होमस्टेले ल्याएको परिवर्तन: दलित समुदायको भान्सामा गैरदलित

नारायण खड्का

ग्रामीण पर्यटन प्रवर्द्धनमा होमस्टे (घरबास)ले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। पर्यटन प्रवर्द्धन गरी गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ पछिल्ला केही वर्ष यता ग्रामीण क्षेत्रमा होमस्टे सञ्चालन गर्ने क्रम पनि बढेको छ।
तनहुँको व्यास नगरपालिकाको वडा नं. १३ स्थित आँपस्वाराको सामुदायिक होमस्टेले भने अलि फरक भूमिका निर्वाह गर्दै आएको छ। यहाँका १८ घर परिवार दलित समुदायले समाजमा व्याप्त छुवाछुत अन्त्यका लागि होमस्टे सञ्चालन गरेका छन्। २०७२ सालदेखि सञ्चालनमा आएको यो होमस्टे मुलुककै पहिलो दलित होमस्टे मात्रै होइन समाजमा नमुना समेत बन्दै गएको छ।
रोजगारीका लागि भारत पसेका स्थानीय रेशम बिक गाउँ फर्किएपछि गाउँमै होमस्टे चलाउने सोच बनाए। गुरूङ, मगर, क्षेत्री, दलित लगायतका जातजातिको बसोबास रहे तापनि यस गाउँमा दलित समुदायको बाहुल्यता छ। समाजमा व्याप्त छुवाछुत अन्त्य र गाउँमै रोजगारीको अवसर सिर्जना गर्नका लागि दलित समुदायहरू एक जुट भए। एकजुट भएका दलितहरूले २०७२ सालमा ‘आँपस्वारा दलित समुदायिक होमस्टे’ सञ्चालन गर्ने निर्णय लिइएको अभियन्ता बिकले बताए।

‘२०६३ सालमा ‘छुवाछुतमुक्त राष्ट्र’ घोषणा भए पनि सामाजमा अझै अदृश्य तरिकाले छुवाछुत जस्तो कुकार्य कायमै थियो’, अभियन्ता विकले भने– ‘यस्तो कुकार्यलाई हटाउन नै होमस्टे सञ्चालन गरिएको हो।’

‘पहिले त दलितहरूले चलाएको होमस्टेमा पाहुना आउने हुन कि होइनन्, पाहुना आए उनीहरूलाई स्वागत् के कसरी गर्ने, के खाना दिने भन्ने जस्ता धेरै कुरामा अलमल भयो’, होमस्टेका अध्यक्ष समेत रहेका बिकले भने– ‘पछि अतिथि सत्कार, खाना बनाउने लगायतका तालिम लिएपछि अहिले सहज भएको छ।’

तनहुँको व्यास नगरपालिका–१३ स्थित आँपस्वारा दलित सामुदायिक होमस्टेमा आएका पाहुनाहरूको स्वागत गर्दै होमस्टे सञ्चालकहरू।

‘गाउँमा होमस्टे सञ्चालन गरेसँगै विदेशी तथा स्वादेशी पाहुनाको आगमन बढेको छ’, होमस्टेका सचिव मनोज विश्वकर्माले भने– ‘हाम्रो समुदायको श्रम चल्थ्यो, हामीले छोएका खानेकुरा गैरदलितले खाँदैन्थे तर होमस्टे सञ्चालनमा ल्याएपछि हामी सबै एकै घरका परिवार जस्तै भएर एउटै भान्छामा बसेर खाने गर्छौ।’

सचिव विश्वकर्माका अनुसार होमस्टेमा धेरैजसो अमेरिका, फ्रान्स, जर्मन, स्वीजरल्याण्ड, जापान, इन्डोनेसिया, अस्ट्रेलिया र फिनल्यान्ड लगायत १८ मुलुकका पर्यटकले आँपस्वारा दलित होमस्टेको भ्रमण गरिसकेका छन्। पछिल्लो समय आन्तरिक पर्यटकहरू पनि आउन थालेका छन्।

‘हालसम्म करिब एक हजारको हाराहारीमा विदेशी र दुई सय बढी नेपाली पर्यटक हाम्रो होमस्टेमा आइसकेका छन्’, उनले भने– ‘दलित गैरदलित सबै होमस्टेमा आएर एकै परिवार जसरी बस्नुहुन्छ। हामीले पकाएर दिएको सबै जातिले खानुहुन्छ। दलित भनेर छि: छि: दुरदुर गर्ने संस्कारभन्दा माथि आइसकेका छौं। हाम्रो समाज विस्तारै परिवर्तन हुँदैछ।’

