छाला, कपाल, नङ, ओठ आदिलाई कृत्रिम तरिकाले सुन्दर देखाउनु वा सिँगार्नुभन्दा प्राकृतिक रूपमै स्वस्थ बन्नु हरेक दृष्टिले उत्तम हो। आयुर्वेदमा आहार, निद्रा र ब्रह्मचर्यलाई स्वास्थ्यको त्रि–स्तम्भ भनिन्छ। यी तीन चिजको सन्तुलित एवं गतिशील अभ्यासबाट आरोग्यसँगै दिगो सुन्दरता पनि प्राप्त गर्न सकिन्छ भन्ने मान्यता छ। अस्वस्थ मान्छे सुन्दर भएर पनि दुखी हुन्छ। स्वस्थ मान्छेलाई बाहिरी सुन्दरता नभए पनि खुशी भएर बाँच्न सक्छ। स्वास्थ्य प्राथमिक विषय हो भने सुन्दरता सहायक।
आहार
भोजन जीवनको लागि हुन्छ नकि जीवन भोजनका लागि। सामान्यत भोजनले ३ थरीको कार्य गर्दछ: पहिलो शारीरिक कार्य (शरीर निर्माण, ऊर्जा प्रदान, सुरक्षा, मल निष्कासन आदि), दोस्रो मनोवैज्ञानिक कार्य (तृप्तिदायक, भावनादायक) र तेस्रो उपचारदायक कार्य। भनिन्छ ‘यु आर ह्वाट यु इट’। यसर्थ स्वस्थ जीवनका लागि प्राकृतिक र सन्तुलित आहार अपरिहार्य हुन्छ। आज संसारमा खाना नपाएर रोगी हुने र मर्नेको संख्या भन्दा खाना खान नजानेर रोगी भई मर्नेको संख्या अधिक छ। निश्चित मात्रा, गुणस्तर, समय एवं संस्कारले सही प्रकारको सन्तुलित खानपिन गरेमा जीवनमा दीगो स्वास्थ्य अवतरित हुन्छ। दीर्घायु प्राप्त हुन्छ। जीवनमा सर्वांगीण सौन्दर्य थपिन्छ।
भोजनको प्रयोगद्वारा स्वस्थ बन्न राम्रो (पौष्टिक वा सन्तुलित) हुनु जति जरुरी हुन्छ, त्यस भन्दा बढी महत्वपूर्ण भोजन पकाउने, भोजन गर्ने, भोजन लिने तरिका र समय हुन्छ।
पेट भरिएको खबर पेटबाट मस्तिष्कसम्म लेप्टिन र घार्लिन हार्मोनले पुर्याउने गर्छ। जसको लागि २० देखि ४० मिनेटसम्म जति लाग्ने अनुसन्धाहरूले देखाएको छ। नचपाइ हतार गरेर खाँदा लगभग १५ मिनेटमा खाने काम सकिन्छ। यसरी आवश्यकता भन्दा बढी खाना पेटमा हुलिन्छ। फलत: मोटोपनको समस्या आउँछ। स्वास्थ्य र सुन्दरता बिग्रिन्छ।
खानाको स्वाद लिन सक्ने क्षमता जिभ्रोबाहेक पाचन नलीको अन्य कुनै अंगमा हुँदैन। जिभ्रोमा ६ प्रकारका (गुलियो, अमिलो, नुनिलो, पिरो, तितो र टर्रो) स्वाद थाहा पाउने विशेष कोषहरू हुन्छन्। यी स्वाद पारखी कोषहरू भोक र सन्तुष्टिका कारक हुन्छन्। खानाको स्वादमा रमाउने हो भने जति सक्दो बढी समय (३२ पटक सम्म) खानालाई दाँत र जिभ्रोका बीचमा राखिनु पर्छ। जिभ्रो मुनिबाट निस्कने लाइपेज इन्जाइमले बोसोमाथि प्रारम्भिक भौतिक क्रिया गर्दछ।
सबै काम छोडेर, शान्त मन र एकान्त स्थानमा भोजन गर्नुपर्छ। यसरी खाना र इन्द्रियहरूसँग प्रत्यक्ष सम्बन्ध स्थापित हुन्छ। भोजनप्रति आकर्षण, श्रद्धा, प्रेम र उत्साह जाग्छ। खानाप्रतिको आकर्षण र वासनाले एच्सीएल्, कोलेसिस्टोकाइनिन्, सोम्याटोस्टाटिन र न्यूरोटेन्सिन आदि रसहरू ५० प्रतिशतले बढ्ने गर्दछन्। मन खाने प्रक्रियामा केन्द्रित बन्छ। यसरी थोरै खाए पनि पेट भर्छ, मन सन्तुष्ट बन्छ। शरीरमा पोषक तत्त्वहरूको अनावश्यक रूपमा संग्रह हुन पाउँदैन। शरीरको बनोट सुन्दर देखिन्छ।
पर्याप्त निद्राले रोगको प्रतिरोध गर्ने क्षमतामा पनि प्रभाव पार्दछ। पर्याप्त सुत्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि मात्रै होइन, रचनात्मकता, सिर्जनशीलताका साथै सुन्दरताका लागि पनि महत्वपूर्ण छ।
खाइएको सन्तुलित खानाबाट शरीरका लागि आवश्यक पोषक तत्वहरू सम्यक् रूपमा प्राप्त गर्नका लागि चरकसंहिताको विमान स्थान अध्याय एकमा ८ विशेष आयतनहरूको उल्लेख गरिएको छ। खाद्य पदार्थको प्रकार, पकाउने विधि, खाद्य पदार्थहरूको मिश्रण, खानाको मात्रा, खाना खाने समय, खाना खाने स्थान, खाना खाँदाको नियम र खाद्य पदार्थ खाने व्यक्तिगत बानी त्यसअन्तर्गत पर्दछ।
सुन्दर शरीरको लागि नास्तामा फलफूल, दिउँसो साँझको खानामा अन्नको मात्राको दोब्बर हरियो सागसब्जी खानुपर्छ। खाना खानु ४५ मिनेट पहिले र खाएको ४५ मिनेट पछिसम्म पानी पिउनु हुँदैन। खाना खाँदा पेटको २ भाग खानाले, १ भाग पानीले भर्नुपर्छ र अर्को १ भाग हावाको लागि खाली राख्नुपर्छ। राती धेरै अबेर खाने बानी पटकै राम्रो होइन।
निन्द्रा
रोगमुक्त शरीर र एकाग्र एवं शान्त मनको जग हो– पर्याप्त निन्द्रा। निद्रा जीवन ऊर्जाको अपरिहार्य साधन हो। स्वस्थ जीवनको आधार हो। ग्रीष्म ऋतुबाहेक सबै ऋतुहरूमा राती ६ देखि ८ घण्टा निन्द्रा आवश्यक हुन्छ। उचित निद्रा प्राप्त गर्नुले शारीरिक एवं मानसिक थकान दूर हुन्छ। सम्यक पाचन हुन्छ। शरीरमा नयाँ ऊर्जाको सञ्चार हुन्छ। निद्रा शरीरको सम्यक संगठन एवं विकासको लागि आवश्यक हुन्छ।
मानव स्वास्थ्य र गुणस्तरीय जीवनलाई प्रत्यक्ष असर पार्ने अनिद्रा, अहिले विश्वभरि महामारीको रूपमा बढिरहेको छ। वल्र्ड स्लिप सोसाइटीका अनुसार विश्वका करिब ३० देखि ४५ प्रतिशत जनसंख्या अनिद्राजनित समस्याबाट प्रभावित छन्।
निद्रामा जाँदा व्यक्तिको मनमा विचारको संख्या र गति पनि घट्छ, फलत: ऊर्जाको बचत हुन थाल्छ। निद्रामा प्रवेश गर्नु अगाडि व्यक्तिका इन्द्रियहरू संकुचित (आँखा बन्द, जिब्रो शान्त, आदि) हुँदै मन क्रमश: विभिन्न अवस्थाहरूबाट गुज्रन्छ। जस्तै आँखा खुला हुँदा बिटा अवस्था र बन्द हुँदा अल्फा अवस्था मानिन्छ। त्यस्तै शरीर र मनका अन्य विभिन्न अवयवहरूको क्रियाशीलता घटेसँगै फ्रिक्वेन्सी घटबढ (अवस्था परिवर्तन) हुन्छ। यस अनुसार प्रतिसेकेन्ड १४ देखि ३० हर्ज फ्रिक्वेन्सी भएको विचारयुक्त स्थितिलाई विटा अवस्था, ८ देखि १३ हर्ज फ्रिक्वेन्सी भएको विचारयुक्त स्थितिलाई अल्फा अवस्था, ४ देखि ७ हर्ज फ्रिक्वेन्सी भएको विचारयुक्त स्थितिलाई थिटा अवस्था र ३.५ भन्दा कम हर्ज फ्रिक्वेन्सी भएको विचारयुक्त स्थितिलाई डेल्टा अवस्था भनिन्छ। यसरी जति कम फ्रिक्वेन्सी भएको अवस्था त्यति नै विचारको गति र संख्या कम हुन्छ। फलत: यसबाट पनि ऊर्जाको खपत रोकिन्छ र बचत हुन्छ।
