स्पेनमा आइतबार (नोभेम्बर २९) हुन गइरहेको मध्यावधि आम निर्वाचनअघि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले अन्तिम चुनावी सभाहरूमार्फत मतदाता रिझाउने कसरत गरेका छन्। संसदले आवास सङ्कट समाधानसम्बन्धी सरकारी प्याकेज अस्वीकृत गरेपछि प्रधानमन्त्री पेद्रो सान्चेजले गत अक्टोबरमा संसद विघटन गरी निर्धारित समयभन्दा आठ महिनाअघि नै निर्वाचन घोषणा गरेका थिए।
मतदानको पूर्व सन्ध्यामा समाजवादी पार्टी (पिएसओई) का नेता तथा प्रधानमन्त्री सान्चेजले मत सर्वेक्षणहरूको नतिजालाई गलत साबित गर्दै आफ्नो पार्टीले जित्ने आत्मविश्वास व्यक्त गरेका छन्। राजधानी म्याड्रिडमा रातो टिसर्ट लगाएका समर्थकहरूसँग सेल्फी खिचाउँदै उनले भने, “हामीले हार्ने कुरा म कल्पनासमेत गर्न सक्दिनँ ।” उनले आफ्ना कन्जर्भेटिभ प्रतिस्पर्धी अल्बर्टो नुनेज फेइजोले उग्र-दक्षिणपन्थी दलसँग गठबन्धन गर्न खोजेको आरोप लगाए । “यो चुनाव स्पेनलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने विषय हो,” सान्चेजले भने ।
युरोपका थोरै वामपन्थी सरकारमध्ये एकको नेतृत्व गरिरहेका सान्चेजका लागि यो निर्वाचन निकै चुनौतीपूर्ण देखिएको छ। फ्रान्समा राष्ट्रपति निर्वाचन हुन पाँच महिना मात्र बाँकी रहँदा स्पेनको नतिजाले युरोपका दुई ठुला अर्थतन्त्रलाई दक्षिणपन्थी धारतर्फ धकेल्न सक्ने विश्लेषण गरिएको छ। स्पेनको निर्वाचन कानुनअनुसार गत सोमबारयता नयाँ मत सर्वेक्षण सार्वजनिक गर्न रोक लगाइएको भए पनि त्यसअघिका सर्वेक्षणहरूले फेइजोको पपुलर पार्टी (पिपी) झिनो मतान्तरले अगाडि रहेको देखाएका छन्।
बार्सिलोना हुँदै दक्षिणी सहर सेभिलमा अन्तिम सभालाई सम्बोधन गर्दै पिपीका नेता फेइजोले मतदातासमक्ष “सत्य, मर्यादा र सुशासन” सहितको नयाँ राजनीतिक युगको वाचा गरेका छन्। उनले प्रधानमन्त्री सान्चेजमाथि भ्रष्टाचार, रेल दुर्घटना, आप्रवासन समस्या र राष्ट्रिय ऋणजस्ता गम्भीर मुद्दाहरूमा जवाफ दिनबाट पन्छिएको आरोप लगाए । तीन वर्षअघिको निर्वाचनमा सबैभन्दा बढी सिट जितेर पनि सरकार बनाउन असफल भएका फेइजोले यस पटक भने सरकार बनाउने दाबी गरे। ३५० सिटको तल्लो सदनमा बहुमतका लागि १७६ सिट आवश्यक पर्छ।
यदि फेइजोले सरकार बनाउने अवसर पाएमा उनले आप्रवासन विरोधी उग्र-दक्षिणपन्थी दल ‘भोक्स’ को समर्थन लिनुपर्ने देखिन्छ। भोक्सका नेता सान्टियागो अबास्कालले पूर्वी तटीय सहर भ्यालेन्सियाको एक ‘बुल-रिङ’ (साँढे जुधाउने मैदान) मा आयोजित विशाल सभालाई सम्बोधन गर्दै सान्चेज सरकारले स्पेनिस नागरिकलाई ‘धोका’ दिएको आरोप लगाए । सभामा भोक्सका महासचिव इग्नासियो गारिगाले “कम बुर्का र कम हलाल” को नारा लगाउँदा समर्थकहरूले चर्को हुटिङ गरेका थिए भने भीडको एक हिस्साले पूर्वतानाशाह फ्रान्सिस्को फ्रान्कोको समर्थनमा नारासमेत लगाएको थियो । सन् १९७५ मा फ्रान्कोको मृत्युपछि स्पेनमा लोकतन्त्र पुनर्स्थापना भएको थियो।