‘पहिले केही हुन्न, खर्चमात्र हो, होमस्टे सञ्चालन गर्नुभन्दा कृषि कर्म गरे राम्रो भनेर अनेक कुरा गर्ने छिमेकीहरू अहिले होमस्टेका कारण गाउँमा आएको परिवर्तनले छक्क छन्’, सचिव विश्वकर्माले भने– ‘होमस्टेका कारण गाउँमा पर्यटकहरूको चहलपहल पनि बढेको छ। पछिल्लो समय भने कोरोना संक्रमणका कारण पर्यटकको आगमन घटेको छ।’

गाउँमा होमस्टे सञ्चालन गरेसँगै स्थानीयले गाउँघर सफा सुग्घर राख्ने, बारीमा साग–तरकारी लगाउने, आँगनमा फलफूल रोप्न पनि थालेका छन्। होमस्टेमा आउने पाहुनालाई गाउँमै उत्पादन हुने अर्गानिक खाना खुवाउने गरेको होमस्टे सञ्चालक देवी सुनारले बताइन्।

‘गाउँमा पर्यटक आउन थालेदेखि गाउँको उत्पादन गाउँमै खपत भएको छ’, उनले भनिन्– ‘हरिया सागसब्जीदेखि मासुसम्म बजारबाट ल्याउन परेको छैन। आफ्नो घरमा छैन भने छिमेकबाट किनेर ल्याउने गरेका छौं। होमस्टेले सबै जातजातिप्रति हेर्ने दृष्टिकोण समान बनाउनुका साथै गाउँको उत्पादन गाउँमै खपत गर्न सहयोग गरेको छ।’

यस्तै, होमस्टे सञ्चालन ल्याएसँगै गाउँमा पर्यटकको आगमन र आम्दानी मात्रै नभई महिलाहरूमा नेतृत्व विकास पनि भएको होमस्टे सञ्चालक मधुमाया बिकले बताइन्। ‘पहिले हामी दुईचार जना मान्छेका अगाडि उभिएर बोल्न पनि डराउथ्यौं’, उनले भनिन्– ‘होमस्टे सञ्चालन गरेसँगै विभिन्न तालिमहरू लियौं, धेरैजसो समय पहुँनाहरूसँगै बित्ने हुँदा अहिले त गाउँमा जोकोही आए पनि निडर भएर बोल्न र गाउँको बारेमा भन्न सक्ने भएका छौं।’

पाहुना नआएको समयमा खेतबारीमा व्यस्त हुने मधुमाया होमस्टेमा पाहुना आएको समयमा पाहुनाको सत्कारमा बिताउने बताउँछिन्। आँपस्वारामा १८ वटा घरमा होमस्टे चलाइएको छ। एक पटकमा करिब ५० जना पाहुना राख्न सक्ने होमस्टेको क्षमता छ।

प्रकृति र ग्रामीण वातावरणसँग रमाउँदै दलित समुदायको संस्कृति, रहनसहन अध्ययन तथा अवलोकनका लागि आँपस्वारा आकर्षक गन्तव्य हो। साग, गुन्द्रुक, सिस्नो, ढिँडो, भुटेको मकै, भटमास, निउरो, कोदोको रोटी लगायतका स्थानीय उत्पादनको स्वाद चाँख्दै यस होमस्टेबाट मनास्लु, अन्नपूर्ण हिमशृङ्खलाको साथै सूर्योदय र सूर्यास्तको सुन्दर दृश्य अवलोकन गर्न पाइन्छ।

कसरी पुग्ने

काठमाडौं–दमौली १५३ किमि, बसमा ५ घण्टा। अथवा काठमाडौं–पोखरा २५ मिनेट हवाई यात्रा। पोखरा–दमौली ४७ किमि गाडीमा र, दमौली–आँपस्वारा ६ किमि, जिपमा २५ मिनेट। दमौलीबाट डेढ घण्टा पदयात्रामा पनि आँपस्वारा पुग्न सकिन्छ। दमौलीबाट दिउँसो १, २, ३ र ४ बजे सुखौराका लागि बस छुट्छन्। ती बसमा चढेर आँपस्वारामा झर्न सकिन्छ। आँपस्वाराबाट भने बिहान ८, ९, १० र ११ बजे दमौलीका लागि बस छुट्छन्।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नारायण खड्का/तनहुँ का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap