फकल्यान्ड तेल उत्खनन रोक्ने अर्जेन्टिनाको प्रयास अस्वीकृत

बेलायत अधीनस्थ फकल्यान्ड टापु नजिकको समुद्री क्षेत्रमा सञ्चालन हुन लागेको तेल अन्वेषण तथा उत्खनन परियोजना रोक्न अर्जेन्टिनाले गरेको कानुनी प्रयासलाई संयुक्त राष्ट्रसङ्घ समर्थित अन्तर्राष्ट्रिय न्यायाधिकरणले अस्वीकार गरेको छ।

जर्मनीको ह्याम्बर्गस्थित समुद्री कानुनसम्बन्धी अन्तर्राष्ट्रिय न्यायाधिकरण (इट्लोस) ले शनिबार ‘सी लायन’ नामक तेल परियोजना तत्काल स्थगित गर्न अर्जेन्टिनाले माग गरेको अन्तरिम आदेश खारेज गरिदिएको हो। न्यायाधिकरणका अध्यक्ष मौरिस कामगाले फकल्यान्ड टापुको सार्वभौमिकतासँग जोडिएको विवादमाथि फैसला गर्ने क्षेत्राधिकार यस सामुद्रिक अदालतको नभएको स्पष्ट पार्दै अर्जेन्टिनाको निवेदन अस्वीकृत गरिएको जानकारी दिए। न्यायाधिकरणको १८–३ को बहुमतले उक्त निर्णय सुनाएको हो।

अर्जेन्टिनाले फकल्यान्ड टापुको सार्वभौमिकताको विषय अझै विवादास्पद रहेको दाबी गर्दै विवादित समुद्री क्षेत्रमा हुने उत्खननले वातावरणीय क्षति पुर्‍याउने र यथास्थितिमा परिवर्तन ल्याउने तर्कसहित परियोजना रोक्न माग गरेको थियो। तर, बेलायतले भने समुद्री अदालतलाई यस विषयमा सुनुवाइ गर्ने क्षेत्राधिकार नरहेको र परियोजना रोकिँदा टापुका बासिन्दा तथा लगानीकर्ता कम्पनीहरूलाई गम्भीर आर्थिक क्षति पुग्ने जिकिर गरेको थियो। सुनुवाइका क्रममा बेलायतले सन् २०२७ को मार्च २१ अघि ड्रिलिङ (उत्खनन सुरु) नगर्ने र सन् २०२८ को मार्चअघि व्यावसायिक उत्पादन नथाल्ने प्रतिबद्धतासमेत न्यायाधिकरणसमक्ष अभिलेख गराएको छ।

फैसलापछि इङ्गल्यान्ड र वेल्सकी महान्यायाधिवक्ता एली रिभ्सले यस निर्णयलाई बेलायत सरकारका लागि ‘स्पष्ट र महत्त्वपूर्ण जित’ को संज्ञा दिएकी छन् । बेलायती विदेशमन्त्री एड मिलिब्यान्ड र महान्यायाधिवक्ता रिभ्सले संयुक्त विज्ञप्ति जारी गर्दै फकल्यान्डवासीको आत्मनिर्णयको अधिकारमाथि हस्तक्षेप गर्ने अर्जेन्टिनाको प्रयास विफल भएको बताएका छन्। उनीहरूले फकल्यान्ड टापुमाथि अर्जेन्टिनाले लगाउँदै आएको आर्थिक दबाब तत्काल अन्त्य गर्नसमेत आग्रह गरेका छन्।

उता, अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेइले न्यायाधिकरणको फैसलाप्रति असन्तुष्टि जनाउँदै यो निर्णय नै अन्तिम शब्द नभएको प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत ‘फकल्यान्ड टापु अर्जेन्टिनाकै हो’ भन्दै अन्तर्राष्ट्रिय कानुनको दायरामा रहेर आफ्नो अधिकारको रक्षा गरिरहने उद्घोष गरेका छन्। अर्जेन्टिनी सरकारले जारी गरेको विज्ञप्तिमा आफूहरूले अदालतसँग सार्वभौमिकताको फैसला नमागेको, बरु आफ्नो प्राकृतिक स्रोतको अवैध दोहनविरुद्ध संयुक्त राष्ट्रसङ्घको समुद्री कानुन लागू गर्न आग्रह गरेको उल्लेख छ। साथै, अर्जेन्टिनाले उक्त तेल परियोजनामा संलग्न पाँच व्यक्ति तथा निकायमाथि प्रतिबन्ध लगाउने प्रक्रिया अघि बढाएको चेतावनीसमेत दिएको छ।

फकल्यान्ड टापुको मुख्य सहर पोर्ट स्ट्यान्लीबाट करिब १३० माइल उत्तरमा अवस्थित ‘सी लायन’ तेलखानीमा अनुमानित १ अर्ब ७० करोड ब्यारेल कच्चा तेलको भण्डार रहेको मानिन्छ। इजरायली कम्पनी नाभिटास पेट्रोलियम (६५ प्रतिशत हिस्सेदारी) र बेलायती कम्पनी रकहपर एक्सप्लोरेसन (३५ प्रतिशत हिस्सेदारी) ले संयुक्त रूपमा उक्त परियोजना विकास गरिरहेका छन्। करिब ३ हजार ५०० जनसङ्ख्या रहेको फकल्यान्ड टापुका लागि यो परियोजनाबाट ठुलो राजस्व आम्दानी हुने अपेक्षा गरिएको छ। नाभिटास पेट्रोलियमले न्यायाधिकरणको निर्णयको स्वागत गर्दै परियोजनाको काम जिम्मेवारीपूर्वक अघि बढ्ने जनाएको छ।

अन्तर्राष्ट्रिय कानुनविद् तथा चाथम हाउसका प्राध्यापक मार्क वेलरले अर्जेन्टिनाको कानुनी चुनौती पहिलो चरणमै नराम्ररी विफल भएको टिप्पणी गरेका छन्। यो प्रारम्भिक आदेश मात्र भएकाले आगामी वर्ष गठन हुने छुट्टै मध्यस्थता न्यायाधिकरणले मूल विवादमाथि सुनुवाइ गर्न सक्ने भए पनि आजको फैसलाले अर्जेन्टिनाको दाबी कमजोर देखिएको उनको विश्लेषण छ।

सन् १९८२ मा अर्जेन्टिनी सेनाले फकल्यान्ड टापुमा आक्रमण गरेपछि बेलायत र अर्जेन्टिनाबिच ७४ दिन (१० हप्ता) लामो भीषण युद्ध भएको थियो। उक्त युद्धमा २५५ बेलायती सैनिक, तीन स्थानीय नागरिक र ६४९ अर्जेन्टिनी सैनिकको ज्यान गएको थियो। युद्धमा पराजित भए पनि अर्जेन्टिनाले उक्त टापु (जसलाई अर्जेन्टिनामा माल्भिनास भनिन्छ) माथि आफ्नो दाबी छाडेको छैन। यद्यपि, सन् २०१३ मा भएको जनमत सङ्ग्रहमा फकल्यान्डका ९९.८ प्रतिशत बासिन्दाले बेलायती भूभागकै रूपमा रहने पक्षमा मतदान गरेका थिए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link