाय सुरु गर्नुभएको छ। उहाँ भन्नुहुन्छ, ‘कति अर्काको देशमा श्रम बेच्ने, घरपरिवारसँग टाढिएर बस्ने बाध्यतालाई अन्त्य गर्दै खेती नगरी बाँझिदै गएको आफ्नै दश रोपनी जग्गामा बंगुरफार्म सञ्चालन गरेको छु।’
थापाले अहिले ३३ वटा बंगुर पाल्दै आउनुभएको छ। बंगुरको स्याहारसुसारमा परिवारको राम्रो साथ पाएको बताउँदै थापाले भन्नुभयो, ‘विदेशमा बगाउने पसिना स्वदेशमै बगाउँदा आत्मनिर्भर बन्न सकिन्छ, त्यसमाथि परिवारसँगै बसेर व्यवसाय गर्न पाउँदा सन्तुष्टि पनि मिल्दो रहेछ।’ तर, अहिले उत्पादन भएका बंगुर बिक्रीका लागि बजारको समस्या रहेको उहाँको गुनासो छ।
‘बंगुरको मासु बेच्नका लागि आफ्नै पसल नहुँदा बंगुरले मूल्य पाउन सकिरहेको छैन, यसतर्फ सम्बन्धित निकायसँग अनुरोध गरेको छु’, थापाले भन्नुभयो, ‘बंगुर उत्पादनका लागि कुनै समस्या नभएपनि उत्पादित वस्तुको सहज बजार नहुँदा किसानलाई मार परेको छ। सम्बन्धित निकायले यस तर्फ ध्यान दिनुपर्छ।’
‘व्यवसायमा लाखौ लगानी भएको छ, तर बजार अभाव छ, बंगुर कहाँ बेच्ने भन्ने समस्या बढ्दै गइरहेको छ’, उहाँले भन्नुभयो, ‘बंगुर बिक्रीका लागि बिचौलिया लगाउनुपर्ने बाध्यता छ। बंगुरको पाठापाठी बिक्री गर्ने गरेता पनि अन्य स्थानबाट आयात हुने पाठापाठीसँग प्रतिस्पर्धा गर्न गाह्रो पर्दा कतै व्यवसायलाई निरन्तरता दिन पो नसकिने हो कि भन्ने त्रासपनि बढ्दै गएको छ।’
विगतमा प्रति पाठापाठी सात हजार पाँच सय रुपैयाँमा बिक्री गर्ने गरेपनि अहिले छ हजार रुपैयाँमा बेच्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहन्छ। उहाँले भन्नुभयो, ‘तीव्र प्रतिस्पर्धा हुने, दानापानीको मूल्य बढ्ने तर बंगुरको मूल्य घटाएर बेच्नुपर्ने बाध्यता छ। गाउँपालिकाले बजारको खोजी गरिदिए सहज हुन्थ्यो।’
यस्तै, म्याग्दे गाउँपालिका–४ का समीक्षा श्रेष्ठले भैंसीपालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ। बैंकबाट ऋण काढेर भैँसीपालन सुरु गर्नुभएका श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि स्वदेशमै सन्तुष्ट रहेको बताउनुभयो। असिम भैँसीफार्मका सञ्चालक श्रेष्ठले मासिक ५० रुपैयाँ हजार बचत गर्दै आउनुभएको छ।
‘आठ रोपनी जग्गा भाडामा लिएर भैंसी पालन व्यवसाय सुरु गरेको छु। प्रति भैंसी दुई लाख ५० हजार रुपैयाँका दरले छ वटा भैँसी खरिद गरेर व्यवसाय सुरु गरेको हुँ’, उहाँले भन्नुभयो, ‘विदेशमा गएर श्रम गर्नुभन्दा घरपरिवारका साथ व्यवसाय सुरु गर्दा आनन्द आएको छ। परिवार पनि खुसी छन्।’
‘आखिर जहाँ गएपनि श्रम गर्नै पर्दोरहेछ’, कृषक श्रेष्ठले भन्नुभयो, ‘देशमै केही गरौं भन्ने मनसायबाट पशुपालनतर्फ लागेको हुँ। स्वदेशमा बसेर के गर्ने भन्ने सोचिरहेको थिएँ, पशुपालनमा राम्रो सम्भावना छ भन्ने सबैको सल्लाहपछि भैँसीपालनलाई अगाडि बढाएको छु। अहिले फार्मममा १३ वटा भैँसी पालेको छु।’
भैंसीका लागि आवश्यक घाँसका लागि श्रेष्ठले जग्गा भाडामा लिनुभएको छ। उहाँका अनुसार हालसम्म करिब ३० लाख रुपैयाँ लगानी भएको छ। ‘दैनिक ४० लिटर दूध उत्पादन गर्दै आएको छु। दूध बिक्रीका लागि बजारको समस्या छैन’, उहाँले भन्नुभयो, ‘दूधले राम्रो बजार पाइरहेको छ, बजार पाइएन भनेर कहिल्यै चिन्तित हुनपरेको छैन।’
श्रेष्ठले आफुले उत्पादन गरेको दूध स्थानीय थर्पु बजार तथा आसपासका बजार क्षेत्रमा बिक्री वितरण गर्दै आउनुभएको छ। ‘बजार सानो भए पनि दूध बिक्रीका लागि समस्या नहुँदा खुसी लागेको छ। अहिले मासिक ५० हजार रुपैयाँ बचत हुने र त्यसैबाट घरपरिवार राम्रोसँग चलेको छ’, कृषक श्रेष्ठले भन्नुभयो, ‘सबै खर्च कटाएर मासिक ५० हजार रुपैयाँसम्म कमाउँछु, यति रकमले घरखर्च चलाउन सहयोग पुगेको छ।’