नीलो प्रकाश उत्पन्न गर्ने मोबाइल, टीभी वा कम्प्युटरको स्क्रिनले जसले निद्रा कारक हार्मोन ‘मेल्टोनिन’ को प्रभावलाई निस्तेज पारिदिन्छ। त्यसैले सुत्नुभन्दा एक घण्टा पहिल्यै नीलो प्रकाशका स्रोतहरू (मोवाई, टि.बि., कमप्युटर, आदि) बन्द हुनुपर्छ।
पर्याप्त निद्राले रोगको प्रतिरोध गर्ने क्षमतामा पनि प्रभाव पार्दछ। पर्याप्त सुत्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि मात्रै होइन, रचनात्मकता, सिर्जनशीलताका साथै सुन्दरताका लागि पनि महत्वपूर्ण छ।
ब्रह्मचर्य
आयुर्वेदको मान्यता अनुसार मानव शरीर सात प्रकारका धातुले बनेको हुन्छ। भोजनको पाचनपछि रस धातु बन्छ। रसबाट रक्त, रक्तबाट मांस, मांसबाट मेद, मेदबाट अस्थी, अस्थीबाट मज्जा र मज्जाबाट क्रमश: शुक्र धातु बन्छ। आहारबाट बन्ने शुक्र धातु आहारको शुद्ध र परिष्कृत अंश हो। एक थोपा शुक्र निर्माणमा पनि आहारको ठूलो परिमाण लगानी भएको हुन्छ।
हस्तमैथुन वा सहवासबाट एकातिर क्षणिक शान्ति र आनन्द मिलिरहेको हुन्छ भने अर्कातिर वीर्यको व्ययका कारण प्रतिरोधात्मक क्षमता नाश भइरहेको हुन्छ। त्यसैले भनिन्छ कि शुक्रको संरक्षणले समग्रतामा व्यक्तिको सिर्जना शक्ति र सौन्दर्यता बढ्छ।
शुक्रलाई अनावश्यक रूपमा खेर फाल्नु वा बेहोसीमा बगाउनु समग्रतामा शरीरको ऊर्जा, बल वा शक्ति नष्ट गर्नु हो। शुक्रबाट नै ओज (बल र रोगप्रतिरोधी क्षमतावर्धक र व्याधिक्षमत्व तत्व) को निर्माण हुन्छ। यसको तात्पर्य आहारको सार भागबाट ओज बन्छ। शरीरको व्याधिक्षमत्व तत्वको काम भनेको अपक्षय (विदरिङ खिइनु), व्यपजनन (डिजेनेरेसन) र प्रत्यय (इन्फेक्सन) बाट रक्षा गर्नु हो। जतिजति शुक्र नष्ट हुन्छ त्यति नै शरीरको ओज (इम्युनिटी) कमजोर हुन्छ। यसै कारण शास्त्रहरूमा ब्रह्मचर्य बस्नुलाई अत्यधिक महत्व दिइएको पाइन्छ।
अत: आयुर्वेदीय त्रिस्तम्भको जीवनमा साधना गरौं। जीवनलाई भित्रैबाट स्वस्थ बनाइ दिगो सौन्दर्य प्राप्त गरौं।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
डा. रामदेव पण्डित, (आयुर्वेद चिकित्सक) का अन्य पोस्टहरु:
- भात स्वस्थकर कि रोटी ?
- हानिकारक प्रशोधित खानाको लतमा नेपाली
- बढ्दो ‘केक कल्चर’को दुष्प्रभाव
- आयुर्वेदिक औषधिको ‘एक्सपाइरी डेट’ हुन्छ ?
- रक्सीसित मासुकै सितन किन ?
- डेंगु रोगः मेवा–पातको रस र विज्ञान
- दशैंको स्वास्थ्य सुत्र
- बढी मसला हाले मिठो हुन्छ भन्ने बुझाइ नै गलत
- डेंगु रोगको उपचारमा मेवा–पात रसको वैज्ञानिक प्रामाणिकता
- लसुन र प्याज रोक्नु पछाडिको विज्ञान