एन्थ्रोपिकको ऐतिहासिक आईपीओ : १.७६ ट्रिलियन डलर मूल्याङ्कनसहित तोड्यो स्पेसएक्सको कीर्तिमान

कृत्रिम बुद्धिमत्ता (एआई) च्याटबट ‘क्लाउड’ निर्माता कम्पनी एन्थ्रोपिक आफ्नो ऐतिहासिक प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) सँगै विश्वकै सर्वाधिक मूल्यवान सार्वजनिक कम्पनीहरूको सूचीमा उक्लिएको छ। बिहीबार अमेरिकी सेयर बजार ‘नास्डाक’ मा ‘एएनटी’ टिकर सिम्बोलमार्फत कारोबार सुरु भएसँगै कम्पनीको बजार मूल्याङ्कन करिब १.७६ ट्रिलियन अमेरिकी डलर (१.३४ ट्रिलियन पाउन्ड) पुगेको छ।

आइपिओओमार्फत ८१.३ अर्ब डलर पुँजी सङ्कलन गर्दै एन्थ्रोपिकले यसै वर्षको जुन महिनामा एलन मस्कको कम्पनी स्पेसएक्सले बनाएको ७५ अर्ब डलरको कीर्तिमानसमेत तोडेको छ। विशुद्ध एआई प्रविधिमा आधारित कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गरेको विश्व इतिहासमा यो नै पहिलो घटना हो।

प्रारम्भिक निष्कासन मूल्य प्रतिकित्ता ८३ डलर तोकिएको एन्थ्रोपिकको सेयरमा लगानीकर्ताको अत्यधिक आकर्षण देखिएको थियो। बिहीबार कारोबार सुरु हुनासाथ सेयर मूल्य उकालो लाग्दै १११.५३ डलरसम्म पुगेको थियो, जसले कम्पनीको बजार मूल्यलाई झन्डै २ ट्रिलियन डलरको नजिक पुर्‍याएको थियो। यद्यपि, दिनको अन्तिम समयमा केही गिरावट आउँदै सेयर मूल्य ९७.१७ डलरमा बन्द भयो, जुन सुरुवाती मूल्यभन्दा करिब १७ प्रतिशतले बढी हो।

एन्थ्रोपिकको सेयरमा उत्साह देखिए पनि बिहीबार समग्र प्रविधि क्षेत्रको बजार भने दबाबमा देखियो। प्रविधि कम्पनीहरूको बाहुल्यता रहेको नास्डाक कम्पोजिट परिसूचक करिब २.३ प्रतिशतले घट्यो। गुगलको माउ कम्पनी अल्फाबेटको सेयर २.९ प्रतिशतले र अमेजनको सेयर झन्डै ३.९ प्रतिशतले ओरालो लाग्यो।

पछिल्लो एक वर्षमा मात्र ठुला प्रविधि कम्पनीहरूले एआई पूर्वाधार निर्माणमा १ ट्रिलियन डलरभन्दा बढी खर्च गरिसकेका छन्। लगानीको यो तीव्र गतिले वित्तीय बजारमा ‘बबल’ (कृत्रिम मूल्यवृद्धि) सिर्जना भई पछि दुर्घटना निम्तिन सक्ने चिन्ता अर्थशास्त्रीहरूले व्यक्त गरेका छन्। युनिभर्सिटी अफ सालफोर्डका अर्थशास्त्री रिचर्ड ह्विटल भन्छन्, “सबैभन्दा ठुलो सम्झौता भएकै दिन बबल फुट्दैन, भविष्यप्रतिको सकारात्मक अपेक्षामा शङ्का उत्पन्न भएपछि मात्र यसको असर देखिन्छ।”

स्थापनाको मात्र पाँच वर्षको छोटो अवधिमा स्टार्टअपबाट आइपिओओसम्मको यात्रा तय गर्ने एन्थ्रोपिक इतिहासकै तीव्र गतिमा अघि बढ्ने कम्पनीमध्ये एक बनेको छ। क्विल्टर चेभियटका प्रविधि अनुसन्धान प्रमुख बेन ब्यारिङ्गरले सुरुवाती उत्साह सेलाएपछि एन्थ्रोपिकको सेयर मूल्यमा ठुलै उतारचढाव आउन सक्ने चेतावनी दिएका छन्। उनले यसै वर्षको सुरुमा स्पेसएक्सको सेयर पहिलो दिन १० प्रतिशतले बढेर २.२ ट्रिलियन डलर मूल्याङ्कनमा पुगे पनि एक महिनाभित्रै आइपिओ मूल्यभन्दा तल झरेको उदाहरण दिएका छन्।

यस्तै, स्याक्सो यूकेका लगानी रणनीतिकार निल विल्सनले सेयर बजारमा एन्थ्रोपिकसँग तुलना गर्न मिल्ने अर्को कुनै प्रतिस्पर्धी कम्पनी नभएकाले यसको वास्तविक मूल्याङ्कन १.७ ट्रिलियन डलरभन्दा बढी हो वा होइन भन्ने यकिन गर्न कठिन रहेको बताएका छन्।

आगामी दिनमा एन्थ्रोपिकको व्यावसायिक सफलतालाई एआई नियमनसम्बन्धी कानुनहरूले मुख्य रूपमा प्रभावित पार्ने देखिन्छ। सन् २०२७ सम्ममा अमेरिकी राजनीतिमा डेमोक्र्याटहरूको प्रभाव बढ्ने र उनीहरूले एआई सुरक्षामा कडाइ गर्ने सङ्केत दिएका छन्। यद्यपि, बिहीबार चीनमा आयोजित एपेक शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै रहेर एआईमा कडा नियमनको विरोध गर्दै त्यस्तो हुन नदिने अडान दोहोर्‍याएका छन्। सोही दिन अमेरिकी सांसदहरूको एक द्विदलीय समूहले भने एआई सुरक्षा र नवप्रवर्तनका लागि नयाँ समिति गठन गरेको छ।

रोचक पक्ष के छ भने, एन्थ्रोपिकका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) डारियो अमोदेई स्वयंले भविष्यमा एआई मानव जातिभन्दा शक्तिशाली भई मानव अस्तित्वमै खतरा निम्त्याउन सक्ने चेतावनी दिँदै आएका छन्। कम्पनीकी अध्यक्ष ड्यानिएला अमोदेईले पनि आफूहरूले पहिलो उत्पादन सार्वजनिक गर्नुअघि नै ‘एआई सुरक्षा टोली’ बनाएको बताउँदै प्रविधिमा वास्तविक जोखिम रहेको स्वीकार गरेकी छिन्। प्रविधिमा गम्भीर जोखिम रहेको बताउँदै आए पनि एन्थ्रोपिकले पुँजी बजारमा भने ऐतिहासिक छलाङ मारेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link