तनहुँको शुक्लागण्डकी नगरपालिका–११ निवासी विशाल पौडेल विसं २०६९ देखि ५ वर्षसम्म कतारमा सुपरमार्केटमा काम गरेर नेपाल फर्कनुभयो। विदेशमा काम गर्नुभन्दा स्वदेश फर्किएर उत्पादनमूलक व्यवसायमा लाग्ने उहाँको सोच थियो। सोचअनुरूप उहाँले स्वदेश फर्किएपछि केही गरौं भनेर साथीहरूसँग सल्लाह गर्नुभयो।
यस्तै, शुक्लागण्डकी नगरपालिका–८ का रूपबहादुर गोतामे पनि १ वर्ष कतार र ८ वर्ष दुबईमा काम गर्नुभयो। उहाँ पनि पाँच वर्ष अगाडि नेपाल फर्कनुभयो। नेपालमै केही गरौं भन्ने भावना थियो दुवैमा। पौडेल र गोतामको सोच मिल्यो र अन्य साथीसँग पनि सरसल्लाह भयो। शुक्लागण्डकी नगरपालिकाकै विभिन्न वडा घर भई विदेशबाट फर्किएका अन्य पाँच युवा र स्थानीय युवाको सहभागितामा वैशाखेघाट लाइभस्टक एग्रो प्रालि सञ्चालन गरे। कुल १३ जनाको साझेदारीमा विगत पाँच वर्षदेखि एग्रो प्रालि सञ्चालनमा छ। पहिले रोजगारी खोज्दै भौतारिएका युवा अहिले आफ्नै गाउँठाउँमा पशुपालन व्यवसाय गरी अन्यलाई रोजागरी दिनसक्ने अवस्थामा पुग्नुभएको छ।
पौडेल र गोतामेसहित विदेशबाट फर्किएका शुक्लागण्डकी–११ का सुमन गौतम, दिपक सिग्देल र दिपेन्द्र पौडेलको पनि फार्ममा लगानी छ। अन्य ८ जना भने विभिन्न क्षेत्रका व्यक्ति यसमा आबद्ध छन्। उक्त एग्रो प्रालिमा हाल १५० गाईभैँसी छन्। त्यसमध्ये ३० गाई छन् भने बाँकी भैँसी रहेको एग्रो प्रालिका व्यवस्थापक समेत रहनु भएका विशालले बताउनु भयो।
‘उत्पादनमूलक व्यवसाय गर्नुपर्यो भनेर साथीहरूसँग सल्लाह भयो र ५ वर्षदेखि एग्रो प्रालि सञ्चालन भइरहेको छ। ५ जना विदेशबाट फर्किएका युवाहरू छौँ। राम्रोसँग गरे पक्कै पनि सफल भइन्छ भन्ने उद्देश्य राखेर फार्म सञ्चालन गरिएको हो,’ उहाँ भन्नुहुन्छ, ‘पहिला हामी आफै रोजगारी खोज्दै खाडी मुलुकमा भौतारिएका थियौँ। अहिले यहाँ ५० भैँसी र ३० गाई दुधालु छन्। पशुको रेखदेख तथा उत्पादित दुधको बजारीकरणलगायतका काम गर्न अन्य १७ जनालाई रोजागरी समेत दिएका छौं।’
फार्मबाट दैनिक छ सय लिटर दूध उत्पादन हुँदै आएको छ। दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्यसहित ६० गाई थप्ने योजना रहेको पौडेलले सुनाउनुभयो। व्यवसायमा कठिनाइ र संघर्ष रहेको भन्दै पौडेलले भन्नुभयो, ‘पहिला अर्काको देशमा गएर रोजगारी गर्नुभन्दा अहिले अरुलाई रोजगारी दिन पाउँदा सन्तुष्ट छौं।’
तर, सरकारी निकायबाट कृषि र पशुपालनका लागि साथ सहयोग नपाउँदा दुःख लाग्ने गरेको उहाँको गुनासो छ। दाना, चोकर, औषधि उपचारमा सरकारी पक्षको सहयोग हुनुपर्ने उहाँको माग छ। ‘सरकारी पक्षबाट पशुपालन व्यवसायमा सहयोग छैन। गाईभैंसी बिरामी पर्दा पालिकाबाट प्राविधिक आउँदैनन्, बाहिरबाट मगाउनुपर्छ। यति ठूलो फार्म सञ्चालन गरेपछि सरकारी पक्षबाट पनि हेरिदिए हुन्थ्यो भन्ने लाग्छ,’ उहाँले भन्नुभयो।
कुल लगानी १५ करोड रुपैयाँ पुगेको र फार्म सञ्चालनका लागि बैंकबाट १० करोड रुपैयाँ ऋण लिइएको प्रालिका अध्यक्ष मुक्ति सिग्देलले बताउनुभयो। प्रालिले १२० रोपनी जग्गा खरिद गरेको छ। त्यसमध्ये पशुपालनमा ५० रोपनी जग्गा प्रयोग भएको छ। गोबर र पिसाब व्यवस्थापन सहितको कामका लागि प्रालिलाई नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाइमार्फत १ करोड ७६ लाख अनुदान प्राप्तिका लागि सम्झौता गरेको छ। त्यसमध्ये पचास प्रतिशत लागत साझेदारी प्रालिले बेहोर्नुपर्नेछ।
यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका–१० गैराबारीका हरि खड्का पनि वैदेशिक रोजगारीबाट फर्किएर युनिक बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गर्नु भएको छ। २०७४ सालदेखि सञ्चालित फार्म एक सय तीन रोपनी क्षेत्रफलमा फैलिएको छ। उक्त कृषि फार्ममा कालिज, हाँस, लोकल कुखुरादेखि भैंसीसम्म पालन गरिएको छ। कृषि र पशुपालनलाई एकीकृतरुपमा लैजाने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित कृषक खड्का अगाडि बढ्नुभएको छ।
नेपालमा रोजगारी नभएको भन्दै युवा विदेशिरहेको अवस्थामा उहाँले करोडौंको लगानीमा उक्त फार्म सञ्चालन गर्नुभएको हो। पाडापाडीसमेत गरी एक सय भैंसी रहेको सो फार्मबाट दैनिक ३५० लिटर दूध उत्पादन हुने गरेको र उत्पादित दूध खैरेनीटार तथा दुलेगौँडामा रहेको बिक्री केन्द्रमार्फत बिक्री भइरहेको छ। ‘खैरेनीटार र दुलेगौडा बजारमा एक-एक वटा बिक्री केन्द्र राखेर दूध बिक्री भइरहेको छ, दूध बिक्रीका लागि बजारको समस्या छैन,’ कृषक खड्काले भन्नुभयो, ‘माग बढी भएकाले दूध उत्पादन वृद्धि गर्नुपर्ने भएको छ।’
उहाँको फार्ममा अहिले ११ करोड रुपैयाँ बराबरको लगानी पुगेको छ। फार्ममा १० जना आवासीय कर्मचारी छन्। घाँस काट्नका लागि आवश्यकता अनुसार थप जनशक्ति राख्ने गरिएको छ। १२ वर्ष नेपाली सेनामा बिताउनुभएका खड्काले १२ वर्ष आबुधाबी प्रहरीमा काम गर्नाका साथै स्वदेश फर्किएर युनिक डिपार्टमेन्टल स्टोर्सबाट व्यावसायिक यात्रा सुरुआत गर्नुभएको थियो।
स्वदेशमै परिवारसँग बसेर कृषि पेसा अँगाल्न सके राम्रो आम्दानी छ, विदेश जाँदा खर्चिने रकम कृषि र पशुपालनमा लगानी गर्ने हो भने त्यहाँ कमाउने जति रकम परिवारसँगै रमाएर यहीँ कमाउन सकिने उहाँ बताउनुहुन्छ। ‘जबसम्म कृषि काम गर्नेलाई सम्मान गर्न सकिँदैन तबसम्म अन्य कुरा गर्न सक्दैनौं। तीन तहको सरकारले कृषिलाई बढी प्राथमिकता दिनुपर्छ,’ कृषक खड्काले भन्नुभयो, ‘राज्यले गरेको लगानी उत्पादनसँग जोड्न सक्नुपर्छ।’
व्यावसायिक रूपमा कृषि गरेकालाई राज्यले सहयोग नगरेको उहाँको गुनासो थियो। निर्वाहमुखी कृषि गरेकालाई बढी प्राथमिकता दिने गरिएको गुनासो गर्दै उहाँले भन्नुभयो, ‘झोलामा कृषि गरेकाले अनुदान पाएका होलान्, तर व्यावसायिक रूपमा गर्नेलाई कम प्राथमिकता छ।’
फार्मले प्राङ्गारिक तरकारी उत्पादन गर्ने अवधारणा बनाएको र कृषि पर्यटनलाई जोड दिएको छ। कृषि र पशुपालनलाई पर्यटनसँग जोडेर घरबास सञ्चालन गर्ने योजना बनाइएको छ। त्यसका लागि फार्म परिसरमा घुमाउने घर बनाइएको छ। लोप हुने अवस्थाका घुमाउने घरलाई संरक्षण गरिएको उहाँले बताउनुभयो। ‘लोप हुने अवस्थामा पुगेका पुराना कृषि सामग्रीलाई संग्रहालयको रूपमा घुमाउने घरमा राख्ने तयारी छ। यसका लागि ढिकी, जाँतो, कुटो, कोदालो, हँसिया लगायत सामग्री संकलन भइरहेको छ,’ खड्काले भन्नुभयो, ‘होम स्टेमा बास बस्न आउने पर्यटकलाई आफ्नै फार्ममा उत्पादन भएको प्राङ्गारिक परिकारका स्वाद चखाउँछौं।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
नारायण खड्का/तनहुँ का अन्य पोस्टहरु:
- भानुजयन्तीको कर्मकाण्ड, हाम्रा भाषालाई तर्पण
- पहिरो गएपछि सम्झने बुद्धसिंह मार्ग !
- ‘चितुवाले चिथोरेको घाउमा खत त बस्यो, मनबाट डर हटेन’
- सेती किनारमा मजदुरको पीडा : न कसैले देख्छ, न कसैले सुन्छ !
- विदेशबाट फर्किएकाहरूको स्वदेशमा पौरख
- तनहुँ हाइड्रोबाट आतङ्कित स्थानीय
- बिजुलीका खम्बाले रोक्यो पृथ्वीराजमार्ग विस्तार
- कसले दिने हो र चेपाङलाई मातृत्व तथा प्रजनन् स्वास्थ्यको ज्ञान?
- रामकुमारी र श्रीधरालाई सम्मान दिने अटोरिक्सा
- एउटा धारोका कारण ५३ वर्षपछि फेरियो सोममाया मगरको जिन्दगी