गाउँगाउँमा पारिवारिक सम्बन्ध बिथोल्दै ‘मोबाइल र सामाजिक सञ्जाल’

नारायण खड्का

मोबाइल फोनको प्रविधि, त्यसमा जोडिएको इन्टरनेट र त्यससँग जोडिएको सामाजिक सञ्जालका फाइदा धेरै छन् तर तिनको सही प्रयोग गर्न नजान्दा अहिले   त्यसले गाउँगाउँमा पारिवारिक सम्बन्ध बिथोल्दै लगेको छ। डिजिटल लिटरेसीको अभावमा यसले हाम्रो समाजमा पारेको असरलाई यतिबेला कसैले पनि गम्भीरताका साथ लिएको देखिँदैँन।

अधिकांश नेपालीको हातहातमा अहिले स्मार्ट फोन (मोबाइल)  छ। स्मार्ट फोन बोक्ने अधिकांश इन्टरनेटसँग जोडिएका पनि छन्। इन्टरनेटका माध्यमबाट स्मार्ट फोन बाहकले प्रयोग गर्ने सामाजिक सञ्जाल ( फेसबुक, टिकटक, म्यासेन्जर, भाइबर आदि) ले फाइदा र बेफाइदा दुबै दिइएको पनि छ। मनोरञ्जन त छँदैछ, सूचना तथा संवाद आदानप्रदानमा पनि सहजता भएको छ। तर, स्मार्ट फोन र सामाजिक सञ्जालकै कारण पारिवारिक सम्बन्ध बिथोलिँदै पनि गएको छ।

उदाहरण नं. १

साउन महिनाको पहिलो साता दमौलीका एक दम्पती घरझगडाको समस्या लिएर जिल्ला प्रहरी कार्यालय तनहुँ पुगे। श्रीमानले सधैँ कुटपिट गर्ने भन्दै श्रीमतीले मान्छे झिकाई छानविन गरिपाउँ भन्दै प्रहरीमा निवेदन दर्ता गरिन्। श्रीमतीको आरोप छ, ‘श्रीमानले जाँडरक्सी खाएर बिनाकारण कुटपिट गर्छन्।’

२०७८ माघ महिनामा भागी विवाह गरेका उनीहरूको पहिलो महिना नबित्दै झगडा हुन सुरु भयो। ‘पहिलाको श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको रहेछ, मेरो पनि पहिलो घरबार बिग्रेकाले हप्तादस दिन बोलेकै भरमा विवाह गरेका थियौं’, श्रीमतीले भनिन्, ‘तर, विवाह भएको एक महिना बितेपछि अरुको कुरा सुनेर मलाई बिनाकारण कुटपिट गर्न थाल्नुभयो र अहिले प्रहरीकोमा न्याय माग्न आएकी छु।’

श्रीमान सवारी चालक हुन्। भाँडाको जिप चलाउने क्रममा भेटघाट भएपछि अन्तरजातीय भएपनि दुवैको सहमतिमा विवाह गरेका रहेछन्। श्रीमानले भने, ‘सबै राम्रै चलिरहेको थियो, उनले मोबाइल लिन थालेपछि हाम्रो सम्बन्धमा खटपट आएको हो। हाम्रो सम्बन्धमा स्मार्टफोन बाधक बनेको छ।’

श्रीमतीले आफुखुशी मोबाइल खरिद गरी लिएको तर मोबाइल खरिद गरेको विषयमा आफूलाई केहीपनि नभनेको श्रीमानको गुनासो थियो। ‘हप्ता दिनदेखि मोबाइल किनेकी रहिछ, म घरमा हुँदा मोबाइल लुकाउने र घरबाट निस्केपछि आफन्त र अरुसँग बोल्दी रहिछ’, उनले भने, ‘मलाई उसले श्रीमान् सोच्थि भने श्रीमान श्रीमतीमा यति कुरा त साटासाट हुन्थ्यो होला नि ? मलाई उसको मोबाइलबाट एक पटकपनि फोन गरेकी छैन र मोबाइल किनेछु पनि भनिन।’

अहिले उनीहरूको झगडाको विषय स्मार्ट फोन बनेको छ। यसै कारण दुईजना बिच सम्बन्ध अन्त्य गर्ने भन्दै श्रीमती प्रहरी कार्यालयमा आइपुगेकी थिइन्। स्मार्ट फोनको गलत प्रयोगबाट कैयौँको घरबार बिग्रिएका छन्। कैयौँको सम्बन्धविच्छेद पनि भएको छ। स्मार्ट फोन र समाजिक सञ्जालको गलत प्रयोगका कारण अहिले नेपाली समाजलाई खलबल्याउँदै लगेको छ।

उदाहरण नं. २

तनहुँको व्यास नगरपालिकाका गीता र हरि (नाम परिवर्तन) को घरमा पनि दैनिक जसो झगडा हुन थाल्यो। श्रीमान वैदेशिक रोजगारीमा गएका थिए भने घरमा एक/एक जना छोराछोरी र आमा बस्थे। श्रीमान पनि विदेश र छोराछोरी पनि पढाइमै व्यस्त हुन थालेपछि गिताको सामाजिक सञ्जालमा परपुरुषसँग चिनजान र बोलचालले गति लिन थाल्यो।

हरि विदेशबाट फर्किएपछि बिनाकारण गीता र हरि बीच झैझगडा हुन थाल्यो। झगडाको मुख्य कारण थियो मोबाइल र समाजिक सञ्जाल। श्रीमान घरमा आएपछि गीता लुकिछिपी परपुरुषसँग मोबाइलमा कुराकानी गर्ने, समाजिक सञ्जाल तथा फेसबुक म्यासेन्जरमा कुराकानी गर्ने जस्ता विषयमै उनीहरूको झगडाको माध्यम बनेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्का बताउनुहुन्छ।

छोराछोरीको भविष्य र उनिहरूलाई कुनै असर नपार्ने भनी प्रहरीको रोहबरमा घरपरिवारका सदस्य बीच आगामी दिनमा कुनै विवाद नगर्ने सहमति बीच अहिले हरि र गीता मिलापत्र गरी बसेका छन्।

सानैमा विवाह, उमेर पुगेपछि सम्बन्धविच्छेद

तनहुँको व्यास नगरपालिका वडा नं. १४ की सेती (परिवर्तिन नाम) ले १५ वर्षको उमेरमा २०७० सालमा प्रेमविवाह गरिन्। सोचेअनुसार वैवाहिक जीवन चल्न नसकेपछि उनले यही साउनको पहिलो साता जिल्ला अदालत तनहुँमा सम्बन्धविच्छेद मुद्दा दर्ता गराएकी छन्।

पतिले मदिरा सेवन गरी कुटपिट गर्ने, मानसिक तथा शारीरिक यातना दिएका कारण उनले अंशसहित सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी हुन्। ‘सानैमा नजानेर विवाह गरियो, मैले धेरै दुःख पाएँ, अब म उसँग बस्न सक्ने अवस्थामा छैन’ उनले भनिन्, ‘श्रीमानले दिएको पीडा सहन नसकेपछि सम्बन्धविच्छेद गर्ने प्रक्रियामा छु।’

व्यास नगरपालिका वडा नं. १ की मादी (परिवर्तिन नाम) का दुई वटा छोराछोरी छन्। १५ वर्षको उमेरमै विवाह गरेकी उनले पनि जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी छिन्। उनले भनिन्, ‘२८ वर्षकै उमेरमा श्रीमानसँग छुट्टिएर बस्ने दिन आउला भन्ने सोचेकै थिइन।’

भिमाद नगरपालिकाकी २४ वर्षकी महिलाले २०७९ असारमा सम्बन्धविच्छेदको लागि जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता गरेकी छन्। २० वर्षको उमेरमा वैवाहिक जीवन सुरुआत गरेकी उनले श्रीमानले दिनहुँ जसो शारीरिक यातना दिने र कुटपिट गरेपछि माइतीमा बस्दै आएकी छन्। ‘दिनरात झगडा हुन्छ, अब म तँलाई पाल्न सक्दिनँ, तँ आफ्नो बाटो लाग, म मेरो बाटो लाग्छु भन्नुहुन्छ’, उनले भनिन्, ‘श्रीमानको व्यवहार र बचन खप्न नसकेपछि सम्बन्धविच्छेदको निर्णयमा पुगेँ।’