अनुदानका लागि फार्मको अनुगमन
तनहुँको म्याग्दे गाउँपालिकाले व्यवसायिक कृषि पेशा अंगालेका कृषकहरूलाई अनुदान वितरणका लागि कृषि फर्मको अनुगमन गरेको छ। गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेको संयोजकत्वमा गठित समितिले उत्पादनमा आधारित अनुदान वितरणका लागि १२२ वटा कृषकका फर्म अनुगमन गरेको हो।
समितिले पालिकाभित्र दर्ता गरी सञ्चालनमा रहेका व्यवसायिक फर्मको अनुगमन तथा निरिक्षण गरिएको संयोजक घिमिरेले बताउनु भयो। कृषकलाई कृषि र उत्पादनमा अभिप्रेरित गर्नका लागि अनुदानको व्यवस्था गरिएको पालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनु भयो। अनुदान वितरणका लागि पालिकाले पालिका भित्रका व्यवसायिक फर्मको लागि निवेदन माग गरेको थियो। जसमध्ये १२२ जना कृषकले अनुदान पाउनका लागि पालिकामा निवेदन दिएका छन्।
अनुगमनमा पुगेका टोलीसंग नवदुर्गा कृषि फर्मका संचालक युवराज शाहीले व्यवासायमा बैकंवाट ऋण लिएर ठुलो लगानी गरेको तर उत्पादित उपजको बजारीकरण हुन नसकेको गुनासो गर्नुभएको थियो। बजारको व्यवस्थापन नहुँदा आफुले उत्पादन गरेको दुधले बजार नपाएको गुनासो गर्दै उहाँले भन्नुभयो, ‘वास्तविक किसान मर्कामा परेको तर अनुदान तथा राहत अरुले नै पाउने गरेकाले अनुगमन समितिले यस तर्फ ध्यानदिनु पर्दछ।’
गाउँपालिकाले व्यवसायिक कृषकलाई अनुदानमा चालु आर्थिक वर्षका लागि बोका खरिदमा ३ लाख ५० हजार रुपैयाँ, औजार च्याप कटरमा १ लाख, माछाको भुरा खरिद, गोठ खोर निर्माणका लागि ४ लाख, स्थानीय कुखुराका लागि १ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सोही बजेट वितरणका लागि आवश्यकतामा आधारित रहेर कृषकलाई अनुदान वितरण गर्न लागिएको अनुगमन समितिका संयोजक घिमिरेले बताउनु भयो।
अनुगमन समितिले पालिकाका सातैवटा वडामा गएर व्यवसायिक फर्म अनुगमन तथा निरिक्षण गरी कृषकको वर्गीकरण र फर्मको आवश्यकता हेरेर अनुदान वितरण गर्ने तयारी गरेको छ। अनुदानका क्रममा पालिकाले कुखुरा तथा पशुपंक्षि पालन, माछापालन, वंगुर पालन, भैसीपालन, मौरी पालन, कुखुरा पालन, गाई फार्म, बोका निरीक्षण लगायतका व्यवसायिक फर्मको निरीक्षण गरेको थियो।
यस्तै, वास्तविक कृषक पहिचानका लागि स्थलगत अनुगमन तथा निरीक्षण गरिएको पालिकाका अध्यक्ष श्रेष्ठले बताउनुभयो। ‘अनुदानका लागि धेरै जनाको आवेदन परेको हुँदा वास्तविक कृषकको पहिचान गर्न हामी फर्म निरीक्षणमा गएका हौं’, उहाँले भन्नुभयो, ‘अब अनुदानको प्रक्रिया अगाडी बढाउँछौं। कृषकको मागको हैन, आवश्यकताको आधारमा हामीले अनुदान दिनेछौ, जसले गर्दा वास्तविक किसानलाई अनुदानले व्यवसाय विस्तार र उत्पादनमा राहत मिल्ने हामीले विश्वास गरेका छौं।’
तस्बिर: तनहुँको म्याग्दे गाउँपालिका–६ का कृषक अमृत थापा र गुरुप्रसाद पौडेलले सञ्चालन गरेको पोल्ट्री फार्ममा उत्पादन भएका अण्डा बिक्री वितरणको तयारी । तस्बिर: नारायण खड्का/तनहुँ
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
नारायण खड्का/तनहुँ का अन्य पोस्टहरु:
- भानुजयन्तीको कर्मकाण्ड, हाम्रा भाषालाई तर्पण
- पहिरो गएपछि सम्झने बुद्धसिंह मार्ग !
- वैदेशिक रोजगारीमा भौँतारिएका युवा अहिले आफैँ रोजगारदाता
- ‘चितुवाले चिथोरेको घाउमा खत त बस्यो, मनबाट डर हटेन’
- सेती किनारमा मजदुरको पीडा : न कसैले देख्छ, न कसैले सुन्छ !
- तनहुँ हाइड्रोबाट आतङ्कित स्थानीय
- बिजुलीका खम्बाले रोक्यो पृथ्वीराजमार्ग विस्तार
- कसले दिने हो र चेपाङलाई मातृत्व तथा प्रजनन् स्वास्थ्यको ज्ञान?
- रामकुमारी र श्रीधरालाई सम्मान दिने अटोरिक्सा
- एउटा धारोका कारण ५३ वर्षपछि फेरियो सोममाया मगरको जिन्दगी