अन्तिम दिनको चुनावी प्रचारप्रसार अघिल्लो रात भएको चार दलीय टेलिभिजन बहसको छायामा परेको थियो । बहसमा चारै नेताले देशको चर्को आवास सङ्कट समाधानका आ-आफ्नै योजना अघि सारे । फेइजोले चार वर्षमा १० लाख घर बनाउने घोषणा गरे भने सान्चेजले आवासलाई नाफा कमाउने माध्यम नभई नागरिकको अधिकारका रूपमा स्थापित गर्नुपर्ने बताए ।
बहसका क्रममा फेइजोले भ्यालेन्सियाको बाढी विपद्का बेला वामपन्थी नेताहरू चुप बसेको भन्दै ओठमा औँला राखेर ‘कायादिता’ (चुप लागेर बस्नू) भन्ने होच्याउने किसिमको शब्द प्रयोग गरेपछि विवाद चर्किएको थियो । प्रधानमन्त्री सान्चेज र उनकी वामपन्थी सहयोगी एवं ‘फ्रेन्ते एम्प्लियो’ की प्रमुख आदा कोलाउले उक्त अभिव्यक्तिलाई महिला विरोधी मानसिकताको संज्ञा दिँदै कडा आलोचना गरेका छन् । कोलाउले दक्षिण म्याड्रिडको सभालाई सम्बोधन गर्दै आफूहरू “चुप नबस्ने बरु चुनाव जितेर अर्को प्रगतिशील सरकार बनाउने” उद्घोष गरिन् ।
आइतबार हुने निर्वाचनमा स्पेनका करिब ३ करोड ८७ लाख मतदाताले तल्लो सदनका ३५० र सिनेटका २०९ सदस्यका लागि मतदान गर्नेछन्। फेइजोले भोक्सलाई मन्त्री पद नदिई संसदीय समर्थनको सम्झौतामार्फत बहुमतको सरकार चलाउन चाहेको बताए पनि सन् १९७५ पछि पहिलो पटक स्पेनको राष्ट्रिय राजनीतिमा उग्र-दक्षिणपन्थी शक्तिको उदय हुने सम्भावनाले युवा मतदाताहरूलाई ध्रुवीकृत बनाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
एजेन्सी का अन्य पोस्टहरु:
- फिलिपिन्सका पूर्व राष्ट्रपति दुतेर्तेविरुद्ध आईसीसीमा ऐतिहासिक सुनुवाइ सोमबारदेखि सुरु हुँदै
- अमेरिकामा ‘थ्याङ्क्सगिभिङ’ आँधी: करिब १० लाख घर अन्धकारमा, २६ सयभन्दा बढी उडान प्रभावित
- इजिप्टको कायरो राजमार्गमा इन्धन ट्याङ्कर दुर्घटनापछि भीषण आगलागी: कम्तीमा ३१ जनाको मृत्यु, २१ घाइते
- साक्षी प्रभावित पारेको अभियोगमा फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजी र पत्नी कार्ला ब्रुनीविरुद्ध आगामी वर्ष मुद्दा चल्ने
- एनभिडियाको सीईओमा जेन्सेन हुआङको पुनरागमन, सेयर बजारमा उछाल
- सहमतिबिनै सकियो कोप–३१ जलवायु सम्मेलन, खनिज इन्धन र जलवायु वित्तमा जुटेन कुरा
- रुसले युक्रेनका पुलमा १०९ पटक हमला गरेकाले क्रिमिया पुलमा प्रहार गर्यौँ: राष्ट्रपति जेलेन्स्क
- तिब्बती बौद्ध धर्ममाथि चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक नियन्त्रण बढ्दै गएको आईसीटीको प्रतिवेदन
- एन्थ्रोपिकको ऐतिहासिक आईपीओ : १.७६ ट्रिलियन डलर मूल्याङ्कनसहित तोड्यो स्पेसएक्सको कीर्तिमान
- रोहिंग्या नरसंहारमा म्यानमार दोषी ठहर, अन्तर्राष्ट्रिय न्यायालयको ऐतिहासिक फैसला