यी त स्मार्ट फोन र समाजिक सञ्जालको गलत प्रयोगले निम्त्याएको प्रतिनिधिमूलक घटना मात्र हुन्। तनहुँमा उमेर नपुग्दै विवाह गर्ने र बुझ्ने भएपछि समस्यामा परेर सम्बन्धविच्छेद गर्ने घटना पनि बढेका छन्। जिल्ला अदालत तनहुँका अनुसार जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्। स्रेस्तेदार मिनबहादुर कुँवरका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा सम्बन्धविच्छेदको संख्या ७०७ रहेको छ। गएको साउनमा ५७, भदौमा ६१, असोजमा ४८, कात्तिकमा ६८, मंसिरमा ७३, पुसमा ७४, माघमा ६४, फागुनमा ७९, चैतमा ६७, वैशाखमा ५०, जेठमा ५७ र असारमा ४९ मुद्दा दर्ता भएका थिए।

आर्थिक वर्ष २०७७/०७८ मा ६७८ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए। जसमा ४६३ फछर्यौट भएका छन् भने २१५ को फैसला हुन बाँकी छ। गएका आर्थिक वर्षमा जिल्ला अदालतमा कुल १ हजार ५१ मुद्दा दर्ता भए जसमा ७४७ मात्रै सम्बन्धविच्छेदका मुद्दा रहेका छन्। स्रेस्तेदार कुँवर भन्नुहुन्छ, ‘जिल्ला अदालतमा सम्बन्धविच्छेद गर्ने भनेर दैनिकजसो नै आउने गरेका छन्।’

अदालतको विवरण अनुसार सम्बन्धविच्छेदका मद्दामा अधिकांश २० देखि ३० वर्ष उमेर समुहका छन्। ‘विवाह गर्ने उमेरमा सम्बन्धविच्छेद गर्न आउँछन्, हामीले मिलाउन खोज्छौँ, तर उनीहरु छुट्टिने भन्छन्’, स्रेस्तेदार कुँवर भन्नुहुन्छ, ‘सम्बन्धविच्छेदपछि आमाबुबाले त स्वतन्त्र जीवन बिताउलान् तर त्यसको प्रत्यक्ष असर भने बालबालिकालाई पर्ने गरेको छ।’

आमा बुबाको सम्बन्धविच्छेदले बालबालिकामा मनोवैज्ञानिक असर पारेको अधिवक्ता सरिता भण्डारी बताउनुहुन्छ। सरिता भन्नुहुन्छ, ‘छोराछोरी जन्मेपछि सम्बन्धविच्छेद गर्ने गरेका छन्। बच्चाहरू सानो हुँदा अभिभावकहरू कुनै कारणले सम्बन्धविच्छेद गर्छन्, त्यसपछि बच्चाको जिम्मेवारी आमा वा बुवा एक्लैले राम्रोसँग पूरा गर्न सक्दैनन्।’

सम्बन्धविच्छेदका घटना बालविवाह, विपन्नता, मोबाइल फोन तथा सामाजिक सञ्जालको दुरुपयोग, वैदेशिक रोजगारी, अशिक्षा जस्ता कारणले हुने गरेका छन्’, अधिवक्ता सरिता भण्डारी भन्नुहुन्छ, ‘कुटपिट, खान लगाउन नदिनु, बच्चा जन्माउने विषयमा कुरा नमिल्नु, सम्पत्ति प्राप्तिमा लोभ हुनु लगायतका कारणले पहिले सम्बन्धविच्छेद हुन्थे भने पछिल्लो समय मोबाइल र सामाजिक सञ्जालको दुरुपयोग तथा वैदेशिक रोजगारीका कारण पनि सम्बन्धविच्छेदका मुद्दा बढ्न थालेका छन्।’

स्मार्ट फोन, सामाजिक सञ्जालको दुरुपयोग, घरायसी झैझगडाको मुख्य समस्या लिएर महिला पुरुष आउने गरेको प्रहरी नायब उपरीक्षक युवराज खड्का बताउनुहुन्छ। कार्यालयमा दर्ता भएका निवेदनमाथि दुवै पक्ष बोलाएर छलफल गर्दा मादक पदार्थ पिएर कुटपिट, समाजिक सञ्जाल र मोबाइलको दुरुपयोग, श्रीमान वैदेशिक रोजगारीमा र श्रीमती परपुरुषसँग सम्बन्ध राखेर श्रीमानको पैसा सकेको जस्ता कारणहरू देखिएको उहाँले वताउनुभयो।

प्रहरी कार्यालयमा घरेलु हिंसासम्बन्धी निवेदन बढ्दो देखिएपनि समाजमा भने हिंसा कम भएको उहाँको बुझाइ छ। ‘हिंसा पहिले पनि हुन्थे तर समाज, घरपरिवारका डरले बाहिर आउँदैन्थ्यो’, प्रहरी नायब उपरीक्षक युवराज खड्काले भन्नुभयो, ‘अहिलेका मानिसहरू शिक्षित छन्, सचेत छन्, हिंसा सहेर बस्नुहुन्न भन्छन् र प्रहरीमाथि विश्वासका कारण पनि हरेक प्रकारका घटना लिएर प्रहरीमा न्याय खोज्न आउँछन्।’

श्रीमान श्रीमतीको झैझगडाको प्रत्यक्ष असर छोराछोरी र घरपरिवारमा देखिने गर्छ’, प्रहरी नायब उपरीक्षक खड्का भन्नुहुन्छ, ‘अहिले सबै शिक्षित छन्, सामाजिक सञ्जाल तथा स्मार्ट फोनमा आउने समाचार हेरेर सबै सचेत पनि भएका छन्। अब सबै सभ्य भए घरेलु हिंसा न्यूनिकरण हुन सक्थ्यो। सबैले प्रविधि र सामाजिक सञ्जालको सही प्रयोग भए पछिल्लो समय समाजमा घटेका घटना पनि न्यूनिकरण हुन्छन्।’

जिल्ला प्रहरी कार्यालय तनहुँको आर्थिक वर्ष २०७८/०७९ को तथ्यांकमा घरेलु हिंसा सम्बन्धी २४५ वटा निवेदन दर्ता भए। जसमध्ये शारीरिक यातना (कुटपिट) सम्बन्धी ८८, मानसिक यातना (वास्ता नगरेको तथा गालीगलौज) सम्बन्धी ६०, आर्थिक यातना (खाना लाउन नदिएको) सम्बन्धी ३५, श्रीमान/पुरुष पीडित भएको २४ र स्थानीय झैझगडा ३८ गरी २४५ वटा घरेलु हिंसासम्बन्धी निवेदन तथा अन्य ठाडो उजुरी दर्ता भएका छन्। जसमध्ये १३७ वटा मिलापत्र, ५३ वटा अदालतीय प्रक्रियामा र ५५ वटा बाँकी रहेको कार्यालयले जनाएको छ।

यस्तै, २०७७/०७८ मा २११ वटा घरेलु हिंसाका निवेदन परेकोमा १६७ वटा मिलापत्र ३८ वटा अदालतीय प्रक्रियामा गएको र ६ वटा काम गर्न बाँकी रहेका छन्। २०७६/०७७ मा २११ वटा निवेदन दर्ता भएकामा १७३ वटा मिलापत्र र ३८ वटा अदालतीय प्रक्रियामा गएका छन्। वार्षिक घरेलु हिंसासम्बन्धी निवेदनको संख्या बढ्दै गएका छन्।

आवरणः  सांकेतिक तस्बिर  सौजन्य- बब अल ग्रिने/माशाबल 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नारायण खड्का/तनहुँ का